१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गान्धीवादी पत्रकारको त्यो समय

उनी प्रष्टै भन्थे- 'म त अहिलेको परिभाषाअनुकूलको व्यावसायिक पत्रकार थिइन।' इन्द्रकान्त मिश्र अनेकौं पल्ट गिरफ्तारीमा पर्ने र दुई–दुई पटक कारावासको सजाय पाउँदा पनि पत्रकारितामा निरन्तर टिकिरहने स्वतन्त्रताका पुजारी थिए। तीन पटक त उनको अखवारमाथि प्रतिबन्ध नै लगाइएको थियो। जीवनको उत्तरार्धमा उनलाई आफ्नो विगतप्रति गौरववोध थियो- 'हामीले राजनीतिक परिवर्तनकै लागि पत्रकारितालाई माध्यम बनाएका थियौं।' तर आफ्नो समयका ती सक्रिय पत्रकार समयक्रममा पुस्तान्तरणको मारमा यसरी परे न राज्यको कुनै तक्मा उनको छातीमा टाँसियो, न नेपाल पत्रकार महासंघले उनलाई प्रेस स्वतन्त्रता सेनानीका रूपमै सम्भि्कयो। उनको समय आजको जस्तो थिएन। पत्रकार र पत्रकारिता समयको प्रवाहसँगै बदलिए। ९७ वर्षको उनको जीवनकाल यो परिवर्तनको साक्षी थियो।

सत्र सालतिरको कुरा हो, उनकोनेपाल दैनिक सुरु गरेको दुई वर्षमात्र भएको थियो। एक दिन भारतीय राजदूत भगवान सहायलाई उनले फूर्तिसाथ भने– हाम्रो देशमा त अखबारका मालिक पत्रकार नै हुन्छन्। उनी आफैं थिए, प्रकाशक तथा सम्पादक। त्यसबेला नेपालका सबै अखबार सम्पादकले नै चलाउँथे। तर, अन्य विकसित देशहरुमा झैं भारतमा पनि अखवार सेठहरुको मातहात हुन थालिसकेका थिए। उनी विगत सम्भि्कन् थाले, त्यही सन्दर्भमा उनले राजदूतलाई भनेका थिए– हाम्रोमा पत्रकार स्वतन्त्र छन्, पत्रकारिता भने स्वतन्त्र  छैन। तर तिम्रो देशमा पत्रकार स्वतन्त्र छैनन्, पत्रकारिता भने स्वतन्त्र छ। अतीतमा विचरण गर्दै उनी भन्दै थिए– भारतमा ठूला उद्योगपतिले पैसा कमाउनकै लागि पत्रपत्रिका सञ्चालन गर्न थालिसकेका थिए। तर म त एउटा राजनीतिक मिसनका लागि पत्रकारितामा समर्पित थिएँ। प्रजातन्त्रबाहेक मेरो अरु कुनै उद्देश्य थिएन। उनी विगत स्मरण गदै नै थिए, त्यसबेला केही पत्रकार राजतन्त्रको पक्षमा थिए, केही राजतन्त्रको विरुद्धमा। हामी संवैधानिक राजतन्त्रको समर्थक थियौं। आआफ्नो निश्चित लाइन थियो। त्यसै लाइनमा हामी अघि बढ्थ्यौं।

गान्धीवादी जीवन दर्शनका हिमायती मिश्रले सात सालअघि नै जनकपुरबाट सामाजिक अभियन्ताका रूपमा सार्वजनिक जीवन सुरु गरेका थिए। उनी नेपाली कांग्रेस र प्रजा परिषद्मा समेत आबद्ध भए। पछि उनले पत्रकारितालाई नै प्रजातान्त्रिक संघर्षको मैदान बनाउने निधो गर्दै 'दैनिक नेपाल' सुरु गरे। छयालीस सालमा बहुदलीय व्यवस्थाको आगमन भएपछि केवल उत्साहका कारण डेढ दुई वर्ष उनी पत्रकारितामा संघर्षरत् रहे। तर त्यसपछि उमेरका कारण उनको सक्रियता कायम रहन सकेन। छत्तीस सालअघिको नेपाली पत्रकारिताको चर्चा गर्ने क्रममा किशोर नेपालले लेखेका छन्– चन्द्रलाल झाको नेपाल टाइम्स, मणिन्द्रराज श्रेष्ठको मदरल्याण्ड र इन्द्रकान्त मिश्रको नेपाल का अतिरिक्त अरु कुनै दैनिकले विचारोत्तेजका सामग्री प्रकाशन गर्न सक्दैन थिए।

फिलिप मेयरले जस्तै मिश्र पनि पत्रकारितामा तत्कालै अधिक मुनाफा खोज्ने प्रवृत्ति बढन थालेको आकलन गर्थे। पत्रकारिताका अमेरिकी प्राध्यापक मेयरले भ्यानिसिङ न्युजपेपरमा मूलतः यही प्रवृत्तिका कारण उनको देशका अखवारहरु संकटमा पर्दै गएको तर्क अघि सारेका छन्। मिश्र पनि आर्थिक आर्जन र सामाजिक प्रभावको अन्तरसम्बन्धमा सन्तुलन कायम हुन नसकेको अवस्थामा पत्रकारिता जनताबाट विच्छेद हुन सक्ने चिन्ता गर्थे।

उनको पालामा सीमित अखबार थिए। उनी आफ्नै अनुभवका आधारमा भन्ने गर्थे– त्यसबेलाको नेपालमा हामी पत्रकार आर्थिकरूपमा ज्यादै कमजोर हुने गथ्यर्ौं तर सबै ठाउँमा हाम्रो प्रतिष्ठा उँचो थियो। पत्रकारितालाई उपभोक्तावादले ग्रस्त पार्दै लगेको र समाजप्रतिको जवाफदेहिताको पाटोमा बेवास्ता बढ्दै गएको मूल्यांकन गर्दै उनी चिन्तित हुन्थे। उनले समयक्रममा अनुभूत गरेको सबैभन्दा ठूलो भिन्नता के थियो भने उनको समयमा पत्रकारिता व्यापार थिएन। त्यसबेला नाफा/नोक्सानको कुरा हुँदैनथ्यो। उनी आँखा चम्काउँदै बोलिरहेका थिए, अगाडि बसेका छोरा पत्रकार राजेश टाउको हल्लाउँदै स्वीकृति जनाइरहेका थिए। ज्ञान र सूचनाको यो सेवामूलक क्षेत्र व्यापारिक स्वार्थमा बेरिँदैछ भन्ने उनलाई लाग्ने गर्थ्याे। 

मिश्रलाई शंका लाग्थ्यो– नेपाली पत्रकारमाझ आफ्नो समयकै जस्तो एकता र अडान कायम छ कि छैन? उनी विगत सम्झन्थे, त्यसबेला हामी सबै विचारधारा र सिध्दान्तका आधारमा विभाजित भए पनि मिल्थ्यौं । अडान र मेलमिलाप सँगसँगै अघि बढ्थ्यो। उनी व्याख्या गर्थे– टंकप्रसाद–मणिराज उपाध्यायकै कुरा गरौं। मणिराज टंकप्रसाद आयार्यको लाइनविरुध्द कहिल्यै जानुभएन। उहाँको सिद्धान्त नै प्रजापरिषद्को सिद्धान्त थियो। तर हामी पत्रकारिताको क्षेत्रमा एक थियौं। आजभोलि व्यापारिक स्वार्थका कारण अखबारका अडान परिवर्तन हुन्छन् कि भन्ने शंका उनलाई थियो।

डेढ वर्षअघि नब्बे वर्षभन्दा माथि उकालो लागेका वरिष्ठ पत्रकार मणिराज उपाध्यायले पुरानो समयको नेपाली पत्रकारिताको सर्न्दभमा कुराकानी गर्दा गर्दै भनेका थिए– त्यसबेलाका धेरै त अब जीवित नै छैनन्। प्रसंगवश उनले पुलकित हुँदै यस पंक्तिकारसँग सोधेका थिए– ए इन्द्रकान्त त सकुशलै छन्। मिश्रको पत्रकारिताको इन्क्लाव स्वभावबारे पुराना पत्रकारलाई थाहा छ। उनको समय अति कठिन थियो। तर वरिष्ठ पत्रकार देवेन्द्र गौतमलाई थाहा छ, उनको संघर्षगाथा। अहिले पनि ऊर्जावान पत्रकारका रूपमा सक्रिय किशोर नेपालले मिश्रको समयलाई आफ्नो जीवन वृतान्तसम्बन्धी पुस्तक मेरो समय मा समेट्दै बताएका छन्, इन्द्रकान्त मिश्र आदर्शवादी युगका सच्चा प्रतिनिधि हुनुहुन्थ्यो। गान्धीका आदर्शहरुबाट प्रेरित उहाँमा घमण्ड थिएन।

नेपालले आफ्नो पुस्तकमा सम्भि्कएका छन्– २०३२ सालमा सरकारले प्रजातान्त्रिक सुधारको वकालत गर्ने दैनिक र साप्ताहिक गरी एघार वटा पत्रिकामाथि एकमुष्ठ प्रतिबन्ध लगायो। प्रतिबन्धमा परेका नेेपाल टाइम्स, नवीन खबर र दैनिक नेपाल प्रमुख दैनिक थिए भने राष्ट्र पुकार, समीक्षा र मातृभूमि प्रमुख साप्ताहिक। प्रतिबन्धको खबरले आहत भएका मिश्र मुर्छा परे। लगत्तै लामो समयका लागि मुर्छित अवस्थामा पुगे। त्यसबेला दिल्लीमा महिनौंसम्मको उपचारपछि मात्र उनले नवजीवन पाएका थिए।

डेढ वर्षअघि नेपाली पत्रकारिताको इतिहाससम्बन्धी अध्ययनका क्रममा यस पंक्तिका लेखकसँग कुराकानी गर्दै उनी सीतापाइलास्थित आफ्नै निवासमा भन्दै थिए– आजका अखवारका आकारप्रकार नै भिन्न देखिन्छन्। २०१२–१३ सालमा अहिलेका अखवारका एक चौथाइ आकारका एक वा दुई पानाका अखबार छापिन्थे। कहिले एक पाना मात्रै निस्किन्थे। यतिखेर विषयवस्तुको दायरा पनि बढेको छ। ज्ञान र सूचना अझ परिमार्जित भएका छन्, पत्रकारिताको आधारभूत पक्षमा निरन्तरता छ।

वर्तमानलाई आफ्नो समयसँग तुलना गर्दै उनी भन्थे– काम गर्ने ढाँचाका सम्बन्धमा त म केही बोल्नै नसक्ने भएको छु। हामी एउटा मिसन मा आबद्ध थियौं, त्यो मिसन छैन हिजोआज। फेरि स्मृतिपटलाई फुकाएर भन्थे, उनको समयमा जम्मै सम्पादकले एक्लै गोरुझैं जोतिएर काम गर्नुपर्थ्याे। कहिलेकाहीँ बढीमा दुई जनाले सारा काम सक्नुपर्ने हुन्थ्यो। उनले पनि कुनै बेला आजका वरिष्ठ पत्रकार किशोर नेपाललाई सहायकका रूपमा आबद्ध गरेका थिए। २०३० को दशकमा उनको अखवारमा काम गरेको स्मरण गर्दै नेपालले लेखेका छन्– इन्द्रकान्त मिश्रले मेरो श्रमको कदर गर्दै तलव एक सय पच्चीस रुपियाँ तोक्नुभएको थियो। मिश्रलाई पञ्चायतको अनुदारवादी कालखण्डका प्रजातन्त्रवादी पत्रकारका रूपमा चिनाउँदै नेपालले लेखेका छन्– उहाँको समय नेपाली पत्रकारिताको संघर्षको समय थियो। आफ्नो समयका भलाद्मी पत्रकार व्यक्तित्वका रूपमा परिचित मिश्रप्रति सम्मान प्रकट गर्दै नेपालले लेखेका छन्– उहाँ कहिल्यै आर्थिक प्रलोभनमा फस्नुभएन।

वस्तुतः मिश्रका लागि पत्रकारिता पेशा वा व्यवसाय होइन, राजनीतिक परिवर्तनको काहक थियो, जीवनको आदर्श थियो। त्यसैले उनी ठान्थे, पत्रकारिता बडो पवित्र यज्ञ हो। उनी नैतिकतामा जोड दिँंदै भन्थे,  पत्रकारितालाई सुधार्न पत्रकारले आफैं आफ्नो चरित्रमा सुधार गर्नुपर्छ। हामी अरुलाई उपदेश दिएरमात्रै बाँच्छौं। तर नैतिक बलविनाको उपदेशक खोक्रो हुन्छ। नेपाली पत्रकारिताको पितामह पुस्ताका प्रतिनिधि सम्पादकलाई भावी पत्रकार सन्ततिको विवेक र इमानदारीका सम्बन्धमा थोरै चिन्ता नभएको होइन तर नयाँ पुस्तामा उनलाई भरोसा पनि उत्तिकै थियो।

प्रमुख, पत्रकारिता विभाग, आरआर क्याम्पस, त्रिवि

प्रकाशित: १२ भाद्र २०७३ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App