१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मोदीको भ्रमण पूर्ण सफल हुन्छ'

काठमाडौं – विभिन्न दलका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई पूर्ण सफल बनाउने बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने बताए।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले मोदीको भ्रमण सफल बनाउन सरकार पूर्ण रूपमा लागिपर्ने बताए। उनले भने, ‘विगतमा नेपालका प्रधानमन्त्री दिल्ली जाने परम्परा थियो तर भारतका प्रधानमन्त्री अहिले नेपाल आउन थाल्नुभएको छ, अहिले भ्रमण दोहोरो हुन थालेका छन्, यो सुखद पक्ष हो।’

उनले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्वाद उच्च तहमा पनि सुरु भएको जनाए। उनले भने, ‘अहिले त दुई देशबीच राजनीतिक तहमा नै सम्वाद हुन थालेका छन्, यो राम्रो पक्ष हो।’ मुलुकको आन्तरिक नीतिको विस्तारित रूप नै कुटनीति भएकाले सबै दल एक ठाउँमा उभिनुपर्ने नेता सापकोटाको भनाइ थियो। नेपाली कांग्रेसका नेता एनपी साउदले भारतीय प्रधानमन्त्री मोदीको दुईदिने नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै भ्रमण सफल बनाउने विश्वास दिलाए। भ्रमण सफल बनाउन कुनै कसर बाँकी नराख्ने कामचाहिँ सरकारको भएको उनले प्रतिक्रिया दिए।

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले भारतीय प्रधानमन्त्री मोदी विश्वकै सर्वोच्च नेता भएको भन्दै उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीले सफल पार्नुपर्ने बताए। उनले भने, ‘वैशाख २८ गते उहाँ जनकपुरमा पहिलोपटक पाइला टेक्दैहुनुहुन्छ, यो हामी सबैका लागि खुसीको कुरा हो।’

नेपाल र भारतबीच ऐतिहासिक र अटुट सम्बन्ध रहेको बताउँदै सुमनले दुई देशका जनता–जनताबीचको सम्बन्धलाई झन् मजबुत बनाउनका लागि मोदीको जनकपुर भ्रमण भएको स्पस्ट पारे।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले भने, ‘मोदी आफै पनि धार्मिक व्यक्ति हुन्, उहाँ नेपाल आउनुका कारण नेपाली भूमि धार्मिक हुनु हो, मोदीले नेपाललाई पुण्यभूमि ठानेका छन्।’

प्रकाशित: २५ वैशाख २०७५ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App