१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रक्सीले कलेजो खाएपछि...

काठमाडौं – भक्तपुर व्यासीका ५१ वर्षीय रवि प्रजापति यतिखेर वीर अस्पतालमा उपचारर्थ छन्। गत पुसदेखि बिरामी पर्न थालेपछि उनी अस्पताल धाउन थालेका हुन्। सिभिल अस्पतालमा दुई महिना बिताए, केही उपचार घरमै गरे । तैपनि निको नभएपछि उनी वीर अस्पतालमा पुगेका हुन्। 

चिकित्सकले लामो समयसम्म रक्सी सेवन गरेको कारण कलेजो बिग्रेको बताएका छन्। रक्सीले कलेजोको कोषहरु नष्ट गर्दै गएपछि उनमा अल्कोहलिक लिभर सिरोसिस  भएको चिकित्सकले जनाएका छन् । उनकी पत्नी विद्या प्रजापतिका अनुसार उनले बिगत पन्ध्र वर्षदेखि नियमित रुपमा रक्सी सेवन गर्थे। ‘मलाई लुकाएरै भएपनि दिनको दुई÷चार गिलास पिउँनु हुन्थ्यो’पत्नी प्रजापतिले भनिन्। 

कलेजो गम्भीर रुपमा बिगे्रपछि रविको पेट असमान्य गरी फुलेको छ, अनुहार पहेंलो भएर फुलेको छ। उनी पहिला जस्तै कुनै पनि खानाहरू पचाउन सक्ने अवस्थामा छैनन्। अहिले उनी थोरै र नरम खानेकुरा मात्र खान सक्छन्। सानो चिया पसलको भरमा परिवारको  जीविका चलाउँदै आएका उनी बिरामी परेपछि परिवारमा खर्च जुट्न छोड्यो नै। उल्टै क्रण खोजेर उपचार गरिरहनु परेको छ । क्रण खोजेको पैसाको भरमा उपचार पुरा हुने अवस्था नभएको पत्नी विद्याले भनिन्। 

कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्टिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

विद्याका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण गर्नु पर्छ र यसको लागि कम्तीमा २० लाख पैसा तयार गर्नु पर्ने सुझाएको थियो ।  यो उपचारको लागि न कलेजो दिने व्यक्ति तयार छन् , न २० लाख रुपैया जुटाउन सक्ने अवस्था छ । दुवै जना उपचारमा व्यस्त भएपछि परिवारको हातमुख जोड्ने आम्दानी पनि बन्द भएको छ। ‘बीस लाख रुपैया कसरी जुटाउने ?, कलेजो कसले दिने ?’विद्याले भनिन्। 

अस्पतालकै फिमेल मेडिकल वार्डमा उपचारर्थ छिन् धार्दिङकी ५५ बर्षीया मोती राना। उनको पनि कलेजो बिगे्रर उपचारको लागि वीर अस्पताल ल्याएका हुन् । अस्पतालले उनले पनि वीस बर्ष भन्दा बढी समय नियमित रक्सी सेवन गरेकी थिइन्। कलेजो बिगे्रर थला परेपछि । उनी दुई महिनादेखि बिरामी परेकी हुन्। कलेजो बिगे्रपछि उनी पनि खाना राम्रोसंग खाना नसक्ने, पेट असमान्य गरी ठूलो हुने र अनुहार फुल्ने समस्याले ग्रसित छन्। 

रक्सी सेवनकै कारण कलेजो बिगे्रपछि उपचारका लागि सोही वार्ड पुगेकी हुन् बालाजुकी ६८ वर्षीया मायाँ लिम्बु । उनको अवस्था गम्भीर छ । उनले जीवनभर नै रक्सी सेवन गरेकी थिइन् । अस्पतालको कलेजो विभागका अनुसार अस्पतालमा रक्सी सेवनकै कारण कलेजो बिगे्रर आउनेहरू उल्लेख्य छन्। रक्सीको कारण हुने कलेजो बिग्रिने समस्यालाई अल्कोहलिक कलेजो रोग भनिन्छ। 

अस्पतालको तथ्यांक अनुसार प्रति वर्ष यो अस्पतालमा मात्र औसत ४ हजार ८ सय जना कलेजोको बिरामी आउँछन् । यी मध्ये ६० प्रतिशत रक्सीको कारण कलेजो बिग्रेका हुने गरेको अस्पतालको कलेजो विभागले जनाएको छ । यो ६० प्रतिशत पनि अन्यत्र उपचार गरेर निको नभएका या रोग छिप्पिसकेको अवस्थामा मात्र आइपुग्छन्। उपचारमा आउँदा कलेजो पुरै बिग्रेको तथा पुरै बिग्रिन बाँकी रहेको अवस्थाका हुन्छन् । ‘रेफर भएर आएका हुन्छन्,उनीहरू मध्ये धेरै अन्तिम चरणमा मात्र आइपुग्छन्’अस्पतालका कलेजो विभाग प्रमुख डा. अनिल कुमार मिश्रले भने। 

कलेजो पुरै बिग्रिसकेकाहरूको लागि औषधीको उपचारले पुग्दैन । उनीहरूको हकमा कलेजो प्रत्यारोपण गर्नु पर्ने हुन्छ। सबैको लागि आर्थिक अवस्था नहुने र भनेकै समय कलेजो नपाउने, नेपालमा अहिलेसम्म पनि नियमित कलेजो प्रत्यारोपण हुन नसक्दा उपचार पाउने अवस्था कम रहन्छ । पुरै कलेजो बिगे्रकाहरू कलेजो प्रत्यारोपण हुन नसकेको अवस्थामा एकदेखि तीन वर्षभित्र मृत्यु  हुन्छ। डा.मिश्र भन्छन्,‘नेपालमा अहिले पनि पूर्ण उपचारको अवस्था छैन , विदेशमा जान पहुँच पुग्दैन’। 

विभागका अनुसार रक्सीको कारण कलेजो बिगे्रर आउनेमा पुरुष बढी छन् ।  रक्सी बढी सेवन गरेको कारण कम उमेरमै फोक्सो बिग्रिने गरेको डा.मिश्रले बताए। ‘ वृद्ध भएपछि बिग्रिनु पर्नेमा कम उमेरमै अर्थात्  ४० देखि ५० वर्षभित्रै कलेजो बिगे्रर आउने धेरै छन्’उनले भने । उपत्यका र उपत्यका बाहिर दुवै ठाउँका मानिसहरूमा यो समस्या बढिरहेको डा.मिश्रले बताए।  

समाजमा महिला भन्दा बढी पुरुषहरू रक्सी सेवनको लतमा पर्ने गरेको कारण पुरुषहरूको कलेजो बढी बिग्रिने गरेको चिकित्सक बताउँछन् । पहिला निश्चित जातिगत समूहमा रक्सी सेवनको लत सीमित रहेपछि पछिल्लो चरणमा आर्यन र मंगोलियन दुवैमा यसको प्रभाव बढेको डा.मिश्रले बताए। उनी भन्छन्,‘भोज,चाडपर्व या संस्कृतिको बहानामा रक्सी पिएकाहरू पछि गएर लतमा पुग्छन्’उनले भने। 

रक्सीले कसरी बिगार्छ कलेजो ? 

रक्सीमा हुने टक्सिन(बिषादी पदार्थ)को कारण कलेजाको कोषहरूलाई बिस्तारै नष्ट गर्दै जान्छ। निरन्तर रक्सी सेवन गर्दै जाँदा रक्सीले अरु धेरै कोषहरू नष्ट गर्दै जान्छ। यो क्रम थपिंदै जाँदा कलेजो कडा बन्दै जान्छ। कलेजोमा चिल्लो तथा अन्य पदार्थ जम्मा भएको अवस्था पनि हो। यसलाई चिकित्सीय भाषामा फ्याटी लिभर भनिन्छ। कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्ट्रिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। 

यी लक्षण देखिएकै अवस्थामा उपचारमा पुगेमा जीवनशैली फेरिएपछि सामान्य अवस्थामा बिरामी सामान्य अवस्थामा फर्किन सक्छन् । तर धेरै जसो बिरामीहरू ग्याष्टिक भएको भन्दै रक्सी पिउने क्रमलाई रोक्दैनन्। रक्सीको कारण कतिपयलाई नदुखेको भान हुन्छ र पुन: रक्सी नै पिउँछन्। तर क्रमिक रुपमा कलेजो फ्याटी लिभरको अवस्था(कलेजो कडा हुने अवस्थाबाट)सिरोसिस(कलेजो सुन्निएर धेरै ठूलो हुने या गिर्खा पलाउने अवस्था)मा पुगिसकेको हुन्छन् । यो अवस्थामा पुगिसकेपछि उपचारमा पुग्दा निको हुन सक्दैन । यो अवस्थामा पुग्दा बिरामीको अनुहार पहेंलो हुने , पेटमा पानी जमेर ठूलो हनुे जस्ता लक्षण देखिन्छन् । 

प्रकाशित: २६ वैशाख २०७५ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App