१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्घोष गरेकी छिन्। उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु।’

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले नेपालको संविधानको मौलिक हकमा नै आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको र सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तहः एक अस्पताल’को कार्यक्रम आउने जानकारी दिइन्। 

मन्त्री अर्यालले स्थानीय तहलाई औषधि खरिदका लागि दिइएको रकम सदुपयोग गर्न तरिकामा अन्यौल देखिएको वा कतिपय ठाउँमा रकमान्तर गरिएकाले स्वास्थ्य सेवा प्रभावित भएको पाइएको पनि गुनासो पोखिन्। उनले भनिन्, ‘आधारभूत स्वास्थ्य सेवालाई वडा तहसम्म पु-याइनेछ, सबै वडामा स्वास्थ्य ईकाइ खडा गर्न प्राथमिकता दिइनेछ।’

सर्वसाधारणलाई ढाड सेक्नेगरी आफूखुशी शुल्क लिँदै आएका निजी अस्पतालको शुल्क निर्धारण र कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आफूले परामर्श शुरु गरेको पनि मन्त्री अर्यालले जानकारी दिइन्। उनले अघि थपिन्, ‘ती अस्पतालले लिने शुल्क निर्धारण गरिएका आधारमा हुन्छ र कुन सेवाका लागि कति शुल्क लाग्ने हो सेवाग्राहीले थाहा पाउनेगरी पारदर्शीरुपमा टाँस्न पनि निर्देशन दिन्छु।’ 

त्यस्तै उनले औषधिको मूल्य फरक–फरक पाइएकोले अब एउटै दर रेट कायम गर्ने पनि विश्वास दिलाइन्। उनले औषधिको अभाव नहुने विश्वास दिलाइन्। 

मन्त्री अर्यालले स्वास्थ्य बीमालाई अनिवार्य गराई सम्पन्नबाट लिने, कमजोरलाई छुट दिने र नसक्ने विपन्नलाई पूरै निःशुल्कको नीति ल्याइने बताइन्। उनले स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुर्याइने जनाइन्। 

त्यस्तै, उनले आफूले औषधि उत्पादन संघलाई पनि अनुगमन गर्ने तयारी गरिरहेको जानकारी दिँदै भनिन्, ‘औषधि लगायत स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति तथा सिण्डिकेटहरु अन्त्य गर्न म लागि पर्नेछु।’

प्रकाशित: २६ वैशाख २०७५ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App