१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

माफियाको भरमा कर्णालीको हवार्इ सेवा

बाँके– नेपालगन्ज राँझा विमानस्थल नजिक ट्राभल्स व्यावसाय गरेका मोहम्मद आयतुल्ला  रहमानले ६ महिना अघि १५ यात्रुलाई हुम्ला पठाउँदै थिए। हुम्ला पठाउनका लागि उनले तारा एयरको विमान चार्टर गरे। कर्णाली जाने यात्रुलाई पठाउने तयारी गरिरहदा उनी दंग थिए। नयाँ व्यावसाय सुरु गरेका मोहम्मदले हुम्ला जाने यात्रुलाई माला र खादा लगाएर विदा गर्ने योजना बनाए। विहान गर्ने विदाइका लागि खादा र माला किनेर राखे। तर विहान उनले आफनो ट्रार्भल्सबाट जाने तयारीमा रहेका यात्रुलाई नेपालगन्जबाट हुम्ला पठाउन सकेनन्।

नेपालगन्जबाट हुम्ला पुगेर फर्कनको लागि चार्टर गरेको १ लाख ७० हजार रुपैयाँमा मोहम्मदले एक दिन अघि बुझाई सकेका थिए एयरलायन्सलाई। तर विहान यात्रीलाई पठाउन सकेनन उनले। भाडा वापत लिएको रकम फिर्ता गरे। त्यतिबेला सीता एयर र राँझास्थित विमानस्थलकै कर्मचारीको मिलेमतोमा चार्टर गरेर पनि यात्रु पठाउन नसकेको मोहम्मद बताउछन्।

नेपालगन्ज विमानस्थल माफियाको पकडमा भएकोले यस्तो भएको उनको बुझाई छ। ट्राभल्स क्षेत्रमा नयाँ व्यावसाय गर्न सहज नभएको उनी बताउँछन्। जसले यात्रुहरु एउटा सिमित समुहको माध्यम बिना यात्रा गर्न कठिन भएकोे उनले अनुभव सुनाए। विमानस्थलमा हुने गरेको बेथितीका कारण आफूले व्यावसाय बन्द गर्ने निर्णय गरेको मोहम्मदले बताए।

ट्राभल्स व्यावसायमा ‘इमानदाररिताको काम छैन’ भन्ने पाठ सिकेको बताउँछन अहिले उनी। पहाडी जिल्लाको हवाई सेवामा देखिएको बेथितीलाई मलजल गर्ने काम नेपालगन्ज नागरिक उडययन प्राधिकरणले गरिरहेको आरोप उनी लगाउँछन।

मुगु, हुम्ला, डोल्पा, जुम्ला, बाजुरा लगायतका जिल्लामा नेपालगन्ज विमान स्थल उडान भर्न सकिन्छ। यातायात पहुँचबाट टाढा रहेको प्रदेश हो कर्णाली। नेपालगन्ज र सुर्खेत आउँदा अधिका‌ंश जनता हवाई सेवामा निर्भर हुनुपर्ने बाध्यता छ। तर हवाई सेवामा भएको बेथिती र मनोमानीले सर्वसाधारणले सहजै हवाई टिकट पाउन सक्दैनन। दुर्घटना र  बिरामीले समयमा उपचार गर्न नपाएर मृत्यु हुनु कर्णालीका लागि नौलो कुरा नभएको बताउँछन् एक कर्मचारी।

डोल्पाको स्वास्थ्य सेवामा काम गरिरहेका ति कर्मचारी कर्णालीको हवाई सेवा सर्वसाधारण र गरिबको पहुँच भन्दा टाढा रहेको बताउँछन्। विमान कम्पनी र काग्रो माफियाले कर्णालीको हवाई सेवालाई बद्नाम गराइरहेको उनले बताए। उनले भने, ‘मैले टिकट काटेर पनि दुइ पटक विमान चढन पाएन। मेरो स्थानमा विमान कम्पनीका कर्मचारीले अरुलाई नै उडाए। मैले त्यसको बिरोध गरे। पछि मलाई अर्को दिन पठाए। कर्णालीमा उडान कम छ तर एयरपोर्टमा भएका माफियाले गर्दा झन समस्या थपिरहेको छ। यसलार्इ हेर्ने राज्यको निकाय नागरिक उडयन प्राधिकरण मुखदर्शक भएर हेरिरहेको छ।’ उनी थप्छन, ‘माफियाको नियन्त्रणमा छ कर्णालीको हवाई सेवा। बेथितीलाई रोक्ने निकाय मौन छ। एयरपोर्टमा काग्रो र विमान कम्पनीको मनोमानी चल्छ। जसले उनीहरुलाई खुसी बनायो। उही जान पाउँछ। कर्णाली यात्रा गर्नु पर्दा राज्य नभएको महसुस हुन्छ। कानून विना चलिरहेको देश जस्तो लाग्छ। पहुँचवाला र एयरलायन्स निकट ब्यक्तिले सहजै टिकट पाउँछन्। तर बिरामी भएर मर्न लागेकोले टिकट पाउँदैनन कर्णालीमा।’

नेपालगन्ज नागरिक उडयन प्राधिकरण प्रमुख प्रतावबाबु तिवारी टिकटमा भएको बेथिती बारे प्रमाण लिएर आए कारबाही गर्ने बताउँछन्। उनले भने, ‘पहाडी जिल्लामा निजी कम्पनीका एयरलायन्सले फाइदा हेरेर कार्गोलाई प्राथमिकता दिन्छन। तर अहिले हामीले पहिला नियमति उडान गरेरमात्र चार्टर भर्न निर्देशन दिएको छौं। टिकटमा भैरहेको दलालीलाई हामीले रोक्ने प्रयास गरेको छौं। सेवाग्राही प्रमाण सहित आए हामी एयरलायन्सलाई कारबाही गर्छाैं।’

नेपालगन्ज नागरिक उड्डयन प्राधिकरण उप निर्देशक एवम सूचना अधिकारी कृष्ण प्रसाद गौतमले टिकट नपाएको गुनासो बाहिर सुनिएपछि सुधारको लागि प्रयास भैरहेको बताए। उनले भने, ‘एयरलायन्स कम्पनीले दिने टिकटलाई न्यायसंगत बनाउन हामीले निर्णय गरेका छौं। बिरामी र अशक्तलाई प्राथमिकतामा राख्ने समझदारी भएको छ।’ तिवारी र गौतमले भनेजस्तो नेपालगन्जस्थित राझा विमानस्थलबाट कर्णाली जाने सर्वसाधरणले सहजै टिकट पाउनु ठुलो युद्ध जिते सरह भएको बताउँछन मोहम्मद। उनले थपे, ‘नेपाल एयरलायन्सको लाइनमा बसेको आधारमा टिकट पाउनु युद्ध जितेजस्तै हो। निजी कम्पनीले पहुँच, राजनीतिक प्रभाव र आर्थिक फाइदा हेरेर टिकट दिन्छन्। अशक्त र बिरामी भएपनि उनीहरुले सहजै टिकट पाउँदैनन।’

प्रकाशित: १९ वैशाख २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App