१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पदाधिकारी मनोनीत गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाँकिएकोे जानकारी दिए। 

प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट सुरु बैठककै बीचमा पार्टी नेता खुमबहादुर खड्काको निधनपछि चैत १६ गतेबाट स्थगित थियो। 

निर्वाचनमा नराम्रो पराजयसँगै पार्टी नेतृत्वको आलोचना भइरहेका बेला ७ गतेबाट पुनः बस्ने बैठकपनि निर्वाचन समीक्षामै केन्द्रित हुनेछ। निर्वाचन समीक्षा बैठकको अन्तिम दिन सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने तयारीमा छन्। पदाधिकरीसहित अन्य निकायलाई पूर्णता दिन नसकेको भन्दै सभापतिको आलोचना भइरहँदा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि बैठकमा नाम प्रस्ताव गर्ने तयारीमा जुटेका हुन्।

निर्वाचित केन्द्रीय सदस्यहरु मध्येबाट सभापतिले पदाधिकारी मनोनयनका लागि केन्द्रीय समितिमा नाम प्रस्ताव गर्ने प्रावधान छ। निर्वाचित केन्द्रीय सदस्यले सभापतिको प्रस्तावलाई अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ। 

विधान अनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकायहरुलाई पूर्णता दिइसक्नु पर्ने व्यवस्था भएपनि देउवाले २६ महिनापछि पदाधिकारी मनोनयनको प्रस्ताव लैजान लागेका हुन। एक÷एक उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनै पदमा देउवाले निकट नेताको नाम प्रस्ताव गर्ने छन्। 

त्यस्तै, केन्द्रीय समितिको बैठकले असारमा महासमिति बैठक गर्ने गरी स्थान र मिति तय गर्नेछ। यसअघि वैशाख वा जेठमै महासमिति गर्ने तयारी गरेपनि केन्द्रीय समिति लम्बिदैं जाँदा महासमिति पर सर्दै गएको छ। महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने व्यवस्था भएपनि १३ औं महाधिवेशनपछि पहिलो पटक बैठक बस्न गर्ने तयारी भएको हो। महासमिति बैठकमार्फत विधान संशोधन गर्न जारी बैठक विधान संशोधन मस्यौदा समिति गठन गर्ने छ। 

महासमिति बैठकअघि जिल्ला सभापतिहरुको भेला गर्ने, निर्वाचन र अनुशासन समिति गठन र पुनर्गठनको तयारीमा सभापति देउवा छन्। सभापति देउवा पार्टीका अन्य विभागहरु पनि गठन गर्ने तयारीमा छन्। विधान अनुसार गठन हुन बाँकी रहेको प्रदेश समिति पनि तत्काल गठन गर्ने कांग्रेसको आन्तरिम तयारी छ।

प्रकाशित: ३ वैशाख २०७५ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App