१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुल्चोकको दोस्रो जित

काठमाडौं- पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक 'बी' डिभिजन लिगमा आइतबार दोस्रो जित हासिल गरेको छ। शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा पुल्चोकले सामाजिक युथ क्लबलाई ४–१ ले हरायो। जितसँगै पुल्चोक लिग अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ।

तीन खेलमा दुई जित हासिल गरेको पुल्चोकले ६ अंक जोडेको छ। पुल्चोकले लिगको अघिल्लो खेलमा सातदोबाटो युथ क्लबलाई ३–० को नतिजामा हराएको थियो।  अर्को खेलमा टोली टुसाल युथ क्लबसँग ५–४ ले पराजित भएको थियो। 

आइतबार कमल थापाले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए। कमलले मध्यान्तर हुन ८ मिनेट बाँकी रहँदा गोल गरेका थिए। सामाजिक युथका सुवास तामाङले ५५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर आशिष गुरुङले ६६औं मिनेटमा गोल गर्दै पुल्चोकलाई २–१ ले अघि बढाए। पुल्चोकका लागी पूर्णबहादुर गुरुङले ७५ र मिलन गुरुङले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेर विजयअन्तर फराकिलो पारे। जारी लिगमा सामाजिक युथले खराव नतिजालाई रोक्न सकेको छैन। टोलीले अहिलेसम्म खेलेका लिगका तीनै खेलमा अंक लिन सकेको छैन।

यसैगरी आइतबार भएको अर्को खेलमा बाँसबारी क्लब र खुमलटार युथ क्लबले १–१ को बराबरी नतिजा निकालेका छन्। बराबरीपछि खुमलटारले लिगमा पहिलो अंक जोडेको छ। २७औं मिनेटमा विनोद गुरुङले गोल गरेपछि बाँसबारीले अग्रता लिएको थियो। खुमलटारका ठाकुर श्रेष्ठले ५२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

बाँसबारी ५ अंकका साथ लिगको छैटौं स्थानमा रहँदा १ अंकमा सिमित खुमलटार १२औं स्थानमा छ।

लिगमा तीन खेल खेलिसकेका न्यु रोड टिम (एनआरटी) र रानी पोखरी कर्नर टिम (आरसिटी)को समान ७ अंक छ। गोलभिन्नताको आधारमा एनआरटी शिर्ष स्थानमा छ भने आरसिटी दोस्रो स्थानमा छ।

प्रकाशित: १३ भाद्र २०७३ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App