१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समृद्धिका लागि पार्टी एकता : दाहाल

ढोरपाटन महोत्सव उद्घाटन गर्न बुर्तिबाङ आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता गगन थापालगायतका सहभागी। तस्बिर : नागरिक

बागलुङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धिका लागि बलियो सरकार निर्माण गर्न एमालेसँग पार्टी एकता गर्न लागेको बताएका छन्। बागलुङ ढोरपाटन नगरपालिका—१ बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन महोत्सव उद्घाटन गर्दै दाहालले हरेक पटक सरकार फेरिएसँगै एउटाले गरेको निर्णय अर्काले खारेज गर्ने र सरकार बन्नबित्तिकै गिराउने खेल सुरु हुने प्रवृत्ति अन्त्यका लागि बलियो शक्ति निर्माण गर्न एकतामा लागिएको बताए।

‘नेपाली जनताले लामो समयदेखि अस्थिरता भोगेका छन्, देश निकै कमजोर अवस्थामा पुगेको छ,’ उनले भने, ‘छिनछिनमा फेरिने सरकारका कारण नेपालमा विकास निर्माण र आर्थिक समृद्धिले फड्को मार्न सकेन त्यसैले हामी बलियो सरकार बनाउने शक्ति निर्माण गर्नेगरी पार्टी एकतामा जान लागेका हौं।’

अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता ७० वर्षको राजनीतिक अराजकता अन्त्यका लागि पनि आवश्यक भएको जिकिर गरे। पार्टी एकताका लागि दुई दलको कार्यदलले सबै कुरा पूरा गरिसकेको बताए। ‘पार्टी एकताका लागि सबै कुराको तयारी पूरा भएको छ,’ उनले भने, ‘अन्तरिम विधानको अध्ययन गर्न समय लागेकाले पार्टी एकता बैशाख ९ गते पुगेको मात्रै हो।’ दाहालले मुलुक बनाउने जिम्मा नेपाली जनताले आपूmहरूको काँधमा सुम्पिएको समेत बताए । ‘मुलुक बनाउने जिम्मेवारी नेपाली जनताले मतदानमार्फत हामीलाई सुम्पिएका छन्,’ उनले भने, ‘नेपालका कम्युनिष्ट पार्टीका लागि एउटा ऐतिहासिक अवसर पनि हो। यसबाट यताउता लाग्ने कुनै छुट छैन।’

दाहालले नेपाललाई प्रकृतिले दिएको अनुपम उपहार सही सदुपयोग गर्न नसकिएको स्वीकार गरे। ‘हामीले नेपाललाई प्रकृतिले दिएको अथाह सम्पत्ति अहिलेसम्म सही सदुपयोग गर्न सकेनौं,’ उनले भने, ‘वर्तमान सरकारले प्रकृतिले दिएका स्रोतसाधनको सही सदुपयोग गर्नेछ र पाँच वर्षभित्र नेपालले विकासको फड्को मार्नेछ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। ‘जनताको मतका आधारमा हामी प्रतिपक्षमा पुगेका छौं,’ थापाले भने, ‘विकास निर्माण र आर्थिक समृद्धिका सवालमा हामी सरकारका सकारात्मक कुरालाई सधैं सहयोग गर्न तयार छौं। देशको विकासका लागि सबै मिल्नु जरुरी छ।’

नेपालमा थुप्रै राजनीतिक क्रान्ति भए पनि मुलुक जहाँको त्यही भएकाले अब हुने विकास निर्माणलाई उत्पादनसँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो। ‘गाउँगाउँमा सडक पुग्यो, हामीले ती सडकलाई आवातजावातको माध्यम मात्र बनायौं,’ थापाले भने, ‘अब त्यस्ता सडकलाई उत्पादन आयात र निर्यातको माध्यम बनाउनुपर्छ।’ युवाहरू विदेश पलायन भैरहेने यही अवस्था रहे अबको १५÷१७ वर्षमा नेपाल वृद्धवृद्धाको देश बन्ने उनको भनाइ छ। ‘युवालाई स्वेदशमै राख्ने खालका कार्यक्रम हामीले तत्काल ल्याएनौं भने देश केही वर्षमा बूढाबूढीको देश बन्ने पक्का छ,’ उनले भने, ‘देश बनाउने युवाले विदेश बनाएर पठाएको रेमिट्यान्समा मात्रै रमाइरह्यौ भने नेपालमा भविष्य सबै अन्धकार रहनेछ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक समृद्धितर्फ अगाडि बढेको भन्दै स्थानीयस्तरमै लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। शनिबारदेखि सुरु भएको ढोरपाटन महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथै स्थानीय मौलिक सामग्रीको प्रदर्शनीसमेत राखिएको आयोजक उद्योग वाणिज्य संघ बागलुङ बुर्तिबाङ एकाइका महासचिव रामनारायण सुवेदीले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७५ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App