१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आरजुले ३ करोडमा किनेको घरमा देउवाको बास, मुख्यमन्त्री बोलाएर के भने ?

धनगढी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार भेट गरेका छन्। 

निर्वाचनका बेला पत्नी आरजु देउवा राणाले किनेको घरमा बसिरहेका सभापति देउवा भेट्न मुख्यमन्त्री भट्ट त्यहाँ पुगेका थिए। भेटमा देउवाले सबैलाई मिलाएर लैजान मुख्यमन्त्रीलाई सुझाव दिएका छन्। ‘प्रदेशको विकास र समृद्धिका लागि सबैलाई मिलाएर अघि बढ्नुस्। म सधै तपाईको साथमा छुँ, मेरो पूरा सहयोग रहन्छ’, भेटमा सभापति देउवाको भनाई उद्धृत गर्दै मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीले बताए। 

भेटमा प्रदेशको विकास र योजनाका बारेमा कुरा भएको उनले बताए। ‘हाम्रो प्रदेशको प्रतिनिधित्व गर्ने शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री भएकाले देउवाकै निवासमा गएर मुख्यमन्त्रीले भेट गरेर सुझाव मागेका हुन’, उनले जानकारी दिए। प्रदेशको राजधानी र नामका बारेमा पनि भेटमा कुरा भएको थियो। सभापति देउवाले स्थायी राजधानी सबैसँग सल्लाह गरेर बनाउन सुझाव दिएका छन्। उनले यो ठाउँमा बनाउने भनेर केही भनेनन्। राष्ट्रिय गौरवका योजना र ठूलो योजनालाई प्राथमिकता दिनुपर्ने देउवाले बताए। प्रदेश सरकारलाई माथि केन्द्रबाट गर्नुपर्ने सहयोग आफूले गर्ने उनको प्रतिबद्धता थियो।

जवाफमा मुख्यमन्त्री भट्टले आफू सबैलाई मिलाएर र सबैसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक विकास र समृद्धिका लागि सहयोग गर्न देउवालाई आग्रह गरेका थिए। संघीयताको अभ्यास पहिलो भएकाले यसको जग मजबुद बनाएर सफल बनाउन सबैको सहयोग आवश्यक भएको उनको भनाई थियो। देउवा प्रदेश सरकार गठनपछि पहिलोपटक धनगढी आएका हुन्। 

आरजुले किनेको घरमा देउवाको बास

सोमबार धनगढी आइपुगेका सभापति देउवा पहिलोपटक धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नो घरमा बसेका छन्। विगतमा सुदूरपश्चिममा आउँदा डिभोटी होटलमा बस्ने गरेको देउवा पहिलोपटक आफ्नै निवासमा बसेका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी आरजु देउवाले निर्वाचनका बेला उक्त घर किनेकी थिइन। धनगढी ४ उत्तरबेहेडीमा रहेको गोपाल हमालकी पत्नी शारदा हमालको नाममा रहेको दुई तले सुविधा सम्पन्न घर उनले किनेकी थिइन्। घर किनेको होइन्, निर्वाचनपछि घर फिर्ता गर्छिन भन्ने हल्लालाई चिर्दै देउवा दम्पतीले निवास बनाएका छन्। धनगढी आउँदा आरजु यही निवासमा बस्दै आएकी छन, भने देउवाले पनि सोमबारदेखि बस्न शुरु गरेका छन्।

‘आरजु भाउजुले यो घरमा बस्दा पनि उनको घरजस्तो नै लाग्थेन, शेरबहादुर दाईले बस्न थालेपछि अब रौनक अर्कै भएको छ।’ नेपाली कांग्रेसका एक कार्यकर्ताले भने। बुढानिलकण्ठ पछि दोस्रो निवास धनगढी उत्तरबेहडीमा भएको उनले बताए। सोमबारदेखि शेरबहादुर देउवा बस्न थालेपछि यो घरमा चहलपहल बढेको छ।

चुनावताका पर्यटक उम्मेदवारको आरोप सामना गरेकी आरजुले त्यतीबेला यो घर किनेको बिषयले चर्चा बटुलेको थियो। ३ कट्टा ३ धुर जमिनमा ६५ बर्ग फिटमा यो सुविधा सम्पन्न दुई तले घर रहेको छ। अट्याच वाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अटेच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा रहेको छ। 

प्रकाशित: १८ वैशाख २०७५ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App