१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

धनगढी - कञ्चनपुरको पुनर्वास–८, आनन्द बजार नजिक २०७३ फागुन २६ गते देशको सीमा रक्षाका लागि अवाज उठाउँदा नेपालकै भू–भागमा ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीले मारिए । श्रीमान मारिएपछि बेसहारा बनेकी सुशीला गौतमलाई भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिन्छ भनेर धेरै सान्त्वना दिए ।

तर भारतले अहिलेसम्म न माफी माग्यो न क्षतिपूर्ति नै दियो । ‘घटनापछि भातरले माफी मागेर क्षतिपूर्ति दिन्छ, दोषीलाई कारबाही हुन्छ भनेर धेरैले भने,’ सुशीला दुःख पोख्छिन्, ‘हाम्रै भूभागमा आएर श्रीमानको हत्या गर्ने दोषीलाई कारबाही गरेर भारत सरकारले माफी नमागेसम्म पीडा कम हुँदैन।’

घटनाको १७ दिनपछि चैत १२ गते आनन्द बजार पुगेर तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सुरक्षाकर्मीको गोलीले गौतम मारिएको प्रमाण भारत सरकारलाई बुझाइसकेको र दोषीलाई कारबाही हुने आश्वासन दिएका थिए । सुरुमा भारतले आफ्नो सुरक्षाकर्मीबाट गौतमको मृत्यु नभएको जिकिर गरे पनि नेपाल सरकारले छानबिन गरेर भारतीय सुरक्षाकर्मीकै गोलीले गौतम मारिएको पुष्टि गरेको थियो ।पोस्टमार्टम र फोरेन्सिक रिपोर्टअनुसार भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रमाणित भएको तत्कालीन गृहमन्त्री निधिले बताएका थिए । गोविन्द गौतमलाई लागेको ५.५६ मिलिमिटर क्यालिभरको गोली नेपाल प्रहरीको नभइ अत्याधुनिक हतियार भएको उनको भनाइ थियो।

नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका सुरक्षाकर्मीले निहत्था गोविन्द गौतमको हत्या गरेकामा माफी माग्नुपर्ने र दोषीलाई कारबाही तथा क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार र स्थानीय बासिन्दाको माग छ

‘प्रयोगशालाबाट भारतीय सुरक्षाकर्मीको गोलीले नै गौतमको मृत्यु भएको प्रमाणित भएको छ,’ ’तत्कालीन गृहमन्त्री निधिले आनन्द बजारमा पीडित परिवार र स्थानियलाई सान्त्वना दिँदै भनेका थिए, ‘पोस्टमार्टम र फोरेन्सिक जाँचको रिपोर्ट भारत सरकारलाई पठाइसकेको छु ।’ त्यसबेला निधिले दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री शुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहलाई रिपोर्टबारे जानकारी गराउँदै भारतीय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको कुरा आफूले राखेको समेत बताएका थिए।‘भारतीय सुरक्षाकर्मीको गोलीले मृत्यु भएको भनेर भनेपछि प्रधानमन्त्री मोदीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छु भनेका छन् भनेर निधिले हामीलाई भनेका थिए,’ गौतम पत्नी सुशीलाले भनिन्,‘तर अहिलेसम्म भारत सरकार मौन बसेको छ ।’

मोदीसँग कुरा राख्न माग
नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका सुरक्षाकर्मीले निहत्था गोविन्द गौतमको हत्या गरेकामा माफी माग्नुपर्ने र दोषीलाई कारबाही तथा क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार र स्थानीय बासिन्दाको माग छ ।‘ मेरा श्रीमानको हत्या गरेकामा प्रधानमन्त्री मोदीले माफी माग्नु पर्छ,’ गौतम पत्नी सुशीलाले भनिन्, ‘नेपाल भ्रमणमा आउन लागेका मोदीले माफी मागेर दोषीलाई कारबाही गरे मात्र नेपाल र नेपालीप्रति सच्चा सम्मान हुने छ ।’

गोविन्दका ७३ वर्षीय बुवा खिमलाल गौतम छोरालाई नेपालकै भू–भागमा आएर हत्या गर्ने दोषीमाथि कारबाही नभए आगामी दिनमा यसैगरी अरुमाथि पनि ज्यादति हुने बताउँछन् । खिमलाल भन्छन्, ‘नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री मोदीसँग दोषीलाई कारबाहीका लागि आवाज उठाइदिन म माग गर्छु।’

यसैगरी सहिद गोविन्द गौतम सीमा सुरक्षा संघर्ष समितिका सहसचिव पूर्णप्रसाद पौडेल, गौतम हत्या गर्ने दोषीलाई कारबाही गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिने विषयमा नेपाल सरकारले भारत सरकार समक्ष कुरा नराखरको गुनासो गर्छन् । ‘हामीले पटकपटक ज्ञापनपत्र पठाएर यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण गरायौं तर अहिलेसम्म कुनै पहल भएको छैन,’ उनले भने, ‘नेपालका प्रधानमन्त्री भारत भ्रमण गएका बेला यो कुरा उठाउन नसके पनि अब भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण आएका बेला नेपाल सरकारले गोविन्द गौतमको कुरा उठाउनुपर्छ ।’

कानुन व्यवसायी गम्भीर ऐर पनि नेपाली भू–भागमा आएर निहत्था र निर्दोष नागरिकको हत्या गरेकामा भारतले सरकारले पीडित परिवारसँग माफी माग्दै दोषीलाई कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिएर आफूलाई न्यायको पक्षमा उभ्याउनुपर्ने बताउँछन्।

यसरी भएको थियो गोविन्द गौतमको हत्या

सीमाबाट करिब डेढ किलोमिटर दूरीमा रहेको सीमावर्ती भारतीय बजार बसहीमा नेपालका नागरिक किनमेलका लागि गइरहन्छन् । उक्त बजार जाने बाटोमा पर्ने आनन्दनगर नजिकैको खोलामा कल्भर्ट बनाउन पुनर्वास नगरपालिकाले पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलेदेखि सीमा विवाद भइरहेकाले दुवै देशका सुरक्षा अधिकारी बसेर घटनाको दुई साताअघि पक्की कल्भर्ट नबनाउने कच्ची बनाउने सहमति गरे।

सहमति बमोजिम स्थानीय बासिन्दाले ह्युमपाइप राखेर त्यसमाथि माटो र इँटा टुक्रा र बालुवा राखे । तर भारतीय सुरक्षाकर्मीसहित भारतका बासिन्दाले नेपालका बासिन्दाले कल्भर्टमाथि राखेका माटो, इँटा र बालुवा भत्काउन थाले । त्यसपछि दुई पक्षबीच विवाद सुरु भयो । यसै क्रममा भारतीय सुरक्षाकर्मीले नेपालीलाई लखेट्दै नेपाली भू–भागसम्म आएर नेपालीका घर तथा पसल तोडफोड गरे । त्यसको प्रतिकार गर्ने क्रममा गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागी मारिएका थिए।

सरकारी आश्वासन पनि पूरा भएन

सीमा सुरक्षाका क्रममा गोविन्द गौतम मारिएपछि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि आनन्द बजार पुगेर दिएको आश्वासन नेपाल सरकारले पूरा गरेको छैन । उनले गौतम पत्नीलाई जागिर दिने र तीन बच्चालाई निःशुल्क पढाइदिने आश्वासन दिएका थिए । तर अहिलेसम्म यी आश्वासन पूरा नभएको गौतम पत्नी सुशीलाले दुखेसो पोखिन् ।
 

प्रकाशित: २७ वैशाख २०७५ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App