१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दीपकको ‘मनमगन’मा संस्कृति

काठमाडौं – गायक दीपक बज्राचार्य नयाँ गीत ‘मनमगन’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन्। नयाँवर्षको मौका पारेर राजधानीमा शनिबार आयोजित कन्सर्टमा उनले गीत सार्वजनिक गरेका हुन्।

कार्यक्रममा आफ्ना पुराना सदाबहार गीत प्रस्तुत गर्दै दीपकले नयाँ गीतसँगै त्यसको भिडियो पनि सार्वजनिक गरेका थिए। ‘अल्लारे’, ‘ओ अमिरा’, ‘जुजु नाना नाना’, ‘काली काली’, ‘सानी’, ‘प्रिय तिमी आयौ’ बोलको गीत दीपकले सुनाइरहँदा सुब्रतराज आचार्य निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक गरिएको थियो। दीपककी छोरी चेरिसा बज्राचार्यले पनि ‘डेसपेसिटो मेडले’ बोलको गीत गाएकी थिइन्।

गायक दीपकले नयाँ गीत ‘मनमगन’मा विभिन्न संस्कृतिलाई देखाउने कोशिस गरेको बताए। ‘गीतले नचाउने मात्र होइन, हाम्रो संस्कृतिलाई देखाउने कामसमेत गरेको छ।’ उनले भने । गीतमा रिकी शाक्यको शब्द, रिकी र दीपककै संगीत छ। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल मानन्धरको छायांकन छ।

भिडियोमा १ सय ५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन प्रस्तुत गरेका छन्। ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहप, सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच भिडियोमा समेटिएको छ।

प्रकाशित: २ वैशाख २०७५ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App