१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

तस्विर : दिपेश श्रेष्ठ/ नागरिक

काठमाडौं-सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेका यातायात व्यवसायीविरुद्ध सरकार झनै कडा भएको छ । सरकारले रुट परमिट खारेजसम्मका कदम अगाडि बढाएको छ।

व्यवसायीले देशभर सार्वजनिक यातायात बन्द गराएपछि त्यसविरुद्ध सरकारले रुट परमिट खारेज, बैंक खाता रोक्का, व्यवसायीको सम्पत्ति छानबिन, नयाँलाई रुट परमिट, साना व्यवसायीलाई सम्बोधन, नयाँ बसपार्कस्थित समितिका काउन्टर खाली गराउनेलगायतका कदम चालेको छ ।

सरकारले सार्वजनिक यातायात व्यवसायी समितिका बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा शुक्रबार बसेको बैठकले समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागलाइ निर्देशन दिएको छ । व्यवसायीले यातायात ठप्प बनाएपछि गृहमन्त्री थापाले यातायात व्यवसायी समितिका पदाधिकारीलाई नियन्त्रणमा लिन आदेश दिएका थिए।यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले अटेर गर्दै बन्द गर्ने व्यवसायीविरुद्ध नचुक्ने बताए।

उनले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि सरकार त्यसलाई पेलेरै अघि बढ्छ, व्यवसायीलाई घुुँडा टेकाएरै छोड्छ, त्यसका लागि सरकार शुक्रबारबाटै एक्सनमा उत्रिएको छ ।’ पहिलो चरणमा नयाँ बसपार्कदेखि पुरानो बसपार्क रुटमा चल्ने २६ वटा माइक्रोबसको रुट परमिट शुक्रबार खारेज गरेको उनले बताए ।

सरकारले बन्दकर्ता व्यवसायीविरुद्ध रुट परमिट खारेज, बैंक खाता रोक्का, सम्पत्ति छानबिन, नयाँलाई रुट परमिट, साना व्यवसायीलाई सम्बोधन, नयाँ बसपार्कस्थित समितिका काउन्टर खाली गराउनेलगायतका कदम चालेको छ।

सरकारले यातयात व्यवसायीलाई नयाँ बसपार्कमा टिकट काउन्टरसमेत राख्न नदिने भएको छ । विभागका अनुसार बसपार्कमा कम्पनीमा दर्ता भएका यातायात व्यवसायीले मात्रै काउन्टर राख्न पाउनेछन्।

विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई समितिका काउन्टर खाली गराएर कम्पनीका काउन्टर राख्न निर्देशन दिएको छ । यस्तै नयाँ बसपार्क–पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको रुट परमिट खारेज भएको छ । विभागले शुक्रबार नै ती माइक्रोको रुट परमिट खारेज गरेको हो ।
सिन्डिकेटधारीलाई निस्तेज पार्न सरकारले प्रोप्राइटरी फर्मका रुपमा एउटा सार्वजनिक सवारीसाधन पनि दर्ता गर्ने व्यवस्था मिलाएका छ।

योसँगै एउटामात्रै सवारीसाधन हुने व्यवसायीले पनि फर्ममा दर्ता गराएर पञ्जीकरण गर्न सक्नेछन् । कम्पनी ऐनअनुसार दर्ता गर्दा पाँचवटा सार्वजनिक सवारीसाधन हुनुपर्ने व्यवस्थाले साना व्यवसायीलाई मार परेको गुनासो आएपछि सरकारले नयाँ व्यवस्था गरेको हो ।

प्रहरीले सिन्डिकेटका पक्षमा यातायात बन्द गराउँदै हिँडेका ८२ जना व्यवसायीलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । उनले गृह मन्त्रालयको आदेशमा व्यवसायीलाई समातेर थुनामा राखिएको जानकारी दिए । पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि छन् । उनी महानगरीय प्रहरी परिसर टेकुको नियन्त्रणमा छन्।

यातायात सेवा प्रभावित

महासंघ नेतृत्वमा भएको बन्दका कारण शुक्रबार देशभरि यातायात सेवा प्रभावित भयो । लामो दूरीका यात्रुले सास्ती बेहोर्नुपर्‍यो । राजधानीमा भने केही सवारी साधन चलेका कारण सर्वसाधारणले धेरै सास्ती भने खेप्नुपरेन।

कम्पनी ऐनअन्तर्गत दर्ता भएका मेट्रोसिटी, साझा यातायात, धुम्बाराही, बाबा गोकर्णेश्वर, सेतो टेम्पो, मयूर लगायतका कम्पनीका यातायातका साधन भने बिहानैदेखि गुडिरहेका थिए।
प्रवक्ता अर्यालका अनुसार कम्पनी ऐनअन्तर्गत दर्ता भएका सार्वजनिक सवारीसाधन भने देशभर चले । सवारीसाधन चलाउन अटेर गर्ने व्यवसायीलाई कारबाही गरेरै भए पनि घुँडा टेकाएरै छाड्ने उनले बताए।

उनले भने, ‘यो अवधिमा रुट परमिट लिन आउने नयाँ व्यवसायीलाई स्वागत गर्दै यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउँछौं ।’ उनले व्यवसायीले जति दिन सवारी ठप्प बनाए पनि यातायात क्षेत्रको सिन्डिकेट कुनै पनि हालतमा मान्य नहुने बताए ।उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले सिन्डिकेट पक्षधर व्यवसायी सरकार र आम नागरिकको विरुद्ध लागेकाले उनीहरुमाथि राज्यविरुद्धको अपराध मुद्दामा जेल हाल्नुपर्ने बताए।

‘अब व्यवसायीहरुको सम्पत्ति छानबिन हुनुपर्छ, उनीहरुले राज्य र नागरिकविरुद्ध गरेको हस्तक्षेपलाई गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने, ‘व्यवसायीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ संसारमा यातायात क्षेत्रमा कहीं पनि यस्तो गतिविधि नहुने भन्दै थपे, ‘यति ज्यादती भएको नेपालमा मात्रै हो, यहाँका व्यवसायी पारदर्शी नभएकाले जनताले दुःख भोग्नुपरेको छ।’
यता महासंघका अध्यक्ष सरोज सिटौलाले भने सरकारले गरिखानेलाई थिचेको आरोप लगाएका छन् । ‘हामीले हाम्रो कदम रोक्दैनौं, सरकारले व्यवसायीको अधिकार कुण्ठित गर्न पाउँदैन’, उनले भने, ‘व्यवसायीले पनि गरिखान पाउनुपर्छ ।’

यात्रुलाई ट्राफिक प्रहरीको सहयोग
व्यवसायीका कारण यातायात प्रभावित हुँदा अप्ठ्यारोमा परेका यात्रुलाई ट्राफिक प्रहरीले सहयोग गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी यात्रुको आवागमन सहज बनाउन जुटेको जनाएको छ।

आवश्यक परे टुरिस्ट बस सञ्चालन गर्ने निर्णय महाशाखाले जनाएको छ । महाशाखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले उपत्यकामा यातायातको ठूलो समस्या नदेखिएको बताए । उनले यात्रुको चाप भएको ठाउँमा मिलाएर बस व्यवस्थापन गरेको जानकारी दिए । ‘यो क्रम सिन्डिकेट नटुंगिएसम्म लागू हुन्छ’, उनले भने।

प्रकाशित: २२ वैशाख २०७५ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App