१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

रामपुर – पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पुर्‍याएको छ। तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो। 

जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पुर्‍याएको छ। तानसेन नगरपालिका–१४ अर्गली बस्ने कृषक निर्मल रानाले २० रोपनी जमिनमा लगाएको काँक्रा, सिमी, करेला असिनाले हिर्काएर नष्ट हुँदा करीब ६ लाख बराबरको नोक्सानी भएको उनले बताए। 

तानसेन नगरपालिका–९ का धुव्रराज भण्डारीले पनि २३ रोपनी जमिनमा लगाएको तरकारी बाली असिनाले नष्ट गर्दा १० लाख बराबरको क्षति पुगेको उनको गुनासो थियो। तानसेन नगरपालिका–७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काँक्रा नष्ट हुँदा रू आठ लाख बराबरको क्षति भएको छ। पन्ध्र वर्षयता ठूलो असिनापानी परेकाले यस वर्ष बालीनालीमा ठूलो नोक्सान पुगेको कृषकहरू बताउँछन्। 

तानसेन नगरपालिकाभित्र मात्र असिनापानीका कारण रू चार करोड ८० लाख बराबरको तरकारी क्षति भएको छ। २०० हेक्टर क्षेत्रफलमा एक हजार ६०० मेट्रिक टन तरकारी असिनाले नष्ट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए। किसानले लगाएको ८० प्रतिशत तरकारी असिनाका कारण क्षति भएको प्रारम्भिक विवरण आएको भए पनि क्षति अझै बढ्न सक्ने उनको भनाइ थियो। 

हालसम्म प्राप्त जानकारीअनुसार तानसेन नगरपालिका–९ दमकडामा ७० हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको छ भने वडा नं ७ सुन्दरगाउँमा ५० हेक्टर, वडा नं ८ को मदनपोखरामा २५ हेक्टर, वडा नं ६ को बर्तुङ्गमा २० हेक्टर, वडा नं१४ को अर्गलीमा १४ हेक्टर जमीनमा र अन्य वडामा गरी २०० हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट हुँदा किसानलाई करिव रू चार करोड ८० लाख बराबरको क्षतिको विवरण आएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेको भनाइ थियो। 

यहाँका किसानले बेमौसमी काँक्रा, करेला, सिमी, लौका, भन्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यावसायिक खेती गर्दै आएका थिए। फल लाग्दै गरेका सुन्तला, आँप, काफलमा पनि असिनापानीले पूर्ण रुपमा नष्ट गरेको छ। अत्यधिक असिनाको कारण व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे, जल्पा लगायतका किसानको करोडौँ नोक्सान हुँदा कृषक चिन्तित भएका हुन्। भर्खरै खेतबारीमा उम्रेका मकैमा पनि असिनापानीले क्षति पुर्‍याएको छ। 

प्रकाशित: २० वैशाख २०७५ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App