१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाख्रा र कुखुरालाई बचाउन खोप अभियान

महामारीबाट बचाउन बाख्रालाई पिपिआर खोप दिइँदै । तस्बिर : सरिता/नागरिक

धादिङ – जिल्लामा बाख्रा र कुखुरालाई रोग लाग्नबाट बचाउन खोप आभियान सुरु गरिएको छ । बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको खोप लगाउन सुरु गरिएको हो । सम्भावित  महामारी फैलिनबाट बच्न खोप अभियान सञ्चालन गरिएको हो।

जिल्लाकोे सिद्धलेक गाउँपालिका वडा नं १, २, ४ र ५ मा बाख्रा र कुखुरा गरी दुई हजार ६ सय पशुपक्षीलाई गाउँमै गएर खोप दिइएको सिद्धलेक साना किसान सवलीकरण परियोजनाका प्राविधिक संयोजक इश्वरी कोइरालाले जानकारी दिए । पशुपालन बढी गरिने क्षेत्रलाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

‘पिपिआर रोगका कारण जिल्लाका विभिन्न क्षेत्रमा बर्सेनि सयौं बाख्रा मर्ने गरेका छन्,’ कोइरालाले भने, ‘रोग लाग्नुअघि नै सतर्कता अपनाउन पिपिआर खोप दिएका हौं ।’ यस्ता महामारीबाट पशुलाई बचाउन समयमै खोप लगाउनका लागि गाउँभरी आह्वान गरिएको छ ।
हेफर इन्टरनेसनल र सिद्धलेक गाउँपालिकाको सहयोगमा प्रयास नेपालले खोप प्रदान गरिएको हो।

पिपिआर रोग भएका बाख्राले पानी जस्तो दिशा गर्ने, गिजामा फोका आउने, ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने लगायत लक्षण देखाउँछ । यो लक्षण देखिएको सातामै बाख्राको मृत्यु हुने गर्छ । त्यसैले महामारी हुन नदिन विगतका वर्षजस्तै निरन्तर रुपमा पिपिआर खोप निःशुल्क रुपमा लगाउँदै आएको कोइरालाले बताए । जिल्ला पशुसेवा कार्यालयले पनि रोगविरुद्ध खोप अभियान सञ्चालन गर्दै आइरहेको छ।

गत वर्ष जिल्लाका विभिन्न ठाउँमा बाख्रामा पिपिआर रोग लागेपछि धेरै बाख्रा मरेका थिए । स्वास्थ्य संस्थाको पहुँच टाढा हुँदा र खोप लगाउनुपर्छ भन्ने ज्ञानको अभावमा महामारीले बाख्रा मर्ने गरेका छन् । गाउँमा निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरेकामा सिद्धलेक गाउँपालिका–२ का उषाकुमारी श्रेष्ठ खुसी व्यक्त गर्छिन् । ‘बाख्रा मरे भन्ने सुनेको छु,’ श्रेष्ठले भनिन्, ‘आफूले पालेका बाख्रालाई खोप दिएपछि रोग लाग्नबाट बचाउन ढुक्क भएको छु ।’ उनले आफूले पालेका नौवटा बाख्रा पिपिआर खोप लगाएका छन् भने कुखुरामा रानीखेत खोप दिएका छन्।

पिपिआर रोगविरुद्ध लड्ने इम्युनिटी पावर हो । कुनै रोगको औषधि होइन । यसले  लगाएको तीन वर्षसम्म काम गर्छ । त्यो अवधि सकिएपछि फेरि यो खोप दिनुपर्छ । तीन महिनाभन्दा मुनिका बच्चा पाठापाठीलाई दिन हुँदैन । हरेक वर्ष विभिन्न संघसंस्था तथा पशु कार्यालयले सञ्चालन गर्दै गाउँगाउँमा खोप अभियान सञ्चालन गरिएको छ । तरपनि धादिङमा रोगको खतरा उच्च मानिन्छ । बाहिरी जिल्लाबाट बाख्रा तथा कुखुरा ल्याएर पाल्ने प्रचलनले पनि रोग निम्तिएको पशु प्राविधिकको भनाइ छ।

पिपिआरको लक्षण देखियो भने बाख्रालाई बचाउन सकिन्न । त्यसैले खोप लगाउनै पर्छ । रोग फैलियो भने चाँडै खोरै सखाप पार्ने गर्छ । पिपिआरको लक्षण देखिएपछि त्यसको उपचार नहुने भएकाले महामारीबाट बाख्राहरु बचाउन किसान आफैं सर्तक हुनुपर्ने देखिन्छ । यस्ता रोगले सताएपछि न औषधि उपचार न पशु चिकित्सक नै पाइन्छन्।   

 दुर्गम गाउँमा बाख्रा पालेर दैनिकी जोहो गरेका किसानको पहुँच जिल्लासम्म नहुँदा समयमै उपचार विधिको उपयोग हुन सकेको छैन । पिपिआर एकपटक खोप लगाउँदा दुई वर्षसम्म कुनै रोगले पशुलाई आक्रमण नगर्ने पशु चिकित्सकको भनाइ छ।


 

प्रकाशित: १२ वैशाख २०७५ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App