१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेटिङ मिलाउने कर्मचारी वर्षौसम्म एउटै अड्डामा

काठमाडौं– विमानस्थल अध्यागमन कक्षका कर्मचारी सेटिङ मिलाएर सरुवा भएको ठाउँमा नगई साविककै कार्यालयमा बस्न सफल भएका पाइएको छ।गत चैतको सुरुमै सामान्य प्रशासन मन्त्रालयले एकै पटक सरुवा गरेका विमानस्थलको अध्यागमन कक्षमा कार्यरत ३२ जना अधिकृतमध्ये राजनीतिक सेटिङ मिलाउन सफल केही कर्मचारी सरुवा गरिएको ठाउँमा नजाँदा सेवाग्राही मर्कामा परेका छन् ।

सामान्य प्रशासन मन्त्री पण्डितले सरुवा भएरपनि नजाने कर्मचारीलाई कारवाही गर्ने भनेपनि अध्यागमन कक्षका केही कर्मचारी सेटिङ मिलाएर अध्यागमनमै रहन सफल छन् ।

जाजरकोटको जुनीचाँदी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका अध्यागमनका अधिकृत ठाकुरप्रसाद भट्टराईले अहिलेसम्म रमाना लिन मानेका छैनन् । जुनिचाँदी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खत्रीले सामान्य प्रशासन मन्त्रालयले अधिकृत पठाइसकेको बताए पनि अहिलेसम्म अधिकृत आइनपुगेको गुनासो गरे । उनले आफूले विभागीय मन्त्रीलाई पटकपटक आग्रह गरेको र मन्त्रीले कर्मचारी पठाइसकेको बताए पनि अहिलेसम्म नासुका भरमा गाउँपालिका चलाउन परेको गुनासो गरे । गाउँपालिका अध्यक्ष खत्रीले भने, ‘हामीले हाम्रो गाउँपालिकाका लागि खटाइएको भनिएका ठाकुरप्रसाद भट्टराईलाई पटक पटक सम्पर्कसमेत गर्न खोज्यौँ, तर उहाँ सम्पर्कमै आउन चाहनुभएन ।’

त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा भट्टराई जस्तै शक्तिको आडमा वर्षौदेखि कार्यरत एक माओवादी नेताकी पत्नीलाई समेत कसैले सरुवा गर्न सकेको छैन ।

त्यसो त लामो समयदेखि अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमै कार्यरत भट्टराईको सामान्य प्रशासनले यसअघि चार पटक सरुवा गरिसकेको छ, तर राजनीतिक सेटिङ मिलाउन खप्पिस उनले सरकारी परिपत्रलाई बेवास्ता गर्दै  अध्यागमनमै आफूलाई निरन्तरता दिन सफल भएका छन् । यतिमात्र नभई कार्यालय प्रमुखलाई हातमा लिने, हातमा लिन नसके अख्तियारको डर देखाउनेसम्मका क्रियाकलापमा उनको संलग्नता हुने गरेको गुनासो अध्यागमनकै कर्मचारीबाट आउने गरेको छ । निजामति सेवा ऐनअनुसार सरुवा भएको ३५ दिनभित्र रमाना लिएर जानुपर्छ । तर शक्तिमा रहेका कर्मचारीलाई ऐनले छुन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने त्यस्ता कर्मचारीलाई आफूले तत्कालै तोकिएको कार्यालयमा पठाउने र नगए कारबाही गर्ने बताए । उनले भने, ‘खटाइएको ठाउँमा नजाने को को कर्मचारी छन्, मैले जानकारी नपाएको हुन सक्छु मलाई जानकारी दिएमा म तत्काल खटाउँछु, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्छु ।’

भट्टराईसँगै सरुवा भएका अन्य अधिकृतहरु सन्तोष पौडेल, चिरञ्जिवी नेपाल, सुरज तिम्सिना, नइन्द्र पौडेललगायत रमाना लिएर नयाँ अड्डामा पुगिसकेका छन् । यसरी सरुवा भएर गएका कतिपय कर्मचारीको भने अध्यागमनमा सरुवा भएर आएको ६ महिनासमेत पुगेको छैन ।

त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा भट्टराई जस्तै शक्तिको आडमा वर्षौदेखि कार्यरत एक माओवादी नेताकी पत्नीलाई समेत कसैले सरुवा गर्न सकेको छैन । अध्यागमन कक्षका अधिकृतहरुको पटकपटक सरुवा हुने गरेको भए पनि शक्तिमा रहेका अधिकृतहरु भने वर्षौदेखि एउटै स्थानमा बसिरहेका छन् । नेतादेखि तस्करसम्मको सेटिङ मिलाउन खप्पिस भएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयहरु गृह र सामान्य प्रशासनले हल्लाउन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कक्ष कर्मचारीका लागि ‘ड्रिम डेस्टिनेशन’ का रुपमा रहेको छ । सेटिङ मिलाएर त्यहाँ पुग्न कर्मचारीको हानथाप नै हुने गरेको छ । पहुँचमा भएका व्यक्तिमात्रै पुग्न सक्ने सो कक्षमा गृहमन्त्रालयले समयसमयमा आफ्नो ढंगले कर्मचारी खटाउने गरे पनि सेटिङ मिलाउनेको चलखेल बढी नै हुनेगर्छ।

प्रकाशित: २३ वैशाख २०७५ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App