१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक दर्जन गाँउमा खानेपानीको हाहाकार

गौशाला – महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ।

अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन्।

ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताए। सयौँ इनार एकैचोटि सुकिदिँदा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका काशी महतोले बताए।

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँमा पानीको हाहाकार मचेपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनु परेको लक्ष्मिनियाका शंकर महतोले बताए। पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेको छ भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई/तीन पटक मात्रै गर्ने गरेको खयरमाराका देवेन्द्र यादवले बताए।

विभिन्न सामाजिक संघसंस्था र तत्कालीन गाविसकै खर्चमै पनि धेरै पहिले ती गाउँमा जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको शहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको किसाननगरका प्रेमकुमार महतोले बताए। यसरी त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी चिन्तित भएका छन् सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन्। रासस

प्रकाशित: ३ वैशाख २०७५ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App