१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चाचाको कुटाइबाट घाइते गोरे कहाँ छन्

काठमाडौं- सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ घाइते अवस्थामा फरार भएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले चाचाजी भनिने महावीर गोल्यान र एमके भनिने मोहन अग्रवाल समूहको कुटाइबाट गोरे घाइते भएको सुराकी पाएको हो । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गोरेविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ।

समितिले ३३ किलो सुनको लगानीकर्ता गोल्यान भएको निष्कर्ष निकालेको छ । समितिका अनुसार सुन हराएपछि गोरेलाई सो समूहले कुटपिट गरेको थियो । ३३ किलो सुन थाई एयरलाइन्सका इन्जिनियर सानु वनले अनामनगरबाट लुटाएपछि गोल्यान समूहले गोरेलाई कुटपिट गरेको थियो।

गोरेले गोल्यान समूहबाट कुटाइ खाएपछि आफ्नो समूहका सबैलाई अपहरण गरी कुटपिट गर्दा शाक्यको मृत्यु भएको थियो । पौडेल नेतृत्वको समितिका सदस्यहरुले गोरे घाइते भएको र ३३ किलो सुनको लगानीकर्ता गोल्यान भएको सुराकी पाएपछि सोही आधारमा गोल्यान पक्राउ गरी थप अनुसन्धान अघि बढाएका हुन् । समितिले पछिल्लो समय नेपालबाट ३८ क्विन्टल सुन तस्करीमा गोरे समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

समिति स्रोतका अनुसार गोरेको चाचाजीसँग दुबईमा सम्पर्क भएको थियो । चाचाजी र अन्य सुन व्यवसायीको अर्डरमा गोरेले त्यहाँबाट नेपालमा सुन पठाइदिने गरेका थिए । सुरुमा साथीभाइको पैसा जम्मा पारेर नेपालमा १०÷१० तोला सुन पठाउने गरेका गोरेले चाचाजीसँग सम्पर्क बढेपछि उनकै लगानीमा ठूलो परिमाणमा सुन पठाउन थालेका थिए । स्रोतका अनुसार चाचाजीकै कारण गोरे सुन तस्करको सञ्जालमा आबद्ध भएका थिए । उनले दुबईमा रहेका हरिशरण खड्कासँग मिलेर रेस्टुरेन्ट व्यवसाय गरेका थिए।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले चाचाजी भनिने महावीर गोल्यान र एमके भनिने मोहन अग्रवाल समूहको कुटाइबाट गोरे घाइते भएको सुराकी पाएको हो ।

२०७३ पुस २१ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साढे ३३ किलो सुन बरामद गरी खड्कालाई मुख्य अभियुक्त बनाएपछि गोरे र खड्का अलग भएका थिए । खड्का सो प्रकरणमा मुछिए पनि सुन तस्करी गर्न भने छाडेनन् । खड्काले नै पठाएको दुई किलो सुन महानगरीय प्रहरी अपराध महाशाखाले गोरेकै सुराकीमा बरामद गरेको थियो । त्यो सुन चाचाजीकै समूहमा रहेका एमके अग्रवालको लगानीमा ल्याइएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीका चालक विष्णु खड्काले समितिसँगको बयानमा आफूले चाचाजी र एमके अग्रवाललाई २०-२५ पटक सुन पुर्याइदिएको बताएका छन् ।

गोरेले दुबईबाट सुन तस्करी गर्न थालेपछि खड्का बिस्तारै पछि परेका थिए । तर चाचाजीको भने सामान आइरहेको समिति स्रोतले दाबी गरेको छ । ‘आफूलाई आवश्यक पर्ने व्यक्तिलाई हातमा लिइहाल्ने गोरेले चाचाजी जस्ता बलियो लगानीकर्ता फेला पारेका रहेछन् । गोरेले चाचाजी र नेपालका व्यापारीको अर्डरअनुसार दुबईबाट सुन तस्करी गर्ने गरेको देखिन्छ’, स्रोतले भन्यो । छानबिन समितिले गरेको अनुसन्धानअनुसार पत्रमा गोरेले सन् २०१५ जुलाई १५ यता १२ सय ३४ किलो सुन आफ्नै नाममा नेपाल ल्याएको उल्लेख छ ।

तर उक्त परिमाणको सुन किन्न सक्ने गोरेको आर्थिक अवस्था हैसियतबारे भने समिति मौन छ । समितिले पछिल्लोपटक नेपाल ल्याएको सुन चाचाजीकै भएको निष्कर्ष निकालेको छ । समितिले त्यसअघि ल्याइएको सुनमा कसको लगानी रहेको छ भन्नेबारे अनुसन्धान थालेको छ ।तर चाचाजीले समितिसमक्ष गोरेलगायतका कोही कसैलाई पनि चिन्दिनँ भनेर इन्कारी बयान दिएका छन् । ‘हामी सिलगुडीमा रहँदाबस्दा किराना पसल गर्दथे । त्यस्तैमा आजभन्दा १०-११ वर्षअगाडि मेरो सानो छोरा पंकज गोल्यानको मामाले निजलाई पनि काठमाडौं लिएर आयो । सोही बेलादेखि मेरो छोरा पंकज काठमाडौंमा बस्न थालेको र निजले डिल्लीबजारमा कार्पेट, फर्निचरलगायतको व्यापार गर्न थालेको थियो’, चाचाजीले भनेका छन्, ‘मलाई सुन तस्करीबारे केही थाहा छैन।

मलाई जिल्ला प्रहरी कार्यालयमा मोरङमा आएर मात्र थाहा भयो– तस्करहरुले सुन तस्करी गर्ने क्रममा काठमाडौंबाट साढे ३३ केजी सुन हराएको रहेछ । सोही हराएको सुन खोजी गर्ने क्रममा हाल नाम थर थाहा भएको सनम शाक्यको मृत्यु भएको रहेछ ।’ उनले टेकराज मल्ल ठकुरी, सनम शाक्य, गोरे कसैलाई नचिनेको दाबी गरेका छन् । गोल्यान समूहकै अर्का लगानीकर्ता एमके अग्रवाल धरानका भएकाले गोरेसँग उनको पुरानो चिनजान रहेको समितिको निष्कर्ष छ ।सुन तस्करी आरोपमा मुद्दा चलाइएका भुजुङ गुरुङले पनि अग्रवाल र चाचाजी मिलेर सुन ल्याउने गरेको बयान अदालतमा दिएका छन् ।

प्रकाशित: २७ वैशाख २०७५ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App