१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिसको कठिन जित

थ्री स्टारविरुद्ध बल खोस्ने क्रममा नेपाल पुलिस क्लब ( रातो )का खेलाडीहरू। तस्बिर : युवराज नागरिक

झापा – उपाधिको बलियो दाबेदार मानिएको थ्री स्टार क्लब दमक गोल्डकपबाट बाहिरिएको छ। विभागीय टोली नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै ५ दिनअघि सम्पन्न माइभ्याली गोल्डकपको विजेता थ्री स्टार क्लब वर्षको दोस्रो उपाधिका रूपमा दमक कप उचाल्नबाट वञ्चित भएको छ। पुलिसका लागि अभिषेक रिजालले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५७आैं मिनेटमा गोल गरेका थिए। पुलिसले पाएको कर्नर किकको सदुपयोग गर्दै रिजालले हेडमार्फत गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दुवै टिमले गरेका प्रहार फितला थिए। पहिलो हाफमा पुलिसले निरन्तर पोस्टमा प्रहार गरे पनि गोल हुन सकेन। खेलको आठौं मिनेटमा पुलिसका सुनील बलले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। ६७औं मिनेटमा पनि सुनीलले नै गरेको प्रहार फ्रेममा पर्न सकेन। ७४औं मिनेटमा थ्री स्टारका खेलाडीले गरेको प्रहार पुलिसका डिफेन्डरले जोगाए।

यस्तै पुलिसले अग्रता लिएसँगै थ्री स्टार पनि आक्रामक बनेको थियो। निरन्तरको प्रहार पुलिसका गोलरक्षक किरण चेम्जोङले सहजै विफल बनाए। खेल सकिन ७ मिनेटअघि थ्री स्टारका खेलाडीले गरेका ३ वटा प्रहार चेम्जोङले सहजै नियन्त्रणमा लिएका थिए । खेलको अन्तिम समयमा पुलिस र थ्री स्टार दुवैले पोस्टमाथि निरन्तर प्रहार गरे पनि पुलिसले गोल थप्न सकेन भने थ्री स्टारले बराबरी गर्न सकेन।

खेलमा विजेता पुलिसका किरण चेम्जोङ म्यान अफ दी म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताए। गोल्डकपमा सोमबार सरस्वती क्लब र मनाङ मस्र्याङ्दीबीच खेल हुनेछ।

प्रकाशित: २४ वैशाख २०७५ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App