१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफलाई चौथो पटक उपाधि

काठमाडौं – राष्ट्रिय खेलाडीले भरिभराउ विभागीय टोली एपिएफले लगातार चौथो पटक उपाधि जित्ने क्रममा मंगलबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चौथो केएनपी जापान महिला राष्ट्रिय भलिबलमा च्याम्पियन बनेको छ।

मंगलबार प्रतियोगिताको चौथो संस्करण सम्पन्न हुँदा अहिलेसम्मकै एक्लो च्याम्पियन बन्न सफल एपिएफले पुलिसलाई सबै तीन सेटमा निरीह पार्दै उपाधि कब्जा गर्याे। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा तीन पटकको साबिक विजेता एपिएफले पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेटमा केही सुधारिएको खेल पस्केको पुलिसले सुरुदेखि अग्रता बनाए पनि १२–१२ को अवस्थाबाट पछाडि पर्दै २५–१९ को नजिता सुम्पिएको थियो।

लगातारका दुई सेटमा जित निकाल्दै उच्च मनोबल बनाएको एपिएफले तेस्रो सेटमा २५–१७ को सहज नतिजा निकाल्न सफल भयो । तीन सेट हात पारेसँगै एपिएफले शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा लगातार चौथो पटक पनि उपाधि चुम्न सफल भएको हो।

जितपछि एपिएफकी कप्तान विनीता बुढाथोकीले अनुभवी खेलाडीको उत्कृष्ट संयोजनले नै प्रतियोगितको उपाधि जित्न सम्भव भएको बताइन् । विनीताले भनिन्, ‘अनुभवी खेलाडीको संयोजनले हाम्रो टोली अरू टोलीभन्दा बलियो छ, बाँकी टोली पनि उत्कृष्ट बन्ने क्रममा छन्, फाइनलको प्रतिस्पर्धी पुलिसले पनि उत्कृष्ट खेल्यो । तर न्यु डायमन्डसँग जति रोमाञ्चक फाइनल बन्न सकेन।’

यस्तै, विजयी टोलीका प्रशिक्षक ज्ञानेन्द्र विष्टले टोलीको स्पाइक र अनुभवी खेलाडीको अनुभव नै जितको बलियो आधार भएको बताए । ज्ञानेन्द्रले भने, ‘प्रतिद्वन्द्वीको प्रहारलाई ब्लक गर्दै एट्याक गर्ने रणनीति सफल भयो । तीनवटै स्पाइकरले राम्र्र्रो खेल देखाए, जसले गर्दा जित हात पार्न सहज भयो।’

उता पराजित टोलीका प्रशिक्षक रूपेश विष्टले रिसिभ र स्पाइक कमजोर भएका कारण पराजित हुनुपरेको बताए । रूपेशले भने, ‘आज पनि टोलीमा अनुभवको कमी देखियो । मुख्य समस्या रिसिभ, स्पाइक र आपसी तालमेल निकै फितलो भयो।’

केएनपी जापानको मुख्य प्रायोजन र शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता एपिएफले नगद १ लाख ५० हजार रुपैयाँ हात पार्याे भने उपविजेता नेपाल पुलिसले नगद १ लाख रुपैयाँमा चित्त बुझायो।

मंगलबारै साबिकको उपविजेता शिवम् न्यु डायमन्ड एकेडेमीले चिर परिचित प्रतिद्वन्द्वी पश्चिमाञ्चल भलिबल संघलाई २५–१४, २५–१६, २५–१४ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो बन्यो । न्यु डायमन्डले नगद ५० हजार रुपैयाँ हात पार्याे। 

शुक्रबारबाट आयोजना भएको प्रतियोगितामा उत्कृष्ट स्पाइकर न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली घोषित हुँदा डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, उत्कृष्ट क्विकर डायमन्डकी ललिता नाथ बने । यस्तै, उत्कृष्ट ब्लकरको उपाधि नेपाल पुलिसकी मनीषा चौधरीले हात पारिन् भने उत्कृष्ट लिफ्टरको उपाधि पुलिसकै कमला पुनले जितिन् । विजयी एपिएफकी उषा विष्ट उत्कृष्ट सर्भर बन्दा प्रशिक्षकको उपाधि पनि एपिएफकै प्रशिक्षक ज्ञानेन्द्र विष्टले हात पारे । उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी स्पाइकर सरस्वती चौधरी बन्दा एपिएफकै रेश्मा भण्डारीले स्पेशल अवार्डको उपाधि जितिन् । सरस्वती र रेश्मा दुवैले नगद १० हजार रुपैयाँ हात पारे।

प्रकाशित: २६ वैशाख २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App