१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नवराज सिलवालको गाउँमा विना मगर

ललितपुर– खानेपानी मन्त्री बिना मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मा सरकारले लिने गरि विशेष योजना बनिरहेको बताएकी छिन्।

ललितपुरको गोदावरी नगरपालिका ६ सिखर्पास्थित बासुकी–सिखर्पा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहिलो साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानीका मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताइन। ‘वातावरणमा हुने मानवीय प्रभावले खानेपानीका मुहान सुक्ने अवस्था छ, जमिन रिचार्ज हुन पाइरहेको छैन’, उनले भनिन्, ‘वातावरणीय चक्र बिग्रन नदिन सबैले सचेत हुनुपर्छ।’

व्यवस्थित वस्तिको पहिलो पुर्वाधार खानेपानी भएकाले सबै वस्तिमा खानेपानी सुविधा पुर्याउन योजना बनाइने उनले बताइन। ‘खानेपानी हाम्रो स्वास्थ्य र शरीरसङ्ग प्रत्यक्ष जोडिएकाले देशको विकास र समृद्धिमा स्वच्छ खानेपानी मुख्य पुर्वाधार हो’, उनले भनिन, ‘वाम गठबन्धनको स्थिर सरकारले आवश्यक योजना बनाउँदैछ।’ आगामी आर्थिक वर्षमा स्वच्छ खानेपानी व्यवस्थापनका लागि नयाँ योजना र कार्यक्रम बनिरहेको उनले जानकारी गराइन।

मेलम्ची खानेपानी आयोजनाको पानी छिटोभन्दा छिटो काठमाडौ ल्याउनका लागि काम भइरहेको बताउँदै उनले दशैअघि नै पानी काठमाडौ आउने विश्वास दिलाइन। 

कार्यक्रममा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले जनताबाट खानेपानी र सडकका योजना बढी माग हुने गरेको भन्दै खानेपानीको विकासका लागि मन्त्री मगरको ध्यानाकर्षण गराए। कञ्चनपुर १ बाट निर्वाचित विना मगर मन्त्री भएर शनिबार सिलवालको गाउँ पुगेकी थिइन।

प्रकाशित: १५ वैशाख २०७५ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App