१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सफलता शृंखलामा सन्दीप

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमार्फद दिल्ली डेयरडेभिल्सको रोजाइमा परेपछि नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले विश्वकै सबैभन्दा महँगो र ठूलो प्रतियोगिताको यात्रा गर्ने पहिलो नेपाली क्रिकेटरका रुपमा इतिहास बनाए। 

वर्ष २०७४ मा सन्दीपको यात्रा २० लाख भारतीय रुपैयाँमा दिल्लीसँग अनुबन्त्र हुनुमा मात्र सिमित थिएन। वेष्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिगका लागि पनि उनी छनोट भए। लण्डनमा भएको ड्राफ्ट पिकमा सन्दीपलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान क्रिस गेलको सेन्ट किट्स एन्ड नेविस पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा खरिद गर्याे।नेपालका लागि उमेर समूह तथा सिनियर राष्ट्रिय टोलीमा उनको उच्च प्रदर्शन निरन्तर थियो। जसका कारण बितेको वर्ष सन्दीप नेपाली खेलकुदमा सर्वाधिक चर्चित खेलाडीको सूचीमा रहे। 

लगातार चर्चामा आइरहन सफल भएबापत उनी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अर्वाडको मनोनयनमा परेका छन्। जहाँ पल्सर मोटरसाइकल पुरस्कार रहेको उपाधिका लागि उनले फुटबलका किरण चेम्जोङ, भलिवलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबलटेनीसका स्यान्टु श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा निरन्तर सफलता प्राप्त गरिरहेका १९ वर्षे सन्दीपका उपलब्धीको शृंखलामा यो अर्को पाइला बन्न सक्छ। 

पिपुल्स च्वाइस अवार्डमा खेलप्रेमीले गर्ने एसएमएस, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरू तथा विभिन्न खेलका प्रशिक्षकहरूले दिएको मतका आधारमा विजेता चयन गरिने बताइएको छ। खेलप्रेमीको एसएमएसको मतभार ५० प्रतिशत हुनेछ भने मञ्चका सदस्यको मतको २५ तथा प्रशिक्षकहरूको मतको २५ प्रतिशत मतभार हुने मञ्चले जनाएको छ। 

 

प्रकाशित: २५ वैशाख २०७५ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App