१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लार्के, यांग्रीका लागि दाता खोजी

सिन्धुपाल्चोक – मेलम्चीको पानी आगामी असोज अगावै उपत्यका पुग्ने सुनिश्चित भएसँगै दोस्रो चरणमा लार्के र यांग्री खोलासमेत लैजान दाताको खोजी थालिएको छ।

मेलम्ची खानेपानी आयोजनाको परियोजना–२ अन्तर्गत लार्के र यांग्री खोलाबाट थप १७–१७ करोड लिटर पानी उपत्यका लैजान सरकार दाताको खोजीमा जुटेको हो । परियोजना–१ अन्तर्गत पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी लगिँदै छ । जुन परियोजना अन्तिम चरणमा पुगेको छ।

‘मेलम्ची पानी उपत्यका आउने पक्का–पक्की भयो,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, ‘त्यसले लार्के र यांग्री खोलाबाट पानी ल्याउन दाताको खोजीमा केन्द्रीत भएका छौं ।’ लार्के, यांग्रीको प्रारम्भिक काम अघि बढिसकेको उनले बताए ।
मेलम्ची आयोजना सम्पन्न भएपछि एउटै सुरुङमा लार्के र याग्री खोलासमेत मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी लैजाने सरकारको तयारी छ ।

मेलम्ची दुई दशक पुरानो आयोजना हो । उपत्यकाको खानेपानी समस्या दीर्घकालसम्म हल गर्न मेलम्ची निर्माणकै क्रममा लार्के, यांग्रीको अवधारण अघि सारिएको हो।त्यसैले आयोजनाले मेलम्चीलाई परियोजना–१ र लार्के, यांग्रीलाई परियोजना–२ नाम दिएको छ । जुगल हिमशृंखलाको हिउँ पग्लेर बग्ने यी खोला साविक भोताङ गाविसमा पर्छन् । आयोजनाका अधिकारीका अनुसार यांग्रीबाट ९.७ र लार्केबाट १.७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ । र, मेलम्ची सुरुङमा हालेर उपत्यकामा पु¥याइन्छ । लार्के, यांग्री अम्बाथानबाट उत्तर–पूर्वमा पर्छन्।

२६ किलोमिटर लामो मेलम्ची सुरुङ गत चैत २७ गते मात्र ‘ब्रेक थु्र’ भएको थियो । चार वर्षमा सक्ने गरी निर्माण थालिएको सुरुङ भाका सार्दै सात वर्षमा छेडिएको हो । अहिले सुरुङ ढलान र ‘फाइलन फिनिसिङ’को काम भइरहेको छ । झन्डै चार किमि सुरुङ ढलान भएको आयोजनाले जनाएको छ।

सुरुङ ढलान र ‘फाइलन फिनिसिङ’ लगायत बाँकी काम चार महिनाभित्र सकेर भदौभित्र मेलम्ची पानी सुन्दरीजल खसाल्ने र यो वर्षको दसैं उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी खुवाउने तयारीमा आयोजना जुटेको छ । एसियाली विकास बैंक (एडिबी) मेलम्ची आयोजनाको मुख्य दाता हो । मेलम्चीका लागि मात्र एडिबीले एक सय ४५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो।

लार्के, यांग्रीमा सहयोग गर्न दाता एडिबीसँगै छलफल चलिरहेको उपकार्यकारी निर्देशक थापाले जानकारी दिए । ‘एडिबीले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ,’ उनले भने । लार्के, यांग्रीको अध्ययन र अन्य प्रारम्भिक काममा समेत एडिबीले आफ्नो तर्फबाट विज्ञ टोली खटाएर सघाइरहेको उनले जनाए।

चैत २९ गते मेलम्चीमा भएको सुरुङ ‘ब्रेक थ्रु’ घोषणा कार्यक्रममा एडिबीका दक्षिण एसिया महानिर्देशक हुन किमले लार्के, यांग्री परियोजना–२ लाई सघाउन सकरात्मक रहेको बताएका थिए । ‘उपत्यकामा पर्याप्त पानीका लागि दोस्रो परियोजना अझ महत्वपूर्ण छ,’ लार्के, यांग्रीको प्रसंग जोड्दै उनले भनेका थिए, ‘ढिलासुस्ती बन्द गर्ने हो भने चार वर्षमै थप पानी लैजान सकिन्छ।’

आयोजनाका अनुसार लार्के, यांग्री थप गर्ने कामका लागि ‘डिजाइन’ परामर्शदाता छनोट गरी परिचालन गरिसकिएको छ । स्पेनी परामर्शदाता (इप्टिसा)ले डिजाइनको काम गरिरहेको छ । इप्टिसाले चालु वर्षको असारसम्म विस्तृत डिजाइन प्रतिवेदन बुझाउने छ । त्यसपछि दातृ निकायसँग लगानी सम्झौता गरेर सुरुङ खन्नका लागि निर्माण व्यवसायी छनोट चरणमा पुग्ने उपकार्यकारी निर्देशक थापाले बताए।

मेलम्ची आयोजना सम्पन्न भएपछि एउटै सुरुङमा लार्के र याग्री खोलासमेत मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी लैजाने सरकारको तयारी छ । मेलम्ची आयोजनाको मुख्य दाता रहेको एडिबी लार्के, यांग्रीमा समेत लगानी गर्न तयार देखिएको छ।

लार्के र यांग्री खोला पुग्न आयोजनाले पहुँचमार्गको काम सुरु गरिसकेको छ । ‘यसै साता सूचना प्रकाशित गरेर परियोजना–२ ले ओगट्ने व्यक्तिका तीन सय ७७ कित्ता जग्गा अधिग्रहणको कामसमेत थालिसकेका छौं,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अघि बढाएका छौं।’

आयोजनाले विगत चार वर्षदेखि स्थानीय प्रभावितको जीवन उकास्न भोताङ, थाङपालथाप, थाङपालकोट, बरुवा, गुन्सा लगायत साविक १० गाविसमा सामाजिक उत्थान (सुप) कार्यक्रमम दिँदै आएको छ । यो वर्ष आयोजनाले सुप सञ्चालनका लागि साढे चार करोड रुपैयाँ दिएको थियो।
 

प्रकाशित: १२ वैशाख २०७५ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App