१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आफै पढ्ने कलम!

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले विद्यालयलाई आफै पढ्न सक्ने टिचर टकिङ पेन प्रदान गरेको छ। अंग्रेजी माध्यमको पठन–पाठन प्रकृयालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले ६ वडाभित्रका सबै ३६ विद्यालयलाई सेन्सर भएको आफै पढ्न सक्ने टिचर टकिङ पेन, चार्जर तथा सो पेनका माध्यमबाट पढाई हुने पुस्तकको सेट प्रदान गरेको हो। नयाँ शैक्षिकसत्रबाट सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने अन्तिम तयारी गरेको गाउँपालिकाले अंग्रजी माध्यमको पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि नयाँ प्रविधिमा आधारिक शैक्षिक सामग्री भित्र्याइएको शिक्षा समितिका संयोजक बिदुरमान राईले बताए।

ऐसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्रका सबै बिद्यालयलाई टिचर टकिङ पेन भित्र्याएको केही समयपछि जन्तेढुंगा गाउँपालिकाले पनि सबै बिद्यालयलाई टिचर टकिङ पेन प्रदान गरेको हो। ऐसेलुखर्क गाउँपालिकाका विद्यालयलाई बैसाख पहिलो साता टिचर टकिङ पेन वितरण गरिएको थियो । टिचर टकिङ पेनका माध्यमबाट अंग्रेजी, नेपाली, फ्रेन्च र चाइनिज भाषा पढाउन सकिने शिक्षा समितिका संयोजक राईले बताए।

सामुदायीक विद्यालयप्रतिको घट्दो मोहलाई बढाउनका लागि जन्तेढुंगा गाउँपालिकाले यस शैक्षिकसत्रबाट गाउँपालिकाभित्र रहेका विद्यालयका कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरिरहेको छ। काठ्माण्डौंको एक निजी बिद्यालयसँगको सहकार्यमा विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने पुर्वतयारी स्वरुप जन्तेढुंगामा बुधबार विभिन्न बिद्यालयका प्रअसँग अन्तरक्रीया गरिएको छ। यस बाहेक प्रतिविद्यालय एक शिक्षक र एक शिक्षिकालाई सहभागी गराएर बिहिबारदेखि तीन दिने प्रशिक्षण थालिएको संयोजक राईले बताए। कक्षा १ बाट सुरु हुने अंग्रेजी माध्यमको पठन–पाठनलाई क्रमशः कक्षा २, ३ हुँदै कक्षा १० सम्म पु¥याइने गाउँपालिकाले जनाएको छ। अंग्रेजी माध्यमबाट पठन–पाठनका लागि रातोबंगला स्कुलसँग तीन वर्षे सम्झौता भएको छ। ‘गाउँपालिकाका सबै विद्यालयमा अंग्रेजीलाई अनिवार्य गर्ने निर्णय गरेका छौँ,’ शिक्षा समितिका संयोजक राईले भने, ‘अंग्रेजी माध्यमलाई सफल बनाउनका लागि हामीले टिचर टकिङ पेन वितरण गरेका हौँ।’

सेन्सरको लोगो अंकित कितावमा लेखिएका अक्षर, शव्द, वाक्य र अनुच्छेद बाचन गर्ने क्षमता भएको कलम कक्षामा बिद्यार्थीलाई अंग्रेजी माध्यमबाट पढाउन उपयोगी हुने अपेक्षा गरिएको गाउँपालिका प्रमुख शंकर राईले बताए। यूरोप–अमेरिकाबाट बिश्वमै तीन वर्षदेखि र भारतका केही भागमा गत वर्षबाट अभ्यासमा आएको टिचर टकिङ पेन सहितको शैक्षिक सामग्रीको सेटलाई प्रतिवटा १२ हजारका दरले खरिद गरेर ल्याइएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७५ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App