१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

रौतहट- शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ। शनिबार बिहान ८ बजेदेखि शिक्षक सेवा आयोगले लिने निम्नमाध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन हिँडेका दर्जनौं व्यक्ति दुर्घटनामा परेका छन्।

मुडबलवा गाविसका मात्रै पाँच जना बसमा थिए। साँझसम्म दुईजनाको शव सनाखत भएको छ, तीन जना हराइरहेका छन्। शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको हो। रविरञ्जन यादव, रामबालक साह र मुकेश रामको अवस्था अज्ञात छ। स्नातकोत्तर अध्ययन सकेका उनीहरू पाँचै जना निम्न माविको परीक्षा दिन पोखरा हिँडेको मुडबलवा उच्च माविका शिक्षक दिनेश यादवले बताए। शिक्षक यादव दुर्घटनाको खबर सुनेलगत्तै भरतपुर पुगेका छन्।

राजेशकी पत्नी नितुको आँखामा आँसु रोकिएको छैन। दुई छोरा र दुई छोरीको भरणपोषण कसरी गर्ने भन्ने चिन्ताले उनलाई छोपेको छ।

चित्तरञ्जन र रविरञ्जन दाजुभाइ हुन्। दाजुभाइ नै दुर्घटनामा परेपछि घरमा बिजोग छ। बिहीबार साँझ घरबाट खाना खाएर सँगै हिँडेका दाजुभाइमध्ये दाजु चित्तरञ्जनको सनाखत भए पनि रविरञ्जनको अवस्था अज्ञात छ।

चित्तरञ्जनकी सुत्केरी श्रीमती बारम्बार बेहोस भइरहेकी छन्। उनको काखमा अठार दिनको छोरा छ। चित्तरञ्जन स्थानीय उच्च माध्यमिक विद्यालयका करार शिक्षक थिए।

गौर– १३ की सन्ध्या श्रीवास्तवको मृत्यु भएको खबरले माइतीघर गौर– ५ मा आमा मधु श्रीवास्तवको होस खुलेको छैन। बुवा विनोद पनि बेला–बेलामा बेहोस भइरहेका छन्। सन्ध्यासँगै पोखरा हिँडेका १२ वर्षे छोरा सुशान्त भने सामान्य घाइते छन्।

शिक्षक सेवा आयोगकै परीक्षा दिन हिँडेका लौकाहा– २ का सच्चिन्द्रप्रसाद यादव र राकेशकुमार यादवको दुर्घटनामा मृत्यु भएपछि गाउँ पूरै स्तब्ध छ।

शंकर गुदर उच्च माध्यमिक विद्यालयमा करारमा करिब एक महिनादेखि अंग्रेजी विषय पढाउँदै आएका सर्लाहीका राजीवकुमार सिंह पनि सोही बसमा गएको गरुडा काउन्टरले पुष्टि गरेको छ। तर, मृतक वा घाइते दुवैमा सिंहको नाम नभेटिएको घटनापछि भरतपुर पुगेका विद्यालयका प्राचार्य देवेन्द्र साहले बताए। झुनखुनवाबाट आफ्नो भतिजीज्वाइँ पनि सोही बसमा चढेको तर साँझसम्म कुनै अत्तोपत्तो नलागेको साहले जानकारी दिए। परीक्षा दिन सोही बसमा पोखरा हिँडेका गरुडा नगरपालिका– ४ का सञ्जयकुमार यादवको अवस्था पनि साँझसम्म अज्ञात छ।

गौरदेखि राजपुर तुलसीसम्म पुग्दा ३० जना र चन्द्रनिगाहपुरबाट ९ जना गरी बसमा उनन्चालीस जना यात्रु चढेको बताइन्छ। चन्द्रनिगाहपुरबाट चढेका सबै घाइते छन्। सबै जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तर, गरुडाबाट कम्तीमा पाँचजना चढेकोमा सबैको अवस्था अज्ञात छ।

बसमा चढेकामध्ये ९ जना यात्रु भारतीय रहेको गौरस्थित पोखरा बस काउन्टरले जनाएको छ। बसमा यात्रा गर्ने सबैको पहिचान खुल्ने गरी नाम, थर र वतन चलानीमा स्पष्ट नभएकाले यात्रुको बारेमा धेरै जानकारी दिन नसकिएको काउन्टरले जनाएको छ।

नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल यादवले सम्पूर्ण जिल्ला नै शोकमा डुबेको बताएका छन्। उनले दुर्घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।

प्रकाशित: ११ भाद्र २०७३ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App