१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबल खेलाडी कृपालाई बिदाइ

काठमाडौं – पछिल्लो समय महिला भलिबलमा प्रतियोगिता बाक्लै हुन थालेका छन्। अघिल्लो वर्षको जेठ ८ गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिए पछि निजि तथा सरकारी तवरबाट पनि भलिबल खेलमा लगानीकर्ताको मोह बढ्न थालेको छ।

भलिबलमा पनि महिला भलिबल लोकप्रिय विधा हो। यसले बटुलेको चर्चासँगै आउने अर्को पर्यायवाची नाम हो, महिला भलिबलको टिम न्यु डायमन्ड एकेडेमी। देख्दा सामान्य लाग्ने डायमन्डका खेलाडीले ठूला टिमलाई टक्कर दिने खेल पस्किएपछि आम दर्शकमाझ चर्चामा छन्।

त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी छनोट गर्दा डायमन्डका खेलाडी पहिलो रोजाईमा पर्ने गरेका छन्। न्यु डायमन्ड एकेडेमी स्कूलले शिवम् न्यू डायमन्डको नामबाट राष्ट्रिय प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रदर्शन गर्दै देशभर प्रशंसा बटुल्न सफल भइरहेको छ। प्रशंसा दिलाउन महत्पूर्ण योगदान गर्ने प्लेमेकर तथा लिफ्टर कृपा अधिकारीले बिहिबार आफ्नो २ नम्बर जर्सी टोली सदस्य रिहा कुंवरलाई हस्तान्तरण गरिन्। नेपाली सेनाको सहायक सेनानी पदमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेकी अधिकारीले न्यु डायमन्ड एकेडेमीको विदाई कार्यक्रम पछि औपचारिक रुपमा टिमबाट विदा भएको घोषणा गरिन्। २ कक्षाबाट न्यु डायमन्ड एकेडेमीमा अध्ययन गरेकी कृपाले पाँच  कक्षा पुगेपछि  भलिबलसँग साइनो गाँसेकी थिइन। रुढिवादी समाजमा छोरी भएर खेलकुदमा आउँदा  धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै उनले भनिन, ‘अग्रजहरुले खेलेको देखेर मलाई पनि भलिबल खेल्ने रहर जाग्ने गर्दथ्यो, त्यही रहर पूरा गर्न  कक्षा पाँचमा पढ्दै गर्दा रमाइलोका लागि टिमबाट खेल्ने गर्दथें, सोही बेला लिफ्टर बिना मोक्तानले टिम छाडेपछि मैले त्यो जिम्मेवारी सम्हाल्न सुरु गरेकी थिए। खेल्दै जाँदा राम्रो हुन थाल्यो, प्रतियोगिता सफलता हात पर्ने थाले। यो बीचमा पाँच कक्षा पढ्दा भलिबलमा जोडिए पछि सधै प्रथम हुने म पाँच कक्षाको फाइनल परिक्षामा दोस्रो भएँ, घरमा बुबा आमाले पढाई बिग्रियो भन्दै छुटाउन लाग्नु भएको थियो। मेरो ओभरहेड पास राम्रो भएकाले प्रशिक्षक कुमार राईले घरमै आएर बाबा आमालाई सम्झाउँदै मलाई खेलमा फर्काउनु भयो, त्यसपछि म नियमित अभ्यास गर्न थाले, सँग सँगै पढाइलाई पनि अगाडि बढाँए । प्रशिक्षक कुमार राईको प्रेरणा र लिफ्टरको जिम्मेवारी काँधमा परेपछि केही गर्छु भन्ने अठोट राखेर निरन्तर भलिबलमा लाग्दै गर्दा मैले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका अनुभव लिने मौका  पाँए।’

वातारवरण विज्ञान पढ्दै गरेकी अधिकारीले सहायक सेनानीको तालिम पछि पनि भलिबलसँग आवद्ध हुने आठोट ब्यक्त गरिन्। माल्दिभ्ससँग मैत्रीपूर्ण खेलमा अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी अधिकारीले १२ औं साग र २०१७ को विश्व महिला छनोट खेलमा सहभागिता जनाएकी छिन्।

सहायक सेनानी पदिमा खुला प्रतिस्पर्धाबाट सरकारी पदमा जोडिन लागेकी अधिकारीलाई बिहीबार न्यु डायमन्ड एकेडेमीले आयोजना गरेको बधाई तथा विदाई कार्यक्रममा प्रशिक्षक कुमार राईले माहुरीको रानोलाई विदाई गरेसँगै नयाँ खेलाडी उत्पादन गर्नु पर्ने नयाँ जिम्मेवारी काधमा आएको बताए । राईले भने, ‘राम्रा खेलाडी बाहिरिदा टिमलाई असर त पर्छ नै तर भविष्य निश्चित हुन नसक्दा खेलाडीलाई विदाई गर्नु पर्ने बाध्यता हाम्रो छ।’

यस्तै, न्यु डायमन्डकी कप्तान ललिता नाथले कृपाको अनुपस्थितिमा टोलिाई असर पर्ने भए पनि यो क्षणलाई शक्तिमा बदलेर  प्रतियोगितामा उभिनु विकल्प नभएको बताइन्।

नेपाल भलिबलसँगका महासचिव जितेन्द्र बहादुर चन्द, अन्तराष्ट्रिय रेफ्री चन्द्रा बन्दना राई, नागरिक अगुवा श्याम श्रेष्ठ लगाएतका भलिबल प्रेमीहरुले सहायक सेनानी पदमा प्रवेश गर्न लागेकी अधिकारीलाई सफलताको शुभकामना दिए।

प्रकाशित: १४ वैशाख २०७५ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App