१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

निर्देशन आफ्नै, अटेरी पनि आफै

केशव विष्ट

काठमाडौं – विवाद समाधान गर्दै समयमा निर्वाचन गर्न नसकेको भन्दै विभिन्न खेलका राष्ट्रिय संघमाथि कार्वाही गर्दै हिडेका नेपाली खेलकुदका कार्यकारी प्रमूख राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट आफैले पनि जिम्मा लिएको संघको निर्वाचन समयमा गराउन सकेका छैनन्।

विवाद समाधान तथा समयमा निर्वाचन गर्न नसकेको भन्दै नेपाल उसू संघ पटक–पटक पूर्नगठन गरेका सदस्यसचिव विष्टले पुस ११ मा आफै अध्यक्ष रहने गरी तीन महिने तदर्थ समिति गठन गरेका थिए । पुस ११ को निर्णय भन्दै पुस १४ मा आफै अध्यक्ष भएर उनले संघ पूर्नगठन गरेका थिए । त्यसअनुसार गत महिना नै निर्वाचन भइसक्नुपर्ने भए पनि अहिलेसम्म प्रक्रिया समेत सुरु हुन सकेको छैन।

आफैले आफैलाई पत्र काटेर सदस्यसचिव विष्टले दुई समानान्तर संघको अस्तित्व रहेको नेपाली उसुमा एक पक्षको सहमतिमा पूर्नगठन गरेका थिए । सदस्यसचिव विष्टले पुस १४ मा आफैलाई काटेको चलानी नम्बर २७८÷०७४ को पत्र राखेप सचिवालय, प्रशासन विभाग, संघ संस्था समन्वय शाखा, उसु संघ र राखेप तथ्यांक शाखालाई बोदार्थ दिइएको थियो।

तीन महिनाभित्र चुनाव गरिसक्नुपर्ने भन्दै आफैले दिएको म्यान्डेटअनुसार विष्टले गतमहिना नै उसु संघलाई नयाँ नेतृत्व प्रदान गर्नु पर्ने थियो । तर अझैसम्म चुनावका लागि कुनै प्रक्रिया सुरु भएको छैन । उसु संघको विधानअनुसार चुनावी साधारणसभा बोलाउन ३० दिनअघि नै सबै सदस्यलाई जानकारी गराइसक्नुपर्छ । त्यसअघि राखेपको स्विकृतिमा जिल्ला संघको निर्वाचन गराएर प्रतिनिधि चयन गर्नुपर्छ । जवकि उसुको हकमा तीन महिने समयसिमा सकिएको एक महिना वित्न लागिसक्दा पनि प्रक्रिया सुरु भएको छैन।

तर सदस्यसचिव विष्ट निर्वाचनको प्रक्रिया सुरु भएको दाबी गर्छन । ‘जिल्लाबाट प्रतिनिधि ल्याउनका लागि पुर्नगठन हुँदैछ,’ पूर्नगठन की निर्वाचन भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘पूर्नगठन भन्न खोजेको चुनाव हो । मलाई एक दुईवटा जिल्लामा भइसक्यो जस्तो लागेको छ।’

आफैले दिएको समयसिमा घर्केको विषयमा सदस्यसचिव विष्टको सजिलो जवाफ थियो, ‘वैशाखसम्ममा जिल्लाको सक्ने र जेठमा केन्द्रको गर्ने निर्णय गरेका छौं । समय घर्कियो, अब थप्नुपर्ने भयो।’

विष्टले बर्खास्त गरेको संघका अध्यक्ष दीपक सरकारले समयमा चुनाव गर्न नसकेपछि सदस्यसचिव नैतीकताको आधारमा जवाफदेही हुनुपर्ने बताए । ‘जुन बहानामा अरुलाई डन्डा लगाउनुभयो, त्यही काम आफूले पनि गर्नुभयो। अब उहाँलाई कसले कार्वाही गर्ने ? तीन महिनाभित्र चुनाव गराउँछु भनेर जबरजस्ती आफै अध्यक्ष हुनुभयो । तर समय घर्किसक्यो, चुनावको अहिलेसम्म कसैलाई केही जानकारी छैन । कोठैमा गरेको भए थाहा भएन,’ सरकारले भने, ‘राखेप आफैले जे मनलाग्यो त्यही गरेर विधि र विधानको मुल्य मान्यतामाथि प्रहार गरिरहेको छ । उहाँहरुले नेपाली खेलकुदमा बैधानिकताको कुरा असान्दर्विक बनाइसक्नुभयो।’

उसु संघमा विष्टले हस्तक्षेपमार्फत कब्जा जमाउँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) को समेत मान्यताप्राप्त उनी आफैले गठन गरेको आङ टेन्डी शेर्पा अध्यक्ष रहेको तदर्थ समिति र दीपक सरकार अध्यक्ष रहेको निर्वाचित संघ अस्तित्वमा थिए । तर उनले केही महिनाअघि निर्वाचन गर्ने म्यान्डेटका साथ गठन गरेको शेर्पा नेतृत्वको तदर्थ समितिको सहमतिमा पुर्नगठन गरेका थिए।

विष्टले आफू नेतृत्वमा आउँदा पनि राखेपको स्विकृति लिई तीन महिनाभित्र संघको निर्वाचन गरिसक्ने म्यान्डेटसहित आफ्नै अध्यक्षतामा संघ पूर्नगठन गरेका थिए । पूर्नगठनमा उनले सरकार र शेर्पा दुवै पक्षका पदाधिकारी समेट्दै २४ सदस्यीय कार्यसमिति बनाएका थिए।

‘पर्याप्त सम्भावना बोकेको उसुको विवाद कसैले मिलाउन सकेनन् । खेल गर्ने र निर्वाचन गर्ने काम कसैले गर्न नसकेकाले आफैले यो जिम्मेवारी लिएको हुँ,’ पूर्नगठन गर्दा सदस्यसचिव विष्टले निर्वाचनमा आफू उम्मेदवारी नदिने बताउँदै नागरिकसँग भनेका थिए, ‘चुनाव गराउनकै लागि मैले केही समयअघि आङ टेन्डी शेर्पालाई जिम्मेवारी दिएको थिएँ । उहाँले न निर्वाचन गराउनुभयो, न प्रतियोगिता नै गर्न सक्नुभयो । त्यसैले अब तीन महिनाभित्र आफै विवादरहित चुनाव गराएर नेतृत्व सुम्पिनेछु । यो खेल जोगाउन बाध्यतावश लिइएको निर्णय हो।’

आफू नेतृत्वको कमिटीको कार्यकाल सकिएपछि बारम्बार नयाँ निर्वाचनको लागि स्विकृति माग्दा राखेपले उत्तर नदिएको सरकारको आरोप छ।

‘हामीले बारम्बार चुनावका लागि समय माग्दा उहाँहरुले उत्तर दिनुभएन । नियतवश हाम्रो कार्यकाल सकेर नक्कली विवाद सिर्जना गर्दै उहाँले तदर्थ समिति गठन गर्नुभयो । फेरी त्यो तदर्थ समितिको समेत अस्तित्व उल्लेख नगरी आफैलाई पत्र काटेर सदस्यसचिवले जग हसाउनुभयो । अहिले आफूले पनि चुनाव गर्नुभएन । यसबाट उहाँहरुको नियत प्रष्ट भएको छ,’ सरकारले भने।

प्रकाशित: ७ वैशाख २०७५ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App