१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बोक्सी अरोपमा एकल महिलाको हत्या

कोहलपुर– बोक्सीको आरोपमा नौवस्तामा एक एकल महिलाको हत्या भएको छ। आफ्नी पत्नी ममतालाई बोक्सी लगाएको आरोपमा नौवस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारुले स्थानीय ४० वर्षीया डण्डी थारुको हत्या गरेका हुन्। बुधबार राती १० बजेतिर आफ्नै घरमा तरकारी टिपिरहेकी डण्डीलाई दिनेशले चिर्पट(दाउरा)ले टाउँकोमा हिर्काएका थिए।

चिर्पट प्रहारबाट टाउको नै क्षतविक्षत भएकी थारुको उपचारका लागि लखउन लैजाँदै गर्दा राती एक बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि राती ११ बजे उनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको थियो। डण्डीको हत्या गर्ने दिनेश फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। मृतक एकल महिला हुन्। उनका पतिको एक वर्षअघि घरमा करेण्ट लागेर मृत्यु भएको थियो। उनका एक छोरा छन्।

गाउँका धामीले विरामी पत्नीलाई बोक्सी लागेको बताएपछि उनले ४० वर्षीया डण्डीको हत्या गरेका हुन्। रामकुमार र डण्डीको घर नजिकै पर्छ। उनीहरु छिमेकी हुन्। दिनेशकी पत्नी ममता एक वर्षदेखि आँखाको रोगले आँखा देख्दिनन्। उनको उपचार माइतीघर बर्दियामा भइरहेको छ। चिर्पट प्रहारबाट टाउको फुटेर क्षतविक्षत भएको र अत्याधिक रत्तश्रावपछि बीच बाटोमा उनको मृत्यु भएको डिएसपी काफ्लेले बताए। दिनेशले एक वर्षयता डण्डी एकल महिला भएयता आफ्नी पत्निलाई बोक्सी लगाएको भन्दै कुटपिट, झगडा र हातपात गर्दै आएका थिए। बुधबार राती भने उनले घरमै उनको हत्या गर्ने भन्दै दाउरा लिएर गएका थिए।

घरको करेसाबारीमा तरकारी टिपिरहेकी डण्डीलाई लुकेर चिर्पट प्रहार गरेका थिए। लगत्तै दिनेश फरार भएको प्रहरीले जानकारी दिएको छ। थारुको खोजीकार्य जारी रहे पनि प्रहरीले बिहीबार रातीसम्म फेला पार्न सकेको छैन। दिनेशलाई भगाउने उनका बुवा मोतिराम र जेठान यमबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले प्रक्राउ गरी नियन्त्रणमा लिएको छ। उनीहरुलाई पनि प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी भीमकिरण बोगटीले बोक्सीको आरोपमा महिलाको हत्या गर्ने युवकको खोजी भैइरहेको र कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको बताए। ढिलो चाँडो हत्यारा पक्राउ गरी सार्वजनिक गरिने र प्रहरी परिचालन भएको उनले बताए। महिलाको मृत्युपछि आफन्तले शव बुझेका छैनन्। मृतक थारुका एक १७ वर्षीय छोरा छन्। शव बुझ्ने आफन्त नभएपछि उनको शव भेरी अञ्चल अस्पतालमा राखिएको छ। बिहीबार रातीसम्म आफन्तले हत्या भएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका छैनन्।

 

प्रकाशित: १० भाद्र २०७३ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App