नागरिक नायक-२०७५

नागरिक नायक २०७५ - ‘हिमाली सर’

मङ्गलबार, ११ बैशाख २०७५, १५ : ५६ छत्र कार्की

1141


जाडो छल्न काठमाडौं आएका माथिल्लो डोल्पाका विद्यार्थीलाई पढाउने अवसर नपाएका भए विनोद शाही (३६) को ‘करिअर’ले अर्कै मोड लिन्थ्यो होला। नाम र दामको सपना बोकेर उनी विदेशिएका या व्यावसायिक ‘चित्रकार’ भएर राम्रै कमाइ गरिरहेका हुन्थे। 

दुर्गमका बालबालिकालाई केही ‘मद्दत’ गरूँ भन्ने उत्कट चाहनाले उनलाई डोल्पाका अतिविकट गाउँसम्म डो¥यायो। गरिबीको पीडा व्यहोर्दै राजधानीमा जन्मी–हुर्किएका उनले खुसीसाथ त्यहीँ बाटो रोजे। अन्कन्टार गाउँमा बसेर उनले शिक्षाको ज्योति फैलाउने काम गरे। डोल्पासँग उनको साइनो जोडिएको १३ वर्ष बितिसकेको छ। यस अवधिमा उनको कल्याणकारी कामले कैयौंको जीवन रुपान्तरण भएको छ। 

उनले सुरु गरेको ‘नेपाली दाताबाटै स्कुल’ अभियानले हिमालपारि गाउँका स्कुल फेरिएका छन्। वर्षौदेखि बन्द भएका स्कुल फेरि खुलेका छन्। ओहो! बालबालिकाका अनुहारमा खुसीका आभा देखिएका छन्। ‘नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन’ भनी विदेश पलायन हुने युवाहरूका लागि अनुकरणीय बनेका छन् उनी।

स्वयंसेवी भावले अभियन्ता विनोद शाहीले माथिल्लो डोल्पामा सुरु गरेको अभियानले अतिविकट गाउँमा शिक्षाको ज्योति फैलिएको छ, वर्षौदेखि बन्द  भएका स्कुल फेरि खुलेका छन् । कोशिस गरे विदेशी दाताको सहयोगबिनै सामाजिक काम गर्न सकिने रहेछ भन्ने सकारात्मक सन्देश उनले दिएका छन् । 

हरेक वर्ष अप्रिलदेखि अक्टुबरसम्म ६ महिना उनी माथिल्लो डोल्पामै बस्छन्, पूरै समय त्यहीँकै स्कुलमा बिताउँछन्। विद्यार्थीलाई पढाउने मात्र होइन, कथावाचन, चित्रकला, हस्तकला, खेलकुद, ठट्यौलीलगायत सिर्जनशील क्रियाकलाप पनि सिकाउँछन्। निरक्षर गाउँलेका लागि प्रौढकक्षा चलाउँछन्, घन्टौं हिँडेर बिरामीका लागि घरघर औषधि पु-याउँछन्।

शे–फोक्सुन्डोे गाउँपालिकाका अध्यक्ष टासी धोन्दुपका शब्दमा, ‘राजधानीमा जन्मी–हुर्किएका विनोद दुरदराजका बालबालिका तथा अभिभावकका लागि दुःखका साथी भएका छन्। यस्ता निस्वार्थी समाजसेवी बिरलै भेटिन्छन्।’ 
उनले ‘कखरा’ पढाएका डोल्पाका सयौं विद्यार्थीले उच्चशिक्षा पूरा गरिसकेका छन्। उनीहरू शिक्षा, स्वास्थ्य, राजनीतिलगायत विभिन्न क्षेत्रमा छन्। केही पूर्वविद्यार्थी  पढाइ सिध्याएर गाउँमै फर्की शिक्षक भएका छन्। विनोदको कामबाट स्थानीय अभिभावक र विद्यार्थी पुलकित छन्। स्थानीय प्रशासनले पनि उनको कामलाई सराहना गरेको छ। 
डोल्पालीसँग विनोदको सम्बन्ध प्रगाढ बन्दै गएको छ। अधिकांश गाउँलेले उनलाई प्रेमपूर्वक स्थानीय भाषामा ‘घाङजोङ सर’ अर्थात् ‘हिमाली सर’ भनी सम्बोधन गर्छन्। ‘गाउँलेको अगाध स्नेहले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको छ,’ उनी भन्छन्, ‘मैले ठूलो काम गरेको छैन, मानवताको नाताले गर्नैपर्ने काम गरेको हुँ।’    

............               ...............                       ...........

२०६१ सालको जाडोयाम। काठमाडौं, नरदेवी, भुरुङखेलनजिकै किराना पसल चलाउँदै आएकी लोप्साङ लामा (लोप्साङ दिदी) बाट उनले थाहा पाए–जाडो बिदामा माथिल्लोे डोल्पाबाट राजधानी आएका भोटे समुदायका बालबालिकालाई पढाउने शिक्षक चाहिएको छ। त्यतिखेर उनी भोटाहिटीस्थित ललितकला क्याम्पसमा स्नातक दोस्रो वर्ष पढिरहेका थिए। ‘चित्रकला’मै ‘करिअर’ बनाउन उनी दत्तचित्त भएर लागिपरेका थिए। 

‘डोल्पाका विद्यार्थीलाई पढाउनुहुन्छ भने म कुरा अगाडि बढाउँछु,’ लोप्साङले सोधिन्। 

‘हुन्छ, म पढाउँछु,’ उनले निसंकोच स्वीकारोक्ति जनाए। 

माथिल्लोे डोल्पाका विद्यार्थीलाई आर्ट, नेपाली र गणित पढाउनुपर्छ भन्ने जानकारी पाएपछि उनी दंग परे। बेलाबखत आफ्नो टोलमा हुने सामाजिक गतिविधिमा सहभागिता अनि आफ्नो पढाइबाहेक उनको नियमित काम थिएन। कुराकानी भयो, उनले काठमाडौंको जोरपाटीमा ८४ जना विद्यार्थी पढाउन सुरु गरे। ‘डोल्पो हिल्फी’ नामक जर्मनी संस्थाको सहयोगमा उक्त ‘घुम्ती कक्षा’ चलाइएको थियो। उनले पढाएवापत मासिक ५ हजार रुपियाँ पारिश्रमिक पाउँथेँ, जुन रकमले उनी आफू र परिवारलाई ठूलो भरथेग भयो। 

करिब ६ महिना कक्षा लिँदा उनले डोल्पाली बालबालिकालाई नजिकबाट नियाल्ने मौका पाए। माथिल्लो÷तल्लो डोल्पाको दयनीय शैक्षिक अवस्था थाहा पाए।  विद्यार्थीमा नयाँ कुरा सिक्न खोज्ने उत्सुकता थियो, तर, गाउँका अधिकांश स्कुल वर्षैभरि बन्द हुन्थे। शिक्षक नआउने भएकाले खुलेका स्कुलमा पनि नियमित पढाइ हुँदैनथ्यो। दरबन्दीका सरकारी शिक्षक विकट गाउँ बस्न मान्दैनथे। ‘हाजिर मिलाएर’ तलब खानु मात्र उनीहरूको धर्म थियो। विद्यार्थीको  सिकाइस्तर अत्यन्त कमजोर थियो।

‘बालबालिकाको अनुहारमा झल्किएको निर्दोषपन अनि उनीहरूको पढाइको अवस्थाले म बेचैन भएँ, राति राम्रोसँग निद्रा पनि लागेन,’ विनोद सम्झिन्छन्, ‘मनमनै माथिल्लोे डोल्पामै बसेर बालबालिकालाई  पढाउने प्रण गरेँ।’ तर, यस्तो निर्णय लिनु उनका लागि सहज थिएन। एकातिर, एक्लो छोरामाथि निम्नमध्यम वर्गीय परिवारको ठूलो अपेक्षा र भरोसा थियो। हातमुख जोड्नकै लागि संघर्षरत थियो उनको परिवार, गतिलो आयस्रोत थिएन।   

अर्कोतिर, त्यस बेला माओवादी ‘जनयुद्घ’ उत्कर्षमा पुगेको थियो। कर्णाली मात्र होइन, पूरै देश द्वन्द्व र हिंसाको चपेटामा परिसकेको थियो। ‘माथिल्लोे डोल्पाका स्कुलमा पढाउने शिक्षक अभाव रहेछ, त्यहाँका विद्यार्थीले राम्ररी पढ्न पाएका छैनन्। मैले त्यहाँ गएर पढाउने विचार गरेको छु,’ बुवा गणेशबहादुर र आमा सुनकेसरीलाई उनले योजना सुनाए। टेलिभिजनमा माओवादी–प्रहरी भिडन्त अनि दिनहुँजसो मान्छे मरेका समाचार–दृश्य हेरेका बुवा–आमाले सुरुमा यसलाई इन्कार गरे। बुवा जसोतसो मन्जुर भए पनि आमालाइ मनाउन गाह्रो भयो। 

‘कति सम्झाउँदा पनि आमाले मान्दै मान्नुभएन, माथिल्लोे डोल्पास्थित शेर्ली डुक्द्रा निमावि (हालः आधारभूत विद्यालय), साल्दाङका प्रधानाध्यापक ज्ञानु गुरुङले घरमै आएर सम्झाएपछि मात्र सहमत हुनुभयो,’ उनी स्मरण गर्छन्, ‘त्यसपछि मात्र माथिल्लोे डोल्पा जाने बाटो खुला भयो।’ त्यतिखेर उनी २४ वर्षका थिए। सरसापट मागेर उनले जेनतेन खर्च जोहो गरे। घरमा बुवाआमासँग बिदावारी भई उनी काठमाडौंबाट नेपालगन्ज हुँदै डोल्पा–यात्राका लागि निस्किए।   

२०६२ साल वैशाख २१ मा उनी डोल्पाको जुफाल एयरपोर्ट उत्रिए। भिरालो पहाडमा अवस्थित जुफालबजार स्वागतका लागि तम्तयार थियो।   

अब, माथिल्लोे डोल्पाको पैदल–यात्रा सुरु भयो। अग्ला पहाड, अक्करे भीर अनि चिसो सिरेटो छिचोल्दै विनोद, ज्ञानु गुरुङ, टासी धुन्दूपसहित ६ जनाको टोली अगाडि बढ्यो। बाटामा खाना खाने होटल थिएनन्। तयारी खानेकुराको व्यवस्था मिलाइएको थियो। तर, साथमा बास बस्न चाहिने  ‘टेन्ट’ चाहिँ थिएन। चार हजार मिटरभन्दा बढी उचाइमा पर्ने बाटोमै ढुंगाको ओडारमा रात बिताउनुप-यो। ‘वैशाख महिना भए पनि धेरै चिसो थियो, घर छाड्ने बेलामा आमाले माया गरेर घरबाट दिनुभएको ‘स्लिपिङ ब्याग’ ले चिसो थेग्न सकेन, राति नै प्राण जालाजस्तो भयो, निक्कै सकससाथ रात बिताएँ,’ उनले सुनाए।      

‘जनयुद्ध’ सुरु गरेको पाँच वर्षपछि २०५७ साल, असोजमा माओवादीले डोल्पा सदरमुकाम दुनैमा गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको थियो। त्यसपछि माओवादी हिंसात्मक द्वन्द्वको असर विकट गाउँ–गाउँसम्म फैलियो। गाउँले सन्त्रस्त जीवन बाँचिरहेका थिए। बाहिरका मानिसलाई यात्रा गर्न चुनौतीपूर्ण थियो। पहिलो डोल्पा–यात्रामा यस्तै अनुभव भयो, विनोदलाई। 

‘बाटामा सेनाले माओवादी भनेर शंका गर्ने अनि माओवादीले सेनाको सुराकी भनी अर्कै नजरले हेर्ने, गाउँलेले पनि बाहिरको मान्छे भन्नेबित्तिकै अविश्वास गर्ने अवस्था थियो,’ त्यसबेलाको घटना सम्झिए, ‘थानकोट काटेर टाढा गएको थिइनँ, बाँचिन्नँ कि जस्तो लाग्यो।’ लगातार सात दिन हिँडेपछि बल्ल माथिल्लोे डोल्पाको साल्दाङ गाउँ आइपुग्यो। 

.............           .................                     ...............

माथिल्लो डोल्पाको साल्दाङ पुगेपछि...

साल्दाङ पुग्दा विनोदलाई ‘नयाँघर’ पुगेजस्तै रोमाञ्चक अनुभव भयो। एउटा गाउँबाट अर्को गाउँ पुग्न घन्टौं हिँड्नुपर्ने अवस्था थियो।  गाउँमा बिजुली थिएन। बस्न व्यवस्थित घर थिएन। टेलिफोन सुविधा थिएन। फोन गर्नुप-यो भने ५–६ घन्टा हिँडेर ‘स्याटेलाइट’ फोन भएको ठाउँमा जानुपथ्र्यो। संस्कृति, रहनसहन र भाषा नौलो भएपनि ‘प्रिय’ लाग्यो उनलाई। गरिबी र अभावबीच पनि सहजसाथ बाँचिरहेका थिए मानिस। अभाव थियो त केवल शिक्षा र चेतनाको।  

राजधानी छँदै यी चित्र उनको मस्तिष्क आइसकेका थिए। दुर्गमको शिक्षा क्षेत्रमा केही योगदान पु-याउँछु भन्ने दृढ अठोट लिएरै घर छाडेका थिए उनले। ‘त्यही भएर होला, भौगोलिक विकटता अनि हरेक प्रतिकूल परिस्थितिलाई सहज रूपमा स्वीकारेर अगाडि बढेँ,’ उनी भन्छन्। भोलिपल्टैदेखि उनले साल्दाङस्थित शेर्ली डुक्द्रा स्कुलमा स्वयंसेवी शिक्षकका रूपमा पढाउन सुरु गरे।

आइतबारदेखि शुक्रबारसम्म साल्दाङको स्कुल पढाउँथे। साल्दाङ र कोमाङ गाउँमा उनले महिला र पुरुष दुवैका लागि सन् २००७ देखि दुई वर्षसम्म प्रौढकक्षा सञ्चालन गरे। ‘निरक्षर गाउँले अक्षर चिन्ने तथा सामान्य लेखपढ गर्नसक्ने भए। उनीहरूको अनुहारमा हाँसो देख्दा मन रोमाञ्चित हुन्थ्यो,’ उनी भन्छन्। उनले उक्त स्कुलमा चार वर्षसम्म पढाए।
शनिबार बिदाको दिन भए पनि उनलाई आराम गर्ने फुर्सद हुँदैनथ्यो। हरेक शनिबार साल्दाङबाट पाँच घन्टा हिँडेर हिमालपारिको कोमाङ गाउँ पुग्थे र बालबालिकालाई निःशुल्क रूपमा ‘अतिरिक्त कक्षा’ सञ्चालन गर्थे। माथिल्लोे डोल्पाको कोमाङ गाउँमा स्कुल नभएकाले बालबालिका शिक्षाबाट वञ्चित थिए। कोमाङमा एक वर्षसम्म अतिरिक्त कक्षा पढाएपछि स्थानीय भिक्षु तथा अभिभावकको अनुरोधमा उनले दशरथ चन्द प्राथमिक विद्यालय सञ्चालन गरे, २०३२ सालमा सरकारले खोलेको यो स्कुल बन्द अवस्थामा थियो। सन् २००८ देखि २०१० सम्म उनले उक्त स्कुलमा प्रिन्सिपल तथा कार्यक्रम संयोजक भएर काम गरे। 

सन् २०११ मा उनले निसारस्थित याङ्जेर गुम्बा प्राथमिक विद्यालय पनि सञ्चालन गरे, जुन स्कुल बन्द थियो। सन् २०११ देखि अहिलेसम्म उनी उक्त स्कुलको प्रिन्सिपल तथा कार्यक्रम संयोजकका रूपमा कार्यरत छन्। उनीसँगै अन्य स्वयंसेवक शिक्षक विभिन्न गाउँमा बसेर स्कुल पढाउँछन्। 

स्वयंसेवक शिक्षकले गाउँमा पढाउन थालेपछि स्कुलको शैक्षिक गुणस्तरमा सुधार आएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी बताउँछन्। ‘पहिले सरकारी शिक्षक स्कुल जाँदैनथे, स्वयंसेवक शिक्षक आएपछि अन्य शिक्षकमा पनि पढाउनुपर्छ भन्ने भावना विकास भएको छ, विद्यार्थीमा पनि पढाइलेखाइप्रति लगानशील भएका छन्,’ उनी भन्छन्। विनोदको शैक्षिक अभियानले गाउँलेमा जनचेतना ल्याएको उनको भनाइ छ। 

‘नेपाली दाताबाटै स्कुल’ अभियान

नेपालमा समाजसेवा भन्नेबित्तिकै विदेशी सहयोग जोडिएर आउने गरेको छ। विपन्न तथा पछाडि परेका समुदायको नाममा आउने रकम उचित सदुपयोेग हुन नसकेको आमगुनासो छ। एनजिओ÷आइएनजिओको वित्तीय अनुशासन तथा पारदर्शितामाथि व्यापक प्रश्न उठ्दै आएको छ। 

डोल्पा जानुअघि उनी सोच्थे– के विदेशी सहयोगबिना स्कुलमा काम गर्न सकिँदैन ?

‘पक्कै सकिन्छ,’ भित्रीमन बोल्थ्यो । 

माथिल्लो डोल्पा गएपछि उनको स्वयंसेवक शिक्षकको भूमिका छँदै थियो । तर, विपन्न विद्यार्थीसँग कापीकलम, पोसाक थिएन । व्यक्तिगत तथा साथीभाइको सहयोगबाट सुरुमा उनले स्टेसनरी तथा शैक्षिक सामग्री जुटाए । उनको कामबाट प्रभावित भएर स्वदेश तथा विदेशमा बस्ने नेपालीले सहयोग गर्न थाले । 

केही समयपछि उनले आफ्नो नेतृत्वमा साथीभाइसँग मिलेर ‘स्नो याक’ फाउन्डेसन स्थापना गरे । फाउन्डेसनले विदेशी संस्था तथा दातासँग पैसा लिँदैन । ‘स्वदेश तथा विदेशमा बसेका नेपालीले आफूखुसी दिएको सहयोग लिन्छौं, त्यो सहयोगलाई विपन्न बालबालिकासम्म पु-याउँछौं,’ फाउन्डेसनका कोषाध्यक्ष श्रीमणिराज शर्मा भन्छन्, ‘विदेशीको पैसा नलिइकन पनि सामाजिक काम गर्न सकिन्छ भन्ने सन्देश दिन यो अभियान सुरु गरेका हौं ।’ 

डोल्पाका १० गाउँका १७ स्कुलका ८ सय ४५ विद्यार्थीलाई ‘स्नो याक’ तथा ‘ई–डोल्पा’ परियोजनामार्फत् शैक्षिक तथा स्कुल सामग्री प्रदान गरिएको छ । ‘स्नो याक’ले माथिल्लोे तथा तल्लो डोल्पाका स्कुलका लागि स्वयंसेवक शिक्षक पठाउँदै आएको छ । टासीका अनुसार विनोदको पहलमा छोर्तेन स्तूपा तथा शे–चकाङ गुम्बा पुनर्निर्माणसमेत गरिएको छ । गुम्बामा रहेका पुराना तिब्बती बौद्घ दर्शनका किताब संरक्षण गर्ने अभियान थालेका छन् । विभिन्न गाउँमा स्वास्थ्य तथा शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ, जसले स्थानीय समुदायलाई अरुको मुख नताकी स्थानीय स्रोत–साधन परिचालन गर्न प्रेरित गर्छ । 

आमाको गहना बेचेको पैसा डोल्पालाई   

विनोदले डोल्पामा स्कुल सञ्चालन त गरे, तर, त्यहाँ पढाउने शिक्षक थिएनन् । उनी आफैं काठमाडौं आएर स्वयंसेवक शिक्षक खोज्न थाले । सन् २०१२ को कुरा हो, चिनेजानेका साथीभाइ तथा सामाजिक सञ्जालमार्फत उनले डोल्पा बसेर कम्तीमा ६ महिना पढाउन चाहने स्वयंसेवक आह्वान गरे । निक्कैले इच्छा जनाए, आवेदकमध्येबाट स्वयंसेवक छनोट गरियो । छानिएका शिक्षक कार्यक्षेत्र माथिल्लोे डोल्पा गए ।

स्वयंसेवक शिक्षकलाई त्यहाँ खर्च अभाव भएपछि उनले ऋण खोजेर गर्जो टारे । घर फर्केपछि ऋण चुक्ता गर्न आमाको गहना बेच्नुपरेको उनी सुनाउँछन् । ‘घरमा आयस्ताको राम्रो बाटो थिएन । चाहिएको बेला अन्यत्रबाट पैसा निकाल्न सकिएन, ऋण तिर्न आमाको गहना बेच्नुको विकल्प थिएन,’ उनी भन्छन् । 

उनका बुवा काठमाडौं दरबार स्क्वायर वरपर झोला भिरेर पर्यटकलाई ‘क्युरियो’ सामान बेच्छन् । आमा सामान्य गृहिणी हुन् । उनका दुई बहिनी छन् । सम्पत्तिको नाममा भुरुङखेलमा आधा आना जग्गामा बनेको घर २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले चर्किएको छ । आर्थिक अभावले गर्दा नयाँ घर बनाउन नसकेको उनी बताउँछन् । सँगैको अर्को घरमा भाडा लिएर उनको परिवार बस्दै आएको छ । चर्किएको घरलाई सामान्य मर्मत गरेर स्टोर तथा भान्साघर बनाइएको छ । 

रिपोर्टिङका क्रममा पुग्दा चर्किएको घरको पहिलो तलाको कोठामा डोल्पा लैजान ठिक्क पारिएका स्टेसनरी, कपडा र खाद्यान्नका पोका असरल्ल थिए । दोस्रो तल्लाको भान्साकोठामा बुवा, आमा, विनोद र उनकी प्रेमिका (कोरियन) खाना खाइरहेका थिए । कुराकानी तथा भिडियोग्राफीका लागि पर्खेर बस्यौं । आठ वर्षदेखि चिनजान भएका उनी र कोरियन प्रेमिका दुई वर्षदेखि सँगै बस्दै आए पनि औपचारिक विवाह भएको छैन ।

केही समयपछि बुवा, आमा र विनोद कुराकानीका लागि तयार भए । 

छोराले गरेको कामबाट आफू सन्तुष्ट भएको बुवा गणेशबहादुरले बताए । ‘उसले समाजको लागि केही गर्छु, डोल्पा गएर बच्चाहरूलाई पढाउँछु भनेपछि मैले नाइनास्ती गरिनँ,’ उनले भने । अहिले छोराले गरेको काम चर्चामा आउँदा खुसी लाग्ने उनको भनाइ छ । ‘शायद भगवानले नै उसलाई डोल्पा पठाएका होलान्, नत्र त्यस्तो विकट गाउँमा यतिका वर्ष कसरी अडिन सक्थ्यो,’ उनले थपे । आमा सुनकेसरीले छोराको बारेमा राम्रो चर्चा चल्दा खुसी लाग्ने बताइन् । 

विपन्नतासँग जुधेर बाल्यकाल बिताएका उनले सरकारी स्कुलमै विद्यालय शिक्षा पूरा गरे । क्षेत्रपाटीको भक्तविद्याश्रम स्कुलबाट २०५६ सालमा एसएलसी पास गरेपछि पब्लिक युथ क्याम्पसमा आइकम भर्ना भए । चित्रकलाप्रति उनको सानैदेखि रुचि थियो, आइकम गरेपछि फेरि ललितकला क्याम्पसबाट सन् २००३ मा ‘फाइनआर्ट’मा प्रविणता प्रमाणपत्र तह (आइएफए) उत्तीर्ण गरे । 

सन् २००५ मा ललितकला क्याम्पसमै ‘फाइनआर्ट’ मा स्नातक तह (बिएफए) पहिलो वर्ष पास गरेर दोस्रो वर्ष अध्ययन गरिरहेका बेला उनले माथिल्लोे डोल्पा जाने निर्णय गरेका थिए । त्यसपछि उनको ‘फाइन आर्ट’को पढाइ ब्रेक लाग्यो । समाजशास्त्र र ग्रामीण विकास लिएर उनी सरस्वती क्याम्पस ठमेलमा स्नातक तह अध्ययनरत छन् । 

विश्वकै उत्कृष्ट शिक्षक 

यस वर्ष उनी शिक्षा क्षेत्रको ‘नोबेल पुरस्कार’ मानिने ‘वार्की ग्लोबल टिचर’ अवार्डका लागि ५० हजार प्रतिस्पर्धीबाट छानिएर अन्तिम ५० जनाको सूचीमा परे । अन्तिममा चाहिँ उनी छानिन सकेनन् ।  बेलायतकी शिक्षक एन्ड्रिया जाफिराकोउ सर्वोत्कृष्ट भइन् । ‘यो उपलब्धिलाई मैले कामप्रति सम्मानका रूपमा लिएको छु,’ उनी भन्छन्, ‘आगामी दिनमा डोल्पाको शिक्षा क्षेत्रमा अझै काम गर्ने हौसला मिलेको छ ।’

पछिल्लो समय उनले विभिन्न पुरस्कार पाएका छन् । पुरस्कार रकम उनले व्यक्तिगत कामका लागि खर्च नगरी सामाजिक काममै लगाउने गरेका छन् । सन् २०१७ मा रोटरी क्लबले उनलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ राशिको पुरस्कार प्रदान ग-यो । उनले सम्पूर्ण पुरस्कार राशि ‘स्नो याक’ फाउन्डेसनलाई हस्तान्तरण गरे । 

रोटरी क्लब पशुपतिले उनको कामको कदर गर्दै ५० हजार राशिको पुरस्कार प्रदान ग-यो । त्यसमध्येबाट ४० हजार ‘स्नो याक’ र बाँकी १० हजार डोल्पाको अनाथाश्रमलाई दिए ।

उनलाई आर्थिक संकट नभएको होइन, तर, ‘व्यक्तिगत’ समस्यामा अल्झिएर उनी कहिल्यै बसेका छैनन्  । कहीकतैबाट रकम आइहाल्यो भने उनी डोल्पाकै लागि खर्च गर्न मरिहत्ते गर्छन् । ‘भूकम्पमा मेरो घर बस्न नहुने गरी भत्कियो, आफैं भूकम्पपीडित भएँ । साथीभाइले सहयोगस्वरुप दिएको १ लाख ८० हजार रुपियाँ पनि डोल्पामै लगानी गरेँ,’ उनी भन्छन्, ‘पछि ऋणपान गरेर भत्किएको घर टालटुल ग-यौं ।’ फाउन्डेसनले विनोदका लागि केही खर्च छुट्याए पनि उनले लिएका छैनन् । ‘मेरो आवश्यकताभन्दा पनि डोल्पाका बालबालिकाको शिक्षा महत्वपूर्ण हो भन्ने लाग्छ, शैक्षिक अभियानलाई एउटा तहसम्म पु-याउने मेरो लक्ष्य हो,’ उनी थप्छन् ।        

सपना आत्मनिर्भर डोल्पा 

तल्लो/माथिल्लो डोल्पामा काम गर्ने एक जना स्वयंसेवक शिक्षकको पारिश्रमिक र बस्ने खर्च गरी वार्षिक करिब डेढ लाख खर्च हुने उनी बताउँछन् । जिल्लाबाहिरका र स्थानीय  स्वयंसेवक शिक्षकले त्यहाँ पढाउँछन् । ‘स्नो याक’ फाउन्डेसनमार्फत नै खर्च जोहो हुने गरेको छ । ‘मेरो बारेमा मिडियामा समाचार आउन थालेपछि केही बैंक र कर्पोरेट हाउसले पनि सहयोगका लागि चासो दिन थालेका छन् । यसले अभियानलाई अझै व्यापक बनाउन हौसला मिलेको छ ।’ 
स्वदेश र विदेशमा बस्ने नेपालीले दिएको दानबाट जम्मा भएको रकम र खर्चको दुरुस्त विवरण पारदर्शी ढंगले सार्वजनिक गर्ने गरेको उनी बताउँछन् । ‘गैरसरकारी संस्थामा जसरी हुन्छ दाताहरूबाट ल्याएको पैसा पचाउने प्रवृत्ति छ, त्यसविरुद्घ काम गर्न पनि पारदर्शी हुनु जरुरी छ,’ उनी थप्छन् ।   

तल्लो डोल्पाका चुगाउँ, छलगाउँ, त्रिपुराकोट, दाफू र बेसगार गाउँमा अंग्रेजी, गणित र विज्ञानका पाँचजना स्वयंसेवक शिक्षकले पढाइरहेका छन् । माथिल्लोे डोल्पामा यसवर्ष १० जना स्वयंसेवक शिक्षक व्यवस्था गर्ने योजना छ, जसमध्ये ६ जना स्थानीय हुनेछन् । ‘सामाजिक सञ्जाल (फेसबुक) मार्फत स्वयंसेवक शिक्षकका लागि आवेदन आह्वान गर्छौ । अन्तर्वार्ता लिएर उम्मेदवार छनोट गरिसकेपछि शिक्षण तालिम दिएर पढाउन पठाउँछौं,’ उनी भन्छन् । राजधानी तथा बाहिरका सुविधासम्पन्न सहरमा बसेका युवालाई ६ महिनासम्म डोल्पा गएर काम गर्न उत्प्रेरित गर्ने गरेको उनी बताउँछन्।   

माथिल्लोे डोेल्पा पुग्नेबित्तिकै विनोदको सपना थियो–स्कुल स्थापना गरेर बालबालिकालाई गुणस्तरीय शिक्षा दिने । डेढ दशकको अवधिमा उनको सपना निक्कै हदसम्म पूरा भएको छ । 

अबकोे लक्ष्य के छ ? 

‘अहिले मेरो लक्ष्य केही फराकिलो बन्दै गएको छ । आफ्नो स्रोतसाधन प्रयोेग गरेर डोल्पा आत्मनिर्भर बनी उदाहरणीय भएको देख्न चाहन्छु,’ उनी भन्छन्, ‘नेपाल अरु देशसँग अति परनिर्भर बन्दै गएको छ । डोल्पालाई आत्मनिर्भर बनाउन सकियो भने अरु जिल्लाका लागि पनि उदाहरणीय हुन सक्छ । यसका लागि सबैको साथ–सहयोग आवश्यक छ ।’ 







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...