१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपचारपछि फेरियो अनुहार

शल्यक्रियापछि दिकु शेर्पा (माथि) र निशा श्रेष्ठ। तस्बिर : नागरिक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाकी ४ वर्षीय दिकु शेर्पाको जन्मजात ओठ तथा तालु फाटेको थियो। गतवर्ष ओठ तथा यसवर्ष तालुको शल्यक्रिया गरेपछि दिकुको मुहारमा अहिले सुधार आएको छ। शल्यक्रियाबाट उनको जन्मजात विकृत मुहार सुन्दर देखिएपछि अहिले उनको परिवारमा अहिले खुसी छाएको छ।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी ३ वर्षीया खुसी राईको पनि शल्यक्रीया गरेर जन्मजात विकृतिको उपचार गरिएको छ। खुसीको ओठको शल्यक्रिया गतवर्ष र तालुको शल्यक्रिया गत असारमा गरिएको हो। ‘शल्यक्रीया गरेपछि छोरीको ओठ ठीक भएको छ, राम्रै देखिन्छ,’ खुसीकी आमा पूजा राईले भनिन्, ‘तालुको प्वाल अझै पुरिएको छैन। फेरी अप्रेसन गर्नुपर्छ भनिएको छ।’ खुसी परिवारको पहिलो सन्तान हुन्। उनीपछि जन्मिएका छोरा भने शारिरीकरूपमा सपांग छन्।

जन्मजात विकृति भएका दिकु र खुसी दुवै बालिकाको उपचार राजधानीस्थित बि एण्ड बी अस्पतालमा गरिएको हो। उपचारपछि उनीहरूको शारीरिक सुन्दरता र मुहार फेरिएको हो। बालबच्चामा हुने जन्मजात विकृतिले परिवारमा निम्तिएको मानसिक तनाव उपचारले केही कम भएको पीडित परिवारले बताएका छन्। स्माइल ट्रेण्डका पूर्वाञ्चल को–अर्डिनेटर इन्द्र कसजूका अनुसार खोटाङमा स्न २०११ यता जन्मजात ओठ तथा तालु फाटेका ३० जना बढी बालबालिकाको उपचार गरेर मुहार फेरिएको छ।

ओठ तथा तालु फाटेको अवस्थामा जन्मजात विकृति भएका बच्चा जन्मिँदा कतिपय परिवारमा तनाव निम्तिएको पाइन्छ। कतिपयलाई ओठ तथा तालु फाटेको समस्याको उपचार हुन्छ भन्ने जानकारीसम्म नहुँदा तनाव झेल्न बाध्य छन्। तर, ओठ तथा तालु फाटेको जन्मजात विकृतिको शल्यक्रिया गर्दा निको हुने कसजू बताउँछन्। ‘सुरुसुरुमा आफैले खोजेर उपचारमा जान सल्लाह दिनुपथ्र्यो, अहिले आफै सम्पर्कमा आउन थालेका छन्,’ कसजूले भने, ‘जन्मजात विकृति भएका तीसभन्दा बढी बालबालिकाको मुहार फेरिएको छ।’

जन्मजात विकृति भएका बच्चाको मुस्कान फर्काउने उपचारका लागि स्माइल ट्रेण्डले ओठ तथा तालु फाटेका बालबच्चालाई गाडी भाडा दिएर रेफरर पूर्जासहित बि एण्ड बी अस्पताल पठाउने गरेको छ। जन्मजात विकृति भएका बालबच्चाको निःशुल्क उपचारको व्यवस्था छ।

जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीका अनुसार ओठ तथा तालु फाटेका बालबच्चा जन्मनुका खास कारण भन्न सकिन्न । यसका विविध कारण छन्। ‘जन्मजात विकृतिको खास कारण भन्न गा¥हो छ,’ डा. केसीले भने, ‘किटाणुका कारण पनि यस्तो हुन्छ। गर्भवती अवस्थामा आमाले धूमपान, मद्यपान गर्दा पनि विकृति देखा पर्न सक्छन्।’

प्रकाशित: १६ वैशाख २०७५ ०१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App