१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले र माओवादी विघटनको दिशामा : दाहाल

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको दल र एमाले केही दिनमै विघटन भई नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन्।

साम्यवादी चिन्तक कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् । एकआपसमा एकता गर्ने घोषणासहित वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका यी दुई दल अहिले सत्तामा छन् ।

कार्ल माक्र्सको जन्मजयन्तीका अवसरमा आयोजित दुई दिने राष्ट्रिय गोष्ठी उद्घाटन समारोहमा उपस्थित सयौं नेता कार्यकर्ता माझ दाहालले भने, ‘हामी माओवादी र एमाले विघटनको तयारीमा जुटेका छौं र नयाँ कम्युनिष्ट पार्टी निमार्णमा लागेका छौं । हामी दुई पार्टीमात्रै होइन अन्य साना कम्युनिस्ट र वामपन्थी शक्तिसँग पनि एकताबद्ध हुन खोजिरहेका छौं तर केहीलाई चाहिँ सम्झाउन सकिएको छैन ।’ उनका अनुसार कम्युनिस्ट शक्तिहरुबीचको एकता जनताको म्यान्डेट र देशको आवश्यकता हो।

दाहालले गौतम बुद्धले २६ सय वर्षअघि शान्तिको सन्देश यसै भूमि (नेपाल) बााट दिएको स्मरण गर्दै अब कम्युनिस्ट र माक्र्सवादी विचारधाराको विकास पनि यहींबाटै हुने बताए । ‘आजको माक्र्सवाद : लोकतन्त्र, समृद्धि र समाजवाद’ भन्ने मूल नारालाई आत्मसात् गरेर अघि बढ्नुपर्ने दाहालको भनाइ थियो ।

नेपालका कम्युनिस्ट पार्टीका नेताहरु उपभोक्तावादी र व्यक्तिवादी हुँदै गएको भन्दै दाहालले चिन्ता व्यक्त गरे । ‘हाम्रो पुस्ताले संघर्षका दिनमा निकै दुःख गर्‍यो, राजनीतिक चेतना जगाउने–फैलाउनेदेखि संगठन निमार्णसम्म गर्‍यो, फुर्सदमा पढने काम गथ्र्यौं’ दाहालले भने, ‘अहिलेका नेता र कार्यकर्तामा भने आफूलाई केन्द्रमा राखेर कुरा गर्ने, सिद्धान्त र निष्ठा छाडने प्रवृति बढेको देख्छु ।’ बुर्जुवा र पेटी बुर्जुवातर्फ कार्यकर्ता र नेताको तीव्र आकर्षणले कम्युनिस्ट आन्दोलन धरापमा पर्ने दाहालले बताए ।बुर्जुवाहरुले पनि महान दार्शनिकका रुपमा कार्ल माक्र्सलाई स्विकारेको उल्लेख गर्दै दाहालले माक्र्सवाद विज्ञान भएको बताए।

‘माक्र्स विलक्षण प्रतिभाका धनी वैज्ञानिक, दार्शनिक र क्रान्तिकारी पनि हुनुहुन्थ्यो,’ दाहालले भने, ‘ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद र वैज्ञानिक समाजवादको जुन परिकल्पना उहाँले गर्नुभयो र संसारलाई बदल्न खोज्नुभयो, त्यो आजसम्म कसैले गर्न सकेको छैन्। पेरिस कम्युन होस् वा १८४८ को संघर्षमा आफैं उपस्थित भएर सहभागिता जनाउने जस्ता कार्य गरेर माक्र्सले आफूलाई क्रान्तिकारी प्रमाणित गरेका उनले बताए।

‘अब केही दिनमै नयाँ कम्युनिस्ट पार्टी जन्मिन्छ । नेपालमासकम्युनिस्ट शक्तिहरुबीचको एकता जनताको म्यान्डेट र देशको आवश्यकता हो ।’

माक्र्सले प्रतिपादन गरेका सिद्धान्त, विचार र दृष्टिकोणलाई संसारले स्विकारेको उल्लेख गर्दै दाहालले ‘ब्याक टु माक्र्स’ भन्दै माक्र्सवादमाथि पुनः छलफल सुरु भएको भन्दै खुसी व्यक्त गरे ।यसैगरी एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाज र विश्वलाई बुझ्ने विषयमा माक्र्सले ठूलो अध्ययन गरेको बताए।

‘माक्र्सवादकै कारण संसारलाई बुझ्ने र बदल्नेबारे विश्वभर क्रान्ति भएका छन,’ खनालले भने, ‘मालिक र श्रमिकका बीच हुने विभेदको अन्त्य र जनताको सत्ताबारे दुनियाँलाई प्रस्ट्याउने काम उनै माक्र्सले गरेका थिए ।’ माक्र्सवाद अध्ययन गर्नेले मात्रै समाज र विश्व बुझ्न सक्ने खनालको भनाइ थियो ।अर्का पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले पनि माक्र्सवादको सान्दर्भिकता बढ्दै गएको दाबी गरे । उनले नयाँ पुस्तालाई माक्र्सवाद अध्ययन गराउने अभियानको प्रशंसा पनि गरे।

एमाले नेता घनश्याम भुसालको अध्यक्षतामा भएको उक्त गोष्ठीमा करिब एक हजारजनाले माक्र्सवादबारे अध्ययन गर्न पाउने भएका छन् । सो अभियानअन्तर्गत कम्तीमा १० हजार युवालाई माक्र्सवादबारे पढाउने लक्ष्य राखिएको आयोजक पक्षले जनाएको छ ।

 

प्रकाशित: २२ वैशाख २०७५ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App