१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा दुई विभागीय टोली

काठमाडौं – दिपक गुप्ता स्मृति ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

जनकपुरस्थित रंगभुमी क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सोनेत क्रिकेट क्लबलाई २८ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। त्रिभुवन आर्मीले फोनिक्स क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो।

कसिलो ब्याटिङ गरेका त्रिभुवन आर्मीका बलर सोमपाल कामी, सागर पून र साहब आलमले २/२ विकेट लिएपछि टस जितेर पहिलो ब्याटिङ गरेको फोनिक्स क्रिकेट क्लबले १६.२ ओभरमा ५२ रन जोड्दा सबै विकेट गुमायो। ५३ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले ५.५ ओभरमै  १ विकेट गुमाएर पूरा गरेको हो।

फोनिक्स क्रिकेट क्लबका रजिन्दर लालले २१ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्रिभुवन आर्मीका सोमपालले २ ओभरमा १ मेडन राख्दै १ रन दिएर २ विकेट लिए। सागरले ४ ओभरमा १२ रन दिएर २ विकेट लिँदा साहबले २ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए । सुशन भारी र जितेन्द्र मुखियाको नाममा १/१ विकेट रह्यो।

५३ रनको लक्ष्य पछ्याएको आर्मीका लागि ओपनर सागर पूनले १८ बलमा ३ चौका र १ छक्कासहित २२ रन जोड्दा नरेश बुढाऐरले १३ बलमा ५ चौका र १ छक्कासहित अविजित २६ रन जोडे।

त्यसअघि भएको पहिलो सेमीफाइनलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रनको योगफल बनाएको थियो। पुलिसका लागि ओपनर सुनिल धमलाले सबैभन्दा धेरै ३७ रन बनाउँदा दीलिप नाथले ३२ रन जोडे। अमित श्रेष्ठले २२ रन जोड्दा आरिफ शेखले अविजित २७ रन बनाए। सोनेतका फैज अहमदले २ विकेट लिँदा क्षितिज कुमार र निलेन्द्र सिंहको नाममा १/१ विकेट रह्यो।

१ सय ४८ रनको लक्ष्य पछ्याएको सोनेतले १९.४ ओभरमा १ सय १९ रन जोड्दा सबै विकेट गुमायो। सोनेतका लागि ओपनर आदेश कुमारले २५ रन जोड्दा पंकुल कुमार र फैज अहमदले समान १७ रन बनाए। सुवेन्दु त्रिवेदीले १६ र अनमोल पान्डेले १२ रन जोड्दा क्षितिज कुमार १३ रनमा अविजित रहे।

त्रिभुवन आर्मीका रामनरेश गिरी, सुनिल धमला र ललित राजवंशीले २/२ विकेट लिँदा ललित भण्डारी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

प्रकाशित: १५ वैशाख २०७५ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App