१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘समृद्धिको कल्पना भन्दा आवश्यकता हेरौँ’

दाङ- ‘चुनावमा यो गरिदिन्छौँ र त्यो गरिदिन्छौँ भनेर बाह्र हात माथि उफ्रिएका हामी हौँ,’ दाङको समृद्धिका लागि सुझाव संकलनका लागि गरिएको कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली भन्दै थिए ‘जनताका आधारभुत आवश्यक्ता त पूर्ती गर्न सकेका छैनौ, समृद्धिको कुरा गरेर सुहाउँछ?’ प्रतिनीधिसभाका सभामुख कृष्णवहादुर महरा तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सहभागि उक्त कार्यक्रममा अध्यक्ष ओलीले थपे ‘बर्षौ अघि ट्र्याक खुलेका सडक अहिले पनि अलपत्रै छन्, त्यतातिर ध्यान किन नजाने ? ध्यान समृद्धिमा दिईरहेका छौँ तर काम शून्य पारिरहेका छौँ।’

झण्डै एकबर्ष पुग्नै थाल्यो । स्थानीय सरकारहरु कानुन विहिन छन् । संघीय सरकार र प्रदेश सरकारको कानुन पर्खेर बसेका उनीहरुलाई यो थाहा छैन, के गर्न हुन्छ के हुँदैन। ‘कित हामीहरुलाई तत्काल कानुन निर्माणको बाटो खोलिदिनु पर्यो,’ओलीले भने ‘कानुन विहिनताको अवस्थामा हामीहरुले चाहेर पनि काम गर्न सक्ने वातावरण छैन।’

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पनि समृद्ध दाङको मिठो परिकल्पना गरिएपनि जनताका आधारभुत आवश्यक्तालाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गनरिनु पर्ने बताए। देउखुरीमा रहेको यो गाउँपालिकामा भुमिहिन किसानको व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ। फलतः अहिले विघौँ बिघा सरकारी जमिन सुकुम्बासीको नाममा कब्जामा छ। कानुन विहिनताको अवस्थाका कारण स्थानीय सरकारले भूमि व्यवस्थापनको काममा हात हाल्न मिल्दैन। माथिल्ला तहका सरकारहरुले यसतर्फ ध्यान दिन सकेका छैनन्। ‘भुमिहिन किसानहरुलाई कसरी व्यवस्थापन गर्ने ?’उनले भने ‘देउखुरी क्षेत्रका लागि यो निकै सोचनीय बिषय बनेको छ, यो समस्याको निराकरण गरिनु नितान्त जरुरी छ, यसतर्फ ध्यान पुगोस्।’

दंगीशरण गाउँपालिकाका भागीराम चौधरीले पनि भुमि,कृषि र सिँचाईको व्यवस्थापन नहुँदा सम्म दाङको समृद्धि नारामै मात्रै सिमित हुने दाबी गरे। भुमि व्यवस्थापनका लागि तत्काल नीति बनाउन अनिवार्य रहेको भन्दै उनले प्रतिनिधिसभाका सभामुख महरा र प्रदेश मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गरा। कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य,प्रदेशसभा सदस्य,दलका प्रतिनिधि एबं स्थानीय सरकारका प्रतिनिधिहरुले जिल्लाको समृद्धिका लागि यहाँको समग्र विकासको गती बढ्नु पर्ने सुझाव दिएका थिए। सिँचाई, शिक्षा, सडक , विद्युत, स्वास्थ्य क्षेत्रको पहुँच जिल्लाका हरेक क्षेत्रमा पुग्न नसकेको भन्दै जनताको आधारभुत आवश्यक्ता पुरा गर्न तर्फ पहिलो प्रयासको थालनी हुनु पर्ने बताएका थिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सभामुख महराले निर्वाचनका बेला गरिएका चुनावी बाचाहरु सबै पुरा गर्न नसकेपनि थोरै भएपनि कार्यान्वयनमा लैजान सक्नु पर्ने वताए । ‘चुनावमा गरिएका बाचाहरुलाई एकैपटक सम्वोधन गनर्न सकिने कुरा हैन,’उनले भने ‘तर थोरैबाट सुरुवात त गर्नु पर्यो नि ।’ कानुन निर्माणको प्रकृयामा संघीय संसद रहेको भन्दै उनले कानुन निर्माण भएपछि स्थानीय तहहरुको कामकारवाहीमा धेरै सहज हुने बताएका थिए।

यस्तै प्रदेश मुख्यमन्त्री पोख्रेलले दाङको बृहत्तर विकासका लागि आफै प्रतिवद्ध रहेको बताए। विकासको योजना निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने बताएका थिए। साथै राजनीतिक सहमतीका आधारमा टुंग्याउन मिल्ने खालका बिषयहरुलाई स्थानीय तहहरुले राजनीतिक सहमतीमा टुंगो लगाउन सक्ने पनि वबताए। 

प्रकाशित: ४ वैशाख २०७५ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App