१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने भएको छ। भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग लगानी बोर्डले २०७१ मंसिरमा निर्माण सम्झौता गरेपनि औपचारिक शिलान्यास भएको छैन्। सतलजसँग आयोजना विकास सम्झौता (पीडीए) भएको ४ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास गर्ने अवसर जुटेको हो। मोदी वैशाख २८ गते नेपाल आउने तयारी छ।

नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले मोदीको नेपाल भ्रमणमा अरुण तेस्रोको शिलान्यास हुने जानकारी दिए। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने– ‘मोदीको भ्रमणमा अरुण तेस्रो र काभ्रेको धुलिखेलमा प्रहरी प्रतिष्ठानको शिल्यान्यास हुन्छ। यसको लागि लगानी बोर्ड र उर्जा मन्त्रालयले तयारी गरिरहेको छ।’ 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दिल्लीबाटै दुबै देशका प्रमले संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गर्ने भनिएको थियो। तर, विविध कारणले त्यो सम्भव भएन।

संखुवासभामा निर्माण हुने अरुण तेस्रोको कुल अनुमानित लागत १ खर्ब ४ अर्ब रहेको छ।

मोदीको नेपाल भ्रमण धार्मिक र साँस्कृतिक नभएर राजकीय हुने र जनकपुर जाने नेता भट्टराईले बताए। ‘उहाँ प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ, नेपाल–भारतबीच रहेका सबै खाले अविश्वास अब पूर्ण रुपमा हट्ने मैले विश्वास लिएको छु, यसअघि हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा द्धिपक्षीय सम्बन्धमा देखिएका अविश्वास हटेका छन्, अब मोदीजी आउँदा अविश्वास पूर्ण रुपमा हट्छ।’

भट्टराईले काठमाडौंमा मात्रै नभएर अब दिल्ली र बेईजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरु भएको बताए। उनले भने, ‘नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी हुुनुपर्छ भनेर अब नेपालको राजधानी काठमाडौंमा मात्रै नभएर दिल्ली र बेइजिङमा पनि छलफल हुने भएको छ, भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदैहुनुहुन्छ, चीनमा रहँदा मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच नेपालको बारेमा पनि चर्चा हुन्छ।’

यसअघि भारत र चीनबीच नजानिँदो प्रतिष्पर्धा रहेको बताउँदै उनले भने, ‘अहिले दुवै देशबीचको सम्बन्ध सुध्रिने बाटोमा गैरहेकको छ, नेपाल–चीन–भारतबीचको सहकार्यबारे अहिले भारत सकारात्मक बनेको छ, यो खुशीको कुरा हो, हामीले दुवै छिमेकीहरुसँग लाभ लिन सक्नुपर्छ।’

प्रकाशित: १२ वैशाख २०७५ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App