१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन हुँदैन: महासचिव पोखरेल

भक्तपुर-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैको लहडका आधारमा संविधान संशोधन नहुने बताएका छन्। संविधान गतिशिल र परिवर्तनशिल दस्तावेज भए पनि औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुने उनले बताए।

युवा संघ नेपाल जिल्ला समिति भक्तपुरले शनिबार गरेको प्रशिक्षणमा पोखरेलले एमाले देश र जनताको हितमा हुने गरी संविधान संशोधन गर्न तयार रहेको तर कसैलाई सत्तामा पुर्याउने भर्याङ्ग बनाउन र कोही कसैको स्वार्थ पुरा गर्न संविधान संशोधन नहुने बताए।

एमालेलाई एक मधेस प्रदेश वा दुई मधेस प्रदेश मान्य नहुने बताउँदै उनले सीमाङकन फैसला केही ठालु व्यक्तिले होइन, जनता र जनताका प्रतिनिधीले टुंग्याउने बताए। नेता पोखरेलले अंगिकृत नागरिक त्यो देशको उच्च पदमा बस्न नपाउने अन्तर्ष्ट्रिय अभ्यासलाई नेपालले पनि अंगिकार गरेको बताए। उनले केही अंगिकृत नागरिकता लिएका मधेसी नेताहरुले चाहँदैमा अंगिकृत नागरिकलाई मुलुकको उच्च पदमा आसिन गराउने प्रयास सफल नहुने बताए।

एमाले सरकारबाट बाहिर रहे पनि राष्ट्रियता, संविधानको रक्षा, संविधान कार्यान्वयन, आत्मनिर्भरता र छिमेकीसँगको सन्तुलित सम्बन्ध कायम राख्ने एजेण्डालाई उच्च प्राथमिकतामा राखेर एमालेले कार्य र गतिबिधि सञ्चालन गर्ने उनले बताए। उनले सरकारबाट बाहिरिए पनि एजेण्डा यथावत रहने बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वलाई धोका दिएर गठबन्धन परिवर्तन गर्नुको कारण ‘प्रधानमन्त्री बन्ने आश र द्धन्द्धकालिन हिंसाका घटनामा मानव बिरोधी ठहरिने त्रास’ को राजनीति कारक रहेको उनको भनाई थियो।

 

प्रकाशित: ११ भाद्र २०७३ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App