१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘भारतसँग सम्बन्ध विकासबारे कुरा भयो'

काठमाडौं- गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीका विशेष दूतका रूपमा भारत भ्रमण गर्दा दुई देशको सम्बन्ध विकास तथा उच्च तहको भ्रमणलगायत विषयमा छलफल गरेको बताएका छन्। आफ्नो भ्रमणबारे आइतबार व्यवस्थापिका संसद्लाई जानकारी गराउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको पत्र भारतीय समकक्षीलाई हस्तान्तरण गरेको बताए। राष्ट्रपति भण्डारीको पत्रमा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरिएको र प्रधानमन्त्री दाहालको पत्रमा भारतीय प्रधानमन्त्रीलाई दुई देशको सम्बन्ध, विकास र सहयोग विस्तारबारे आग्रह गरिएको निधिले जानकारी दिए।

'नयाँ सरकार गठन भएपश्चात दुई देशबीच सम्बन्ध अझ विकास र सुधार गर्ने विषयमा भारतीय सरकारको पूर्ण समर्थन पाउने कुरा पत्रमा थियो,' उनले पत्रको विवरणबारे संसद्लाई जानकारी गराउँदै भने, 'नेपालको विकासमा भारतीय सहयोग तथा नेपाल–भारतबीच भविष्यमा हुने उच्च तहको भ्रमणको विषय पत्रमा उल्लेख छ।'

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्› मोदीलाई पठाएको पत्रबारे जानकारी माग गरेपछि गृहमन्त्री निधिले आइतबार संसद् बैठकमा त्यसबारे जानकारी गराएका हुन्।

नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरेका नेतासँग भेटेर सरकारको पहिलो प्राथमिकतामा सहमति र सहयोगबारे कुरा गरेको उनले संसद्मा बताए। नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गर्न लागेको विषय पनि भारतीय नेतालाई अवगत गराएको उनले प्रष्ट पारे।

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्› मोदीलाई पठाएको पत्रबारे जानकारी मागेको थियो। 'प्रधानमन्त्रीबाट भारतका प्रधानमन्त्रीलाई लेखेको विषय सामान्य हो भने यो संसद्ले जानकारी राख्ने अधिकार राख्छ कि राख्दैन?' उनको प्रश्न थियो, ‘जानकारी राख्छ भने त्यस विषयमा सरकारले जवाफ दिनुपर्‍यो।'

उनले मुलुक द्वन्द्व वा अप्ठेरो अवस्थामा नरहेको उल्लेख गर्दै किन विशेष दूत पठाइयो भन्दै प्रश्नसमेत गरे। 'कूटनीतिक मान्यताअनुसार विशेष प्रतिनिधिको आफ्नै परिभाषा छ,' उनले भने, ‘कुनै समस्या छ भने, द्वन्द्वको अवस्था छ भने पठाइन्छ। कुन त्यस्तो भूमरी सिर्जन भयो र उपप्रधानमन्त्री जस्तो व्यक्ति किन पठाइयो?'

उनले छिमेकी मुलुकसँग एमाले नतेृत्वको सरकारले राम्रो कूटनीतिक सम्बन्ध कायम गरेको दाबी गरे। भारतलाई संविधान संशोधनका विषयमा पत्राचार गरेको कुरा आएको भन्दै उनले त्यसबारे जानकारी माग गरे। 'नेपाली जनताले आफैँ निर्णय गर्नुपर्ने संविधान संशोधनको विषयमा हाम्रा प्रधानमन्त्रीले छिमेकी भारतका प्रधानमन्त्रीलाई पत्राचार गर्नुभएको भन्ने सुन्न र पढ्नमा आएको छ,' उनले भने, ‘स्वाभिमानमा असर गर्ने कुनै काम नगरियोस्।'

सभामुख ओनसरी घर्तीले केही व्यक्तिलाई आन्दोलनमा उत्रन आह्वान गरेको समाचार सुनिएको भन्दै त्यसबारे समेत जवाफ मागेका थिए। ‘संविधान निर्माणका लागि, कानुन निर्माणका लागि, दिगोशान्तिका लागि काम गरिरहेको संसद्का सभामुख महोदयबाट आन्दोलनमा कसैलाई आह्वान गरिएको पढेँ,' उनले भने,  'म त्यसको जानकारी पाउन आवश्यक ठान्छु।'

प्रकाशित: १३ भाद्र २०७३ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App