१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महासचिवमा तुलाधर

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनीत भएका छन् । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको बैठकले तुलाधर र जोशीलाई मनोनीत गरेको हो।

नवनियुक्त महासचिव तुलाधरले लामो समय एन्फाको कार्यकारी प्रमुख अधिकृत (सिइओ) भएर काम गरेका थिए । सोमबार एन्फा मुख्यालयमा बसेको कार्यसमितिले मानार्थ अध्यक्षमा टासी घलेलाई निरन्तरता दिएको छ । वरिष्ठ मानार्थ उपाध्यक्ष पदमा किशोर राई मनोनीत भएका छन्।

राईले उपाध्यक्षमा पदका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गरे पनि पछि चुनाव नलड्ने घोषण गरेका थिए । मानार्थ वरिष्ठ उपाध्यक्ष राईलाई एन्फाअन्तर्गत रहेका एकेडेमीहरू तत्काल सञ्चालन गर्न कार्ययोजना बनाउने जिम्मेवारी दिइएको छ । शिक्षित पराजुली उपाध्यक्ष तथा आर्थिक समितिको संयोजक बनेका छन्।

लामो समयको विवादपछि शनिबार सम्पन्न एन्फा निर्वाचनमा कर्माछिरिङ शेर्पाको प्यानल नै विजयी भएको थियो । चुनावमा सक्रिय भूमिका खेलेका नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्धको जिम्मेवारीसहित सल्लाहकार समितिको संयोजकमा नियुक्त गरेको छ । दीपक खातीलाई लेखापरीक्षण र अनुपालन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य पदमा निर्वाचित किरण राई प्रवक्तामा मनोनीत भएका छन् । प्रवक्ता राईको संयोजकत्वमा संघले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार वितरण गर्न छनोट समिति निर्माण गरी सिफारिस गर्ने निर्णय गरेको छ।

मोफसलमा हुने फुटबल प्रतियोगिताहरूको स्तर निर्धारण गरी नियमन गर्न समिति बनाउने निर्णय गरेको एन्फा कार्यसमितिको बैठकले राष्ट्रिय पूर्वखेलाडी विज्ञानराज शर्माको संयोजकमा लिग कमिटी बनाउने निर्णय गरेको छ । उक्त कमिटीले सरोकारवालासँग सल्लाह गरी लिगको ढाँचा निर्माण गरी १० दिनभित्र मिति घोषणा गर्ने निर्णय गरेको छ । ललित स्मृति यु–१८ प्रतियोगिता जेठ २९ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ।

एन्फाको विधान मस्यौदा समित तथा संघअन्तर्गत रहेका विभिन्न समिति तथा उपसमितिको नियमावली मस्यौदा समिति, आर्थिक नियमावली, कर्मचारी प्रशासन नियमावली तथा जिल्ला र प्रदेशलगायत विभिन्न ४ संघहरूको विधान मस्यौदाका लागि आवश्यकताअनुसारको समिति निर्माण गर्ने निर्णय गरेको छ।

संघअन्तर्गत गठित जिल्ला संघहरूमा ग्रासरुटका कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा समिति निर्माण गरेको छ भने अर्का उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा जिल्ला समन्वय समिति बनाएको छ । कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिता सञ्चालन गर्न सदस्य दावा लामाको संयोजकत्वमा समिति निर्माण गरी प्रत्येक जिल्लालाई ५० हजार अनुदान दिने निर्णय गरेको छ । त्यसका साथै जिल्ला लिग, प्रादेशिक प्रतियोगिता र केन्द्रीय प्रतियोगिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

 

प्रकाशित: २५ वैशाख २०७५ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App