‘नेता’लाई कसले पाल्ने ?

बिहिबार, २७ बैशाख २०७५, ०९ : ११ मिलन पाण्डे  | @Milanleads

2941


सानोमा बिहानै ६ बजे घरबाट स्कूल निस्कँदा मेरो घर अगाडिको चोकमा पार्टीका स्थानीय नेताहरू बसेर पत्रिका पढ्दै मेरो नेताले यो गरे अनि तेरो नेताले त्यो गरे भनेर गफ गरिरहेको देख्थेँ । स्कूलबाट बेलुका गोधुली साँझमा घर फर्कंदा पनि त्यहीँ नेताहरू चिया तान्दै क्यारमबोर्डको गट्टी एउटा आँखाले ताक्दै गर्दा पनि आफ्नै नेताको दाह्री र जुँगाको गफ गर्दै बसेको देख्थेँ । बिहानदेखि बेलुकासम्म उहाँहरूको दिन त्यसरी नै बित्थ्यो । म ठूलो हुँदै गएँ, स्कूल सकेर कलेज पढ्ने भएँ, आफ्नो काम गर्न थालेँ तर आज पनि यो दृश्य बदलिएको छैन । आज फर्केर हेर्दा मलाई यो दृश्य भयानक लागेको छ ।

नेताको पेसा
मेरो टोलका मात्र होइन प्रतिनिधिसभामा जितेका नेताहरूको पनि कुनै पेसा रहेनछ ।हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष जितेका सांसदहरूमध्ये ६४ प्रतिशतले आफ्नो पेसा नै राजनीति रहेको विवरण बुझाएका छन् । अरू धेरैले पनि कृषि, व्यवसाय भनेर पारिवारिक पेसालाई उतारेका मात्र छन् । तर अधिकांशको आफ्नो पेसा छैन । नेपाली राजनीतिमा एउटा आधारभूत प्रश्न नै सधैँ अनुत्तरित रह्यो, ‘नेताको गुजारा कसरी चल्छ?’ 

विकसित देशहरूमा आफ्नै पेसा भएका सक्षम व्यक्तिहरू राजनीतिमा आउने गरेका छन् । अमेरिकाका राष्ट्रपति बराक ओबामा वकिल थिए । उनले आफ्नो गुजारा पढाएर अनि लेखकको रूपमा चलाउँदै थिए । डोनाल्ड ट्रम्प राजनीतिमा व्यापार–व्यवसायबाट आएका हुन् । वर्तमान चिनियाँ राष्ट्रपति सी जिन पिङ भवन निर्माणका विशेषज्ञ हुन् । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी इलेक्ट्रिकल इन्जिनियर हुन् । फ्रान्सका कान्छा राष्ट्रपति म्याक्रोन आर्थिक लगानीकर्ताका रूपमा बैंकको जागिरे थिए । बेलायतकी प्रधानमन्त्री टेरेसा मे पनि बैंकर अनि आर्थिक सल्लाहकारका रूपमा काम गर्दैगर्दा राजनीतिमा प्रवेश गरेकी थिइन् । अन्य धेरै देशहरूमा राजनीतिमा पनि आफ्नो पेसा भएकै सक्षम मानिस आउने गरेका छन् । 

नेपाली राजनीतिमा कुनै पूर्वप्रधानमन्त्री अनि मुख्य नेताले राजनीतिबाट अवकास लिएको उदाहरण छैन । राजनीतिमा सजिलै जोडिन सक्ने अनि राजनीतिबाट सजिलै छुटिन सक्ने संस्कार बनाउन नसकेसम्म राजनीति पेसा नै बनिरहनेछ । हाम्रा पूर्वराष्ट्रपति रामवरण यादवलाई आफ्नो कार्यकालपछि आफ्नो डाक्टरी पेसामै फर्किन केले रोकेको छ ?

पेसा कि सेवा ?
हाम्रो देशमा राजनीतिलाई पेसाका रूपमा लिइएको छ । झन् आज भोलि त राजनीति आफ्नो परिवार अनि आफन्तलाई नै जागिर खुवाउने सिँढी बन्दै छ । फलस्वरूप, हाम्रा नेताहरू केही सीमित कार्यकर्ताहरूको प्रभाव अनि केही ‘डोनर’हरूको दबाबमा काम गर्दै छन् । तर यदि सक्षम मानिस पदमा पुग्थे भने उनीहरू परिणाम निकाल्न तत्पर हुन्थे, कसैको दबाबमा काम गर्नुपर्दैनथ्यो ।

आफ्नो पेसाबाट आएका नेताहरू राजनीतिमा योगदान सकेपछि राजनीतिबाट सन्यास लिन्छन् वा अभिभावकका रूपमा बस्छन् । अमेरिकी राष्ट्रपति बराक ओबामा आफ्नो कार्यकालपछि प्रत्यक्ष राजनीतिमा लाग्नेभन्दा पनि विभिन्न सामाजिक अनि राजनैतिक अभियानहरूमा सक्रिय छन् । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिका पदमा रहँदासमेत आफ्नो साधारण घरमा बसे, महँगा गाडी र सुरक्षाकर्मीको घेरा कहिल्यै लिएनन् । उनले आफ्नो तलबको ९० प्रतिशत रकम विभिन्न सामाजिक संस्थालाई दिए । उनले साधारण जीवन नै बिताए । पूर्वविद्रोही मुहिकाले १३ वर्ष त जेल जीवन बिताए । तर उनले त्यागको हिसाब किताब कहिल्यै गरेनन् । त्यस्तै, भारतका ११ औँ राष्ट्रपति एपिजे अब्दुल कलामको निधन विश्वविद्यालयका विद्यार्थीलाई लेक्चर दिँदै गर्दा भयो ।

नेपाली राजनीतिमा कुनै पूर्वप्रधानमन्त्री अनि मुख्य नेताले राजनीतिबाट अवकास लिएको उदाहरण छैन । बरू बेलाबेलामा हाम्रा पूर्वमन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपतिले आफ्नो सुविधा नपुगेको गुनासो गर्छन् । थप गाडी अनि घर माग्छन् । नगर–गाउँपालिकाका पदाधिकारीहरू पहिलो बैठकमै आफ्ना लागि मोबाइल किन्छन् अनि मेयरहरू आफ्ना लागि गाडी थप्छन् । हामीले राजनीतिमा सेवाको भाव नै बसाउन सकेनौँ ।

गत प्रतिनिधिसभा निर्वाचनमा म काठमाडौँ—९ बाट उठ्दै गर्दा एकजना मतदाताको अपेक्षा सम्झन्छु, ‘मिलनजी, तपाईंले जित्नुभयो भने कहिलेकाहीँ मापसेमा परेँ भने छुटाइ दिनुपर्छ है ।’ हामीले नेतासँग गर्ने अपेक्षा यस्तै छ । देश वा समाजको होइन कि मेरो काम गरिदिने मानिस ‘नेता’ हो । अनि यही सामाजको त्यही अपेक्षा पूरा गरेर हाम्रा नेता जिन्दगीभर नेतृत्व गर्दै छन् । एकचोटि मन्त्री, प्रधानमन्त्री बनेपछि पनि पटकपटक मन्त्री, प्रधानमन्त्री, मेयर, अध्यक्ष बन्न मरिहत्ते गर्दैछन् । हाम्रोमा त्याग गर्ने अनि त्यही त्यागको हिसाब किताबले राजनीति गर्ने परम्परा नै बनेको छ ।

अहिले सहरको वरिपरिका ठाउँहरूमा हाल नेताहरू जग्गा प्लाटिङ, दलाली गरेर आफ्नो दिन काट्दै छन् । उनीहरू उद्यमशील अनि उत्पादनशील हुन सकेका छैनन् । अहिले गाउँमा अनि दुर्गममा चाहिँ कार्यकर्ता अनि स्थानीय नेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत काम गरेर राजनीति गर्दैछन् । केही नेताहरू चाहिँ वडा अनि स्थानीय तहमा आएको बजेटमा कमिसन अनि ठेक्कापट्टा गरेर राजनीति गर्दै छन् । पदमा पुगेपछि पनि सरकारी धन आफ्ना कार्यकर्तालाई जनताको नाममा बाँड्दै छन् । माथिका नेताले तलका नेतालाई हेर्ने अनि तलका नेताले माथिका नेतालाई पदमा पु¥याउने । तसर्थ, तलका अनि माथिका नेता दुवैले राजनीति छाड्न सक्दैनन् । फलस्वरूप, राजनीति सेवा नभई पेसा बन्दै छ ।

अब कस्तो नेता ?
पहिलो कुरा त, सामाजिक बुझाइमा व्यापक परिवर्तन आवश्यक छ । राजनीतिलाई पेसा होइन कि सेवाका रूपमा स्थापित गरिन जरुरी छ । जिन्दगीमा केही गर्न नसक्नेले राजनीति गर्ने होइन । अब राजनीतिमा कस्तो मानिस आउने भन्ने कुरामा व्यापक रूपमा पँधेरी, चौतारी अनि चियापसलहरूमै छलफल हुन जरुरी छ । केही पेसा नै नभएको मानिस राजनीतिमा आएर पनि उसले योगदान गर्न सक्दैन । त्यागको भरमा मात्र गरिने राजनीतिको अन्त्य हुन जरुरी छ ।

दोस्रो, पार्टीगत अनि नीतिगत सुधार आवश्यक छ । अब पार्टीले सक्षम मानिसले स्थान पाउने व्यवस्था गर्न सक्नुपर्छ । यदि यसो गर्न सके नेताले आफूलाई सक्षम बनाउन लाग्ने थिए । राजनीतिमा मात्रै आश्रित हुनुपर्दैन थियो । अब उम्मेदवार चयन प्रक्रियामा पनि माथिल्लो नेताले छान्नेभन्दा पनि योग्यता अनि क्षमताको आधारमा चुनिने पद्धति अपनाउन जरुरी छ । साथै, अब पार्टीले नीति अनि कार्यक्रम नै बनाएर आफ्ना सदस्यलाई उद्यमशील अनि उत्पादनशील बनाउन नेतृत्व गर्न जरुरी छ । साथै, स्वार्थ नबाझिने गरी पार्टीले नै आफ्ना उद्यमशील सदस्यहरूलाई सहयोग गर्न ‘उद्यमशील सहायता कक्ष’ नै सञ्चालनमा ल्याएर उद्यमशीलतालाई पार्टीको अभिन्न अंग बनाउन जरुरी छ ।

तेस्रो, अब राजनीतिलाई योगदानका निम्ति ‘प्लेटफार्म’का रूपमा विकास गरिन जरुरी छ । नेताले आफ्नो कार्यकालपछि सत्तामै टाँसिइरहने होइन कि अध्ययन–अनुसन्धान गर्ने, नयाँ पुस्तालाई सिकाउने, पत्रपत्रिकामा लेख्ने, किताब लेख्ने, नेतृत्व विकास गराउने काम गरेर पनि समाजलाई ठूलो योगदान पु¥याउन सक्छन् । आफ्नो गुजारा चलाउन सक्छन् । राजनीतिमा सजिलै जोडिन सक्ने अनि राजनीतिबाट सजिलै छुटिन सक्ने संस्कार बनाउन नसकेसम्म राजनीति पेसा नै बनिरहनेछ । उदाहरणका लागि, हाम्रा पूर्वराष्ट्रपति रामवरण यादवलाई आफ्नो कार्यकालपछि आफ्नो डाक्टरी पेसामै फर्किन केले रोकेको छ ?

नेताका लागि अर्को महत्वपूर्ण पक्ष पारिवारिक साथ हो । परिवार नै त्यागेर गरिने राजनीति धेरै हदसम्म सफल हुँदैन । तसर्थ, परिवारका अन्य सदस्यहरूको सहयोगमा राजनीतिमा योगदान गर्न सकिन्छ । यसका लागि पारिवारिक सहमति चाहिन्छ । जस्तै, श्रीमान् राजनीतिमा आउने हो भने श्रीमतीले परिवार धान्न सक्नुपर्छ । अनि श्रीमती राजनीतिमा आउने हो भने श्रीमान्ले परिवारको जिम्मेवारी लिनुपर्छ ।

नेता नै समस्या
एउटा सत्य घटनासँगै आफ्नो कुरा सक्न चाहन्छु । १८ औँ शताब्दीमा युरोपमा एउटा रोगको महामारी फैलियो जसमा बच्चा जन्माएपछि आमाको ४८ घन्टाभित्र मृत्यु हुने गथ्र्याे । यो रोग डरलाग्दो तरिकाबाट फैलँदै थियो । त्यो जमानामा अहिलेको जस्तो प्रविधि हुने कुरै भएन । के गर्ने कसो गर्ने कसैलाई थाहा थिएन । डाक्टरहरू बिहान ‘पोस्टमार्टम’ गरेर रोग पत्ता लगाउन खोज्थे अनि दिउँसो बच्चा जन्माउन अनि राउन्डमा जान्थे । रोग फैलँदै गयो । केही वर्षपछि चिकित्सक ओलिभर वेन्डेल होल्म्सले भने, ‘साथीहरू हामीमै केही समस्या छ । यो रोगको कारण नै डाक्टरहरू हुन् ।’ उनले बिहान पोस्टमार्टम गर्ने डाक्टरहरूले दिउँसो बच्चा जन्माउन जाँदा हात नधोएकाले आमाहरूको मृत्यु भएको कुरा भने । तर कसैले उनको कुरा सुनेनन् । ३० वर्षपछि यो कुरा साबित भयो । उनीहरूले आफ्नो हात धुने अनि औजारलाई निर्मलीकरणा गर्दा यो रोग बिस्तारै हराउँदै गयो । 

कहिलेकाहीँ समस्या हामीमै हुन्छ अनि समस्याको कारक हामी आफैँ हुन्छौँ । हो, आजको राजनीतिको समस्या हाम्रा ‘पूर्णकालीन नेता’ हुन्, जसले जीवनभर राजनीति गरे अरू केही गरेनन् । तसर्थ, अब हामीले यो रोगबाट छुटकारा पाउने हो भने अब ‘नेतालाई कसले पाल्ने ?’ भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ । जबसम्म नेतालाई राजनीतिले पाल्छ, तबसम्म राजनीति सुसंस्कृत बन्न सक्दैन अनि देश समृद्ध बन्न सक्दैन ।
(केन्द्रिय सदस्य, विवेकशील साझा पार्टी )







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...