१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अारोहीले भरिभराउ सगरमाथा आधार शिविर

पर्यटक र टेन्टले भरिभराउ सगरमाथा आधार शिविर । तस्बिर : राधा/नागरिक

सोलुखुम्बु – सर्वाेच्च शिखर सगरमाथासहित अन्य दुई हिमालका लागि प्रयोग हुँदै आएको आधार शिविर अहिले पर्यटकले भरिभराउ छ । हिमाल आरोहण सुरु नभए पनि आफ्ना आरोहीलाई व्यवस्थित रुपमा राख्नका लागि क्याम्प खडा गर्न अहिले दर्जनभन्दा बढी एक्सपिडिसन कम्पनीहरुलाई भ्याइनभ्याइ छ।

आरोही र आरोहण सहयोगी, एक्सपिडिसन कम्पनीका कर्मचारी र घुम्दै पुगेका पदयात्री बढेका कारण बर्सेनि साघुरिँदै गएको छ । आधार शिबिरमा पछि क्याम्प खडा गर्न ठाउ नपाइने डरले पहिले नै शिबिर निर्माण सुरु गरिएको छ । त्यसकै तयारीका कारण पनि अहिले आधार शिबिर रंगीबिरंगी देखिन थालेको छ । कुनै धार्मिक स्थलमा लाग्ने मेलाको भीडजस्तै देशविदेशबाट आएका पर्यटक आधार शिबिरमा जम्मा हुन थालेका छन्।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको एउटै आधार शिबिर साझा रुपमा प्रयोग गर्ने गरिएको छ । तीनवटै हिमालको आधार शिबिर एउटै भएकाले पनि आरोहणको मौसममा पाइला टेक्ने ठाउँसमेत नहुने गरेको आधार शिबिरमा सरकारका सम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हिमाल आरोहण गर्ने करिब डेढ महिना त आधार शिबिरमा ठूलो मेला नै लाग्ने गर्छ,’ उनले भने।

हिमाल आरोहण गर्नुअघि आरोहीले आफूलाई त्यहाँको मौसम अनुकूल बनाउन केही साता आधार शिबिरमै बस्नुपर्छ भने क्रमिक रुपमा उचाइ लिँदै जानुपर्छ । पूर्वतयारीका लागि समेत आधार शिबिर महत्वपूर्ण हुने भएकाले त्यहाँ बढी भीड लाग्ने गर्छ । आरोहीमात्रै होइन, खुम्बु पदमार्ग प्रयोग गरी गएका पदयात्रीसमेत पुग्ने सबैभन्दा अन्तिम बिन्दु भएकाले यहाँ त्यस्ता पदयात्रीको पनि उपस्थिति रहन्छ।

‘स्प्रिङ सिजनको मज्जा भनेकै सगरमाथा आधार शिबिर हो,’ ल्हाक्पा तेन्जी शेर्पाले भने, ‘यो समयमा आधार शिबिर पुगेपछि मलाई फर्कनै मन लाग्दैन ।’ उनले आधार शिबिरलाई स्मरण गर्दै भने, ‘एउटा एक्सपिडिसन कम्पनीको ५० भन्दा बढी कर्मचारी हुन्छन् । आरोही समेतलाई खानाको व्यवस्था क्याम्पमै गरिएको हुन्छ । सगरमाथा आरोहणको ठूलो तयारीमा रहेका उनीहरुले खुसीले हामीलाई खानाको पैसा समेत लिँदैनन् । अहिले आधार शिबिरमा छुटै मज्जा छ।’

एक्सपिडिसनको पूर्वतयारीसँगै अहिले आरोहीसमेत आधार शिबिर पुग्न थालेका छन् । अहिलेसम्म उक्त आधार शिबिर प्रयोग गरी तीन हिमालका लागि ३० समूहले एसपिसिसी नाम्चेबजारबाट अनुमति लिएर उकालो लागेका छन्। 

त्यसमध्ये २६ समूह सगरमाथा, ३ समूह ल्होत्से हिमाल र १ समूहले नुप्त्से हिमाल आरोहणका लागि अनुमति लिएको एसपिसिसी नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए। उनीहरु ठूला हिमाल आरोहण गर्नुअघि अहिले तयारीस्वरुप साना हिमाल अर्थात ‘पिक’ आरोहणमा ब्यस्त छन् । उनीहरु अल्टिच्युट लिन र अभ्यासका लागि साना ‘पिक’ आरोहण गरिरहेका हुन्।

 

प्रकाशित: ४ वैशाख २०७५ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App