१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

३ दिनभित्र माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

काठमाडौं–नेपाल तरुण दलका नेताले विधिसम्मत् महाधिवेशन गर्न माग गरेका छन्। दलका असन्तुष्ट नेताहरुले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी भागबन्डाका आधारमा महाधिवेशन गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका हुन् ।

कार्यक्रममा दलका नेता रमेश खरेलले तरुण दलको महाधिवेशनमा सबैले भाग लिने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका छन्। उनले भने,‘चारपटक मिति तोक्दा पनि अधिवेशन हुन नसक्नु दुःखद कुरा हो ।’ खरेलले नेतृत्व संगठन कब्जा र भागबन्डा गर्न लागेको भन्दै आपत्ति जनाउँदै भने,‘एकतर्फी ढंगले बाँडेका प्रतिनिधि खारेज गर्नुपर्छ, त्यसो भएन भने हामी महाधिवेशन बहिष्कार गर्छौं।’  

दलका अर्का नेता नारायणप्रसाद भट्टराईले २६ वटा जिल्लाको अधिवेशन हुन नसकेको वर्तमान अवस्थामा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको बताए । उनले भने, ‘नेतृत्वले एकलौटी ढङ्गले सदस्यता बाँडेको छ यसको विरुद्ध हामी लड्छौं।’ उनले तरुण दलको विधानलाई आत्मसात् गरे समयमा महाधिवेशन गर्न सकिने भन्दै तीन दिनभित्र आफ्नो माग सम्बोधन गर्न नेतृत्वलाई आग्रह गर्दै भने,‘कृत्रिम ढंगले महाधिवेशनको नाटक गरेर जस लिन खोजिए, सशक्त प्रतिकार गर्छौं ।’

त्यस्तै दलका अर्का नेता राम रोकायाले तरुण दलको विधान प्रादेशिक संरचनामा बनाउन नेतृत्वलाई आग्रह गरे । महिला नेतृ लक्ष्मी खतिवडाले आफूहरु शरीरमा रगत रहेसम्म विधि र प्रक्रियाको लागि लड्ने उल्लेख गर्दै भनिन्,‘नेविसंघको जस्तो जथाभावी प्रतिनिधि छानेर तरुण दल पनि कब्जा गर्न खोजिए हामी सशक्त प्रतिकारमा उत्रिन्छौं ।’

खतिवडाले अघि थपिन्,‘हिजो राजाको विरुद्धमा लडे्का हामी, पर्यो भने फेरि छोेटे राजाहरुको विरुद्धमा पनि लड्न तयार छौं ।’
तरुण दलको चौथो राष्ट्रिय महाधिवेशन यही भदौ २४ देखि पोखरामा हुनेगरी मिति तोकिएको छ । दलको २०६१ सालमा जनकपुरमा भएको महाधिवेशन पछि २०६८ साल माघ २८ मा उदयशम्शेर राणाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

 

प्रकाशित: १० भाद्र २०७३ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App