१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करीमा पुरानै समूह सक्रिय

काठमाडौं – पछिल्ला दुई अनुसन्धानबाट सुन तस्करीमा पुरानै समूह सक्रिय रहेको खुलेकोे छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धान र गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानबाट सुन तस्करीमा प्रायः उनै व्यक्ति देखिएपछि पुरानै समूह सक्रिय रहेको खुलेको हो।

गत वर्ष पुसमा बरामद साढे ३३ किलो सुन तस्करीसम्बन्धी अनुसन्धानमा दुबईमा रहेका हरिशरण खड्कासहित ३१ जना संलग्न भएको खुलेको थियो। त्यति बेला प्रहरीले खड्कालाई मुख्य योजनाकार दाबी गरी अदालतमा मुद्दा दायर गरेको थियो। उनले दुबईमा बसेर नेपालमा आफ्ना सहयोगी परिचालन गरेको निकष्र्ष निकाल्दै सिआइबीले चूडामणि उप्रेती (गोरे) लाई खड्काकै मुख्य सहयोगी बताएको थियो। सिआइबीले साढे ३३ किलो सुन बरामद गरेसँगै पक्राउ परेका रामहरि कार्कीले गोरेबाटै सुन लिने गरेको बयान दिएका थिए। यसपटक गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले गोरेलाई मुख्य अभियुक्त बनाएको छ।

‘दुबईबाट पठाएका ४ सय ५० पिस सुनका बिस्कुट मैले चारपटक दिलबन्धु थापामार्फत लिई हरि खड्काले फोनमा टिपाएअनुसार विभिन्न सुन पसलेलाई दिएको छु। विदेशमा बसी सुनको अवैध कारोबार गर्ने किशन अग्रवाल, हरि खड्का भन्ने हरिशरण खड्का, केशव चापागाईं, अर्जुन खरेल, गोरे खरेल भन्ने चूडामणि उप्रेती, सञ्जय भन्ने दुर्गाप्रसाद खरेल, राजन पन्थी हुन्’, कार्कीले सिआइबीसँगको बयानमा भनेका थिए। अहिले गठन भएको छानबिन समितिले पनि हरिशरण खड्कालाई प्रतिवादी बनाएको छ। गत वर्ष खड्का मुख्य अभियुक्त थिए भने अहिले गोरे मुख्य अभियुक्त छन्।

गत पुसमा बरामद साढे ३३ किलो सुन प्रकरण र यसपटकको ३३ किलो सुन प्रकरणमा अभियुक्तका रुपमा प्रायः उनै नाम दोहोरिएपछि तस्करीमा पुरानै गिरोह सक्रिय रहेको पुष्टि भएको छ।

त्यति बेला पक्राउ परेका कार्कीले दिलबन्धु थापामार्फत बुझेको सुन आरके ज्वेलर्समा काम गर्ने शनि श्रेष्ठ, शालिमार ज्वेलर्समा काम गर्ने रवि, न्युरोडमा पसल गर्ने अमूल विभूति र वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालक प्रमोद श्रेष्ठलाई दिने गरेको बताएका थिए। अहिले पनि आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्।

त्यति बेला ब्युरोले सुन तस्करीको जालोमा खड्कासहित चूडामणि उप्रेती, गोरे, रञ्जन पन्त, अर्जुनप्रसाद खरेल, रामहरि कार्की, रुबिन खड्का, सन्देश लोप्चन, प्रकाश खरेल, भोला मगर, माधव सुवेदी, विष्णु सुवेदी, संकेत खतिवडा र थर नखुलेका ध्रुव नामका व्यक्ति संलग्न रहेको उल्लेख गरेको थियो। ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार दुबईमा रहेका सन्तोष काफ्ले तस्करीको सुन संकलन गरेर नेपाल पठाउने मुख्य व्यक्ति थिए।

उनी नेपालमा गोपाल शाही र दिलबन्धु थापासँग सम्पर्कमा थिए। खड्का र शाही ३३ किलो सुन अनुसन्धानको पहिलो चरणमै समातिएका थिए। अनुसन्धानले वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालक राजेन्द्रकुमार शाक्य, सुनिल श्रेष्ठ र मनोज श्रेष्ठ, शालिमार ज्वेलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, भारतीय नागरिक विभूति अनमोल बालचन्द्र र रवि राजेश बोगटीसमेत सुुन तस्करीमा सक्रिय रहेको देखाएको थियो।

त्यति बेला सुन तस्करीमा ३० जना संलग्न देखिए पनि १२ जनामात्र पक्राउ परेका थिए। दुबईमा रहेका हरिशरण खड्का, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल पक्राउ परेका थिएनन्। पछि राजनप्रसाद पन्तलाई भने नेपाल प्रहरीले दुबईबाटै पक्राउ गरी नेपाल ल्याएको थियो। स्रोतले पछिल्लो समय दुबईमा रहेको सोही समूह नेपालमा पुनः नयाँ सहयोगी समूह बनाएर सुन तस्करीमा सक्रिय भएको बताएको छ। सिआइबीकै अनुसन्धानबाट त्यति बेला पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री अहिले पनि अभियुक्त देखिएपछि फरार छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ। गत वर्ष उनी दुई लाख रुपैयाँ धरौटी राखी अदालतबाट सामान्य तारेखमा छुटेका थिए।

अघिल्लो प्रकरणमा पक्राउ परेकाले सीआइबीलाई दिएको बयानमा उल्लेख गरेका गोरेसहित अर्जुन खरेल, श्याम खत्री, रामहरि कार्की, सुनिल श्रेष्ठ, हरिशरण खड्का, प्रमोद श्रेष्ठ, गीता श्रेष्ठ र कृष्णगोपाल अग्रवालविरुद्ध प्रहरीले यसपटक मुद्दा चलाएको छ।

गत वर्ष अनुसन्धानका क्रममा पक्राउ परेका ३३ जनामध्ये सातजना पुर्पक्षका लागि कारागार चलान भएका थिए। १४ जना धरौटीमा रिहा र तीन जना साधारण तारेखमा छुटेका थिए। प्रहरीले नौजना फरार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फरार रहेकामध्ये पछि अदालतमा हाजिर भएर धरौटी तिरी छुट्नेमा रवि भन्ने राजेश बोगटी, मल्लिका बज्राचार्य शाक्य, राजेन्द्रकुमार शाक्य र गीता श्रेष्ठ छन्।

सुन तस्करीमा संलग्न कारोबारी कार्की, तस्करीको सुन व्यवस्था मिलाउने दिलबन्धु थापा, कारोबारी सन्तोष काफ्ले र भरिया गोपाल शाही, एक्सरेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकाल र कर्मचारी श्यामकृष्ण श्रेष्ठलाई अदालतले जेल चलानको आदेश दिएको थियो। उनीहरुको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।

प्रकाशित: २४ वैशाख २०७५ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App