१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रहेनन् जातीय आन्दोलनका अगुवा

काठमाडौं- नेपालमा जातीय पहिचानलाई सांस्कृतिकबाट राजनीतिक मुद्दामा बदल्न सक्रिय भूमिका खेल्ने जनजाति नेता गोरेबहादुर खपांगीको शनिबार राति निधन भएको छ। पञ्चायतकालमा वामपन्थी राजनीतिमा सक्रिय रहेका खपांगीले बहुदल स्थापनापछि जनजाति पक्षमा काम गर्न राजनीतिक दल खोले र राजाको सक्रिय शासनकालमा मन्त्रीसमेत बने।

'संघीयता, जातीय आधारमा समानुपातिक प्रतिनिधित्व जस्तो विषय सुरुमै उठाउने नेतामा पर्नुहुन्छ,'  नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष बालकृष्ण माबुहाङले नागरिकसँग भने, 'आदिवासी र जनजाति अधिकारको विषयमा नेकपा एमालेसँग द्वन्द्व बढेपछि उहाँले छाड्नुभएको थियो।'

शिक्षक आन्दोलनमा सक्रिय रहेका खपांगी नेपालजस्तो देशमा जातीय मुक्ति नभई वर्गीय मुक्ति हुँदैन भन्ने धारणा राख्थे। २०३६ सालको जनमत संग्रहको समयमा उनी रामेछापमा हेडमास्टर थिए। पञ्चायतकालमा अर्धभूमिगत अवस्थामा राजनीतिमा सक्रिय भएपछि पक्राउ परेका उनले नौ महिना जलेश्वर जेलमा बिताए।

२०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा नेकपा मालेको तर्फबाट उनी जनपक्षीय उम्मेदवार बनेका थिए। पञ्चायतकालमै लांघाली संघ खोलेका खपांगीको मगर समुदायमा अहिले पनि राम्रो सम्मान छ।

बहुदल आएपछि एमएस थापाको नेतृत्वमा गठन भएको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव भए। त्यसै पार्टीबाट पहिलो प्रतिनिधिसभामा सुनसरी र मध्यावधि निर्वाचनमा पाल्पाबाट उम्मेदवार बने। तर, दुवै निर्वाचनमा खासै उपलब्धि हासिल गर्न सकेनन्।

त्यसपछि पनि उनले महिला, मुसलमान, आदिवासी जनजाति र दलितको पक्षमा आवाज उठाउँदै आए।

नेपाल मगर संघको संस्थापक अध्यक्ष रहेका उनी राजाको सक्रिय शासन (२०५९ असोज १८) कालमा  लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भए। कुनै समय आदिवासी जनजातिको चाड होइन भन्दै दसैं बहिष्कार अभियान चलाएका उनी मन्त्री हुँदा राजाको हातबाट टीका थापेपछि विवादमा परे। तर, आफ्नो पदका कारणले टीका लगाएको बताउँदै उनले टीका बहिष्कार अभियानलाई निरन्तरता दिए। राष्ट्रिय औपचारिक निर्णय गरेर पठाए पनि २०६२–०६३ को क्रान्तिपछि पहिचानको राजनीति मुखर भएर आउँदा पनि उनी गुमनामजस्तै रहे। उनको पार्टीले समानुपातिकतर्फ भने केही सिट प्राप्त गर्न सफल भएको थियो।

मोटरसाइकले ठक्कर दिएपछि गम्भीर घाइते भएका खपांगी ४० महिनादेखि कोमामा थिए। 'नेपालमा उपचार सम्भव नभएपछि सिंगापुरमा समेत लगेर उहाँको उपचार भयो,' खपांगीसँग निकट रहेका सञ्जोग लाफा मगरले भने, 'तर स्वास्थ्यमा कुनै सुधार हुन सकेन।' यस अवधिमा उपचारक्रममा मात्रै ३ करोड रुपैयाँ खर्च भएको उनले बताए। खपांगीका लागि सरकारले १३ लाख रुपैयाँ उपलब्ध गराए पनि अधिकांश खर्च चन्दाबाटै जुटाएको मगरले जनाए।

उदयपुरको थाक्लोमा जन्मिएका खपांगी महोत्तरीको रामनगरमा हुर्किए र नजिकैको गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट २०२० सालमा एसएलसी पास गरे।

एसएलसी दिएपछि एक वर्ष सोही विद्यालयमा पढाएर पैसाको जोहो गरी जनकपुरबाट आइए पास गरे। त्यसपछि फेरि एक वर्ष पढाएर उनले स्नातक तहको अध्ययन गरेका थिए।

'पढाइ खर्च जुटाउन उहाँले त्यस्तो गर्नुभएको थियो,' नेकपा एमाले महोत्तरीका नेता पद्मप्रसाद सुवेदीले भने, '३–४ ब्याच अघि भए पनि हामी आइए पढ्दा भर्खर बिए पढ्न थाल्नुभएको थियो।' पढ्दा जनकपुरमा डेरा र शिक्षक आन्दोलनको समयमा जेलमा सँगै बसेका सुवेदीले भने, 'पहिला सर हुनुहुन्थ्यो। पछि साथीजस्तो हुनुभयो। जीवन साह्रै सरल थियो।'

गोरा, अग्ला फ्रेन्च कट दाह्री पाल्ने खपांगी भियतनामी नेता हो ची मिन्ह जस्ता देखिन्थे। ७० वर्षीय उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: १३ भाद्र २०७३ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App