१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चियाबारी, चियापान र चियोचर्चा

ज्ञानेन्द्र विवश

चियाबारीमा सुख खोज्ने
दुखिया ज्यानका थुप्रै पीडाहरू छन्
आँसु लुकाएर अनुहारमा
मुस्कानको खोजी गर्दै
छातीभित्र अभावको भोक बोकेर
चियाका मुना टिप्दै
मनभरि मीठो सपना सँगालेर
तिनैमा जिन्दगी जिउने मेलोमेसो छ।

हो, चियाबारीमा जिन्दगीका अनेक–अनेक आयाम दृष्टिगोचर हुन्छ । झट्ट देख्दा हाँसो र खुसीका साथ चियाका पत्ता टिपिरहेका दिदीबहिनी देखिन्छन्।

तर, तिनका आँखामा पीडाका बग्रेल्ती दाग भेटिन्छन् । आँसु र पसिनाले लपक्कै भिजेका परिश्रमका पछ्यौरी कहिल्यै सुक्न पाएका हुन्नन् ।त्यसैले चियाबारीमा जीवनको साक्षात् अनुभूति गर्न सकिन्छ । चियाका हरिया बोट–बुट्यानमा मन रमाउँदै गर्दा प्रवृतिको सन्निकटता पनि महसुस हुन्छ । जोडीको तमासा र बिल्लीबाठ पनि त्यहाँ देखिन्छ।

चियाबगान भनेपछि आँखामा इलाम र दार्जीलिङको याद आउँछ । मिरिक र सौरेनीका रमणीय चियाबारी घुमेका दिनहरूको सम्झना झल्झली झुल्किन थाल्छन् । कालिम्पोङको चियाबारीमा घुम्दा हुस्सुले हैरान पारेको क्षण बिर्सन सकिँदैन । सिक्किमे चियाबारीका रमाइला पलहरू अझ स्मरणीय छन् । हप्ता दिनसम्म चियाबारीमै बसेर चित्रकला चित्रण गरेको सम्झना सधैँ ताजा रहन्छ।बगानका चियाबारीलाई क्यानभासमा उतार्न हाम्रो समूह उद्दत थियो । रङका विविध स्वरूपहरूलाई च्याप्प समातेर हामीले चित्र तयार पारेका थियौँ ।

मिर्मिरे बिहानीको झुल्के घाममा चियाबारी घुम्न आउने लोभी घामले रङहरूको विभिन्न स्वरूप प्रवृतिमा प्रस्तुत गथ्र्यो । त्यसलाई तुरून्तै पक्रिएर चित्रमा आकार दिनु चित्रकारका लागि चुनौतीको काम हुन्थ्यो । अन्यथा क्षणभरमै अर्कै रङ रूपको संरचना निर्माण हुन्थ्यो । अनौठो रङ, पृथक परिवेश त्यही कलिलो घामको कमालले देखाउँथ्यो । तथापि क्यानभासमा चियाबारी चरित्र चखिलो बनेको थियो।

चियाबारीमा पुग्दा मलाई प्रवृmतिकै काखमा पुगेको आभास हुन्छ । प्रवृतिको सुगन्धले मन्त्रमुग्ध पार्छ । हराभरा हरियालीले मन हौसिँदै उड्न खोज्छ । पिँजडाबाट छुटेको चराजस्तै उन्मुक्त बन्छ । आमाकै काखमा लुटुपुट गरेजस्तै लाग्छ । किनभने चियाबारीमा रमाउने र घुम्ने वा भनौँ खुला फाँट धेरै हुँदा त्यहीँ आफू खुसुीले यता–उता स्वच्छन्द जताततै अघाउँजी डुल्न पाइन्छ । यस्तो निस्फिक्री जीवनमा कुनै तनाव हुँदैन।

आमाको काखजस्तै प्यारो हुन्छ चियाबारी । त्यसैले आमाको काखमा जस्तै लडिबुडी गर्न सकिन्छ । त्यो पनि नीलो आकाशको छानामुनि आनन्दले बेलाबखत बादलरूपी कपडाको घामछायाँले छोपिँदै, लुट्पुटिँदै । यसमै छ मज्जा । यहीँ भेटिन्छ, प्राकृतिकपन र उन्मुक्त परिवेशहरू।  

चियाबारीमा, चियाको बोटवृक्षमा बयलिँदाका मीठा पल धेरै छन् । नेपाली समाजमा चियापसल, चियागफ, चियाचर्चा, भेट र भलाकुसारीका भलिभाँती भनाइहरू छन् । कालो चिया, दूध हालेको चिया, हर्वल चिया, कागती चिया आदि रूचिअनुसार चियाका अनेक नाम छन् । हिमाली भेगमा ‘भोटे चिया’ खाने चलन छ । चौरीको दूध, घिउ, नुन, मसला मिसाएर पकाइने यो चिया बाक्लो र विशेष स्वादको हुन्छ । हिउँ पर्ने ठाउँमा यस्तो चिया शक्तिवद्र्धक र जाडो भगाउने औषधि मानिन्छ।

चियाबारीमा पाइला टेक्दै आँखाले देखेर रमाउनेहरूको आनन्दी संसार एकातिर छ भने चियाका पत्तामा जीवनको भविष्य खोज्नेहरूको पीडाजन्य पलहरू अर्कोतिर भेटिन्छ । साँझ–बिहानको छाक टार्ने ती श्रमजीविहरूको दुखेसो र गुनासाका बेलिविस्तार धेरै छन् । तैपनि जीवन जिउनु परेको छ । परिवार पाल्नु र समाजमा तिनलाई हुर्काउनुको कर्तव्य पनि छँदै नै छ।

पहाडको उकालो र ओरालो जमिनमाथि सुन्दर प्रकृतिको मीठो सुगन्धले मायाको साइनो गाँस्दै चोखो स्पर्श गर्छ । चियाबारी जीवनलाई भेट्नुको अनुभव गर्नु र प्रवृmतिसँग साक्षात्कारको एक प्रीय क्षण पनि हो । चियाबारी जीवन र प्रवृmति अनि प्रेमको आभास हो, अनुभूति हो । त्यहाँ घुम्नु, पुग्नु, हेर्नु, देख्नु र मनमा तिनको तस्बिर खिच्नुको बेग्लै मज्जा हुन्छ । जीवनको विश्राम स्थल पनि हो बगान।

त्यहाँ जीवनको अनेक पात्र र तिनको पीडाका पक्षहरू हुन्छन् । बाँच्नका लागि गर्नुपर्ने कामका प्रकार र संघर्षका चरणहरू भेटिन्छन्।त्यसैले चियाबारी श्रमिकहरूको रोजगारी र परिवार पालनपोषणको थलो पनि हो । हामीले पिउने चियाको खास बीज–विरूवा र बोट हो, चियाबारी । साँच्चै ती चियाकै घारी हुन् । चियाकै संसार समग्र सबै हुन् । तर, असली चियाको स्वाद हामीले चाख्नै नपाई ती त महँगो मूल्यमा विदेशिन्छन् । हामीले स्वाद मानेर खाने चिया त धूलोमैलो मात्रै हो।

संसारकै मानिसका लागि अनिवार्य जस्तै बनेको छ, चिया । चिया पिउनु हरेक मानिसको अनिवार्य अम्मल भइसकेको छ । निद्राबाट बिउँझिनासाथ चियाकै चुस्कीबाट बिहानको प्रारम्भ हुन्छ । अहिले कसैलाई पनि चिया नपिई चित्तै बुझ्दैन । चियाको स्वाद नलिने त मानिस शायदै होलान्।

चियाबारी जीवन र प्रवृति अनि प्रेमको आभास हो, अनुभूति हो । त्यहाँ घुम्नु, पुग्नु, हेर्नु, देख्नु र मनमा तिनको तस्बिर खिच्नुको बेग्लै मज्जा हुन्छ । जीवनको विश्राम स्थल पनि हो बगान । त्यहाँ जीवनको अनेक पात्र र तिनको पीडाका पक्षहरू हुन्छन् । बाँच्नका लागि गर्नुपर्ने कामका प्रकार र संघर्षका चरणहरू भेटिन्छन्।

सिन्धुपाल्चोकस्थित भोटेचौरको चियाबगान राजधानी नजिकैको अर्को इलाम हो । यहाँको चियाबगानमा हिजोआज घुम्न जानेहरूको लर्को लाग्न थालेको सुनेर घुमौँ भन्ने योजना बुन्दै गर्दा २०७३ कात्तिक १७ गते बिहानै हामी पनि पारिवारिक घुमघाममा भोटेचौरको चियाबगान हिँड्यौँ । अघिल्लो दिन भाइतिहारको मसला–मिठाइ र फलफूल बोक्यौँ । काठमाडौँबाट ३० किलोमिटरको दूरीमा रहेछ रमणीय यो चियाबगान । तर, त्यहाँसम्म पुग्न सडक सुविधा भए तापनि ठाउँ–ठाउँमा बिग्रिएको बाटोले यात्रुलाई हैरान पार्छ । तैपनि मानिसको आउ–जाउ बाक्लै देखियो।

पहाडी उचाइको पाटोमा सडकको अवस्थाले अत्याए पनि वरपरका हरिया पहाड, पर्वत, हिमाली लस्कर, खेतका गरैगराको तरेली फाँटले मन लोभ्याउँथ्यो । त्यस्तै, बाटैमा भेटिने झरनामा झुम्मिनेहरू ताँती भेटिए । पृष्ठभूमिमा झरना राखेर तस्बिर खिच्नेहरू हामी मात्र होइन, अरू पनि धेरै थिए । बाटोको झरनाभन्दा अझ माथि ठूलो र लामो झरना देखिन्थ्यो । तर, त्यहाँसम्म पुग्न समय पनि थिएन । जान पनि लेकाली चिसोका कारण मुस्किल पर्ने अनुमान गरी हामी चियाबारीतिरै लम्कियौँ।

पहाडको पहिचान कठिनको कच्ची बाटो पैदलबाटै केही घन्टा हिँडेर चियाबगानको थाप्लोमा पुगियो । बगानको रमाइलो वातावरणमा मन आनन्दित हुनु स्वाभाविक हो । हामीलाई उछिनेर अगाडि पुगेका छोरी ऋचा र छोरा सुमितले जीवनमा पहिलोचोटि चियाबगान देखेका थिए । यस्तै खुला स्थानमा खुलेर खेल्ने तिनीहरूको जिद्धी धेरै पहिलेदेखि थियो।

अहिले तिनीहरू रमाउँदै उफ्रिपाफ्री गर्दै चञ्चलता देखाउनु स्वाभाविक थियो । साँघुरो परिवेशमा कोचिएर दिमागसमेत साँघुरिँदै गइरहेका आजका पुस्तालाई उन्मुक्त वातावरणको अभाव छ । चियाबारीको हरियाली र खुला फाँट देखेर नरमाउने, नचिच्याउने र नलट्ठिने को होला र ?
सर्जु श्रेष्ठ, सवन जोशी, सुसन श्रेष्ठ र मैले पनि भोटेचौरको चियाबारी भेट्यौँ । तर, हामीसँगै आएका मंगलनारायण जोशी र श्रीमती कल्पना जोशी अपठ्यारो बाटो देखेर आत्तिए ।

बाटोको उबडखावड टेकेर उकालो चढ्नै नसकी गाडीमै बसे । बगान हेर्न टाढाबाट आएका सबै प्रवृmतिको सान्निध्यमा मस्त थिए । चियाबारीको हरियालीमा हराइरहेका देखिन्थे। हामीजस्तै त्यस्तै फोटो खिच्ने, गुन्गुनाउने र रमाएर हर्षले विभोर हुनेहरू देखिए। तर, त्यहाँ चिया थिएन । चिया पिउने सुविधा भएन । चियाबारीमा आएर चियाको स्वाद चाख्न नपाएको गुनासो गर्नेहरू पनि भेटिए।

बगानमा हरियाली, सफा र शान्त वातावरण देख्दा मनमा आनन्दको अनुभूति भयो । पहाडको उचाइ चढेर पुग्दा पनि त्यहाँभन्दा अझमाथि अग्ला पहाड उभिएका थिए । पहाडको चुलीमा कलिला कल्कलाउँदा चियाका मुनाहरू । स–साना पोथ्रामा पल्लवित हुँदै गरेका गाढा हरियो रङका बिरूवाहरू।

तर, मिलाइएका राम्ररी कटिङ गरिएका बोट–बुट्यान थिएनन् । यद्यपि नहुनु मामाभन्दा कानो मामा जाती भनेजस्तै चियाका बोटै नदेख्नेका लागि पाखैभरि आँखाले देखेसम्म चियाका बोट हरियो गलैचा ओछ्याइएझैँ लाग्थ्यो । चियाकै मनोरम मुना मायालु भावसंवाद गरिरहेजस्तै हुन्थ्यो ।यहाँ यति विघ्न चियाबारी नभए यी पहाड, यी पाखो हेर्न मरितरी को आउँथ्यो यहाँ ? बाटोको असुविधा र विकटतालाई पैतालाले किल्चिएर यहाँ हत्पत्ति मान्छे आउँदैनन् ।

नत्र कहाँ भेटिन्थ्यो यतिका मानिस यहाँ ? चियाबारीको चिसोपनमा सामाजिक संरचनाको सिलसिला थियो । अनेक जिल्ला, सहर र गाउँका मानिसहरू । उनीहरूले बाँचेको जीवन एकछिन हेर्न आउने र हरदिन त्यही जीवन बिताउनेबीच धेरै अन्तर छ । मुना टिप्ने र तिनलाई स्याहार्नेहरू । मुना सुकाउने, छाँट्नेहरू । सबैका अलग्ग आ–आफ्ना जिम्मेवारीहरू । बाँच्नका लागि संघर्षका चरणहरू । पाइलैपिच्छे हैरानीका हविगतहरू।

फुंग उडेको उजाड पाखो चिया बगानकै कारण अहिले पर्यटकीय गन्तव्य बन्दै आइरहेको देखियो । यहाँका नांगो पाखा पूरै हरियो भएकाले भोटेचौरको मुहार फेरिएको छ । बगानकै कारण ओझेलमा परेको गाउँ पर्यटकीय गन्तव्य बनेको छ । बगानमा हुने भीडले आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बढाएको छ।

बगान नजिकै पाताल गुफा, चमेली गुफा र यहाँबाट देखिने हिमाच्छादित छविले पर्यटकलाई थप आनन्दित तुल्याउन सक्छ । यहाँबाट देखिने सूर्योदय र सूर्योस्तका दृश्य वास्तवमै लोभलाग्दो लाग्यो । त्यस्तै यहाँको तप्चुली थुम्कोमा शिव मन्दिर छ । खुलेको मौसममा त्यहाँबाट हिमाली छटालाई आँखाकै सामुन्ने देखेर शब्दशून्य हुन सकिने कुरा चियाका मुना टिप्नेहरू बताइरहेका थिए।

भोटेचौरमा चियाबारीको भविष्य सोमप्रसाद गौचनले देखेका रहेछन् । उनले यहाँका पाखालाई इलाम र दार्जीलिङजस्तै देखे । प्राध्यापन पेशामा संलग्न उनले अन्ततः यो ठाउँलाई चिया खेतीका लागि अब्बल माने । उनको अठोटले अहिले पूर्णता पाइसकेको छ । यो चियाबगानले चियाबारी हेर्ने आन्तरिक पर्यटकका लागि इलाम पुग्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ ।
भोटेचौर मात्रै होइन, ललितपुरको दक्षिणी गाउँ पनि चिया खेतीबाट अब क्रमशः चिनिँदै छ । राजधानीसँगैको जिल्ला भए तापनि भौगोलिक विकटतासँगै विकासका अवसरहरूबाट अद्यापि वञ्चित रहेको छ।

तर, अब यहाँका ग्रामीण बस्ती अर्गानिक चिया खेतीले परिचित हुने क्रममा छन् । कालेश्वर, चन्दनपुर, गोटिखेल, मानिखेल, बुखेल, इकुडोल, शङ्खु, चौघरे र घुसेल गाउँमा चियाखेती हुर्किरहेको छ । यी गाउँमा पहिले ‘खाए मकै, नखाए भोकै’ भन्ने उखानै थियो । पुरानो पहिचानले अहिले काँचुली फेर्न थालिसकेको छ । यहाँका अन्य भट्टेडाँडा, दल्चोकी, देविचौर, नल्लु र भारदेउमा पनि चिया खेतीको विकास गर्न सके इलामको चिया बगानलाई बिर्साउन सकिन्छ।

चिया खेतीका कारण यसक्षेत्रको पर्यटकीय विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्छ । चिया बगानको मनमोहक दृश्यले घुम्न पुगेका आगन्तुक नलोभिने कुरै भएन । हिमाल, पहाड र ग्रामीण जीवनको तरेलीसँगै चिसो ठाउँ, भिरालो जमिन भएकाले चियाबारी उत्तम देखिन्छ । बगानले भूक्षय रोक्नुका साथै बाँझो र नांगा डाँडालाई आकर्षक र बलियो बनाउँछ । यसले चिया खेतीको विकास र किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्न सक्छ।

चियाको इतिहास खोतल्दा नेपाली समाजमा इलाम चिया कमान, सोक्तिम चिया कमान, बुधकरण चिया बगान, नेपाल चिया विकास निगमको स्थापनासँगै डिल्लीबजारको लप्टनको होटल र इन्चोकको दूधैदूधको लतरी चियाजस्ता चिया विकासका चरणहरूको विवरण भेटिन्छ । यसरी चियाको चलनले आज हरेक घर, भान्सा र परिवारको परिवेशलाई समेत तोडिसकेको छ । चिया पिउने प्रचलनले आधुनिक समयमा अरू लोकप्रियता कमाइसकेको छ । कुनै पनि आफन्तको पहिलो सत्कार चियापानकै चुस्कीबाट हुन्छ । घर निर्माणमा छुट्याइएको बैठक कोठा मूलतः चियापानकै निम्ति निर्मित कक्ष हो।

चियापानको बसिबियाँलोमा धेरै कुराहरू खुल्छन् । अनेक विचारहरू प्रकट हुन्छन् । सल्लाह र सुझावहरू प्रस्तुत हुन्छन् । कार्यक्रम, गोष्ठी, सम्मेलन, उत्सव तथा महोत्सवहरू चियापानकै प्राथमिकताबाट खास विषयले प्रवेश पाउँछ । कुनै मिलन समारोह, शुभकामना आदान–प्रदान, स्वागत र बिदाइ आदि चियापानकै कार्यक्रमबाट गरिन्छ । बिना चियापान आयोजित कार्यक्रमको कुनै संवाद र स्वाद हुँदैन।

त्यसैले चियाको आवश्यकता र महत्व दिनप्रतिदिन बढिरहेको छ । यसरी सामान्य भान्सादेखि भव्य समारोहहरूमा समेत उत्तिकै प्रिय पेय पदार्थको प्रवेशले राम्रै सम्मान पाएको छ । यही चियाको प्रचलनले आज संसारका सबैलाई मीठो स्वाद चखाएको छ । यस्तो प्यारो पेय पदार्थको बोट–बुट्यानमा लुकामारी खेल्दै रमाउनुको आनन्द साँच्चै स्मरणीय रह्यो।

वास्तवमा भोटेचौरको चियाबारीले भोक मात्रै मेटाइदिएन चियापानका विविध पक्षमा पर्याप्त परिचय दियो । यतिका कुरा बुझाउने मेलो बनायो । चियापसलको गुलियो जमघट जस्तै चियाबारीको घचारो पनि कम चखिलो भएन । चियाबारी, चियापान, भेटघाट, भलाकुसारी र अन्य कुनै पनि कार्यक्रम चिया पिउने बहानाका आयोजनाहरू हुन्।

यिनै र यस्तै बहानामा चियाखेती फष्टाउँदै आएको छ । चियाबारीमा हाम्रो मन रमाएको छ । जीवन पालिएको छ । चिया पिउँदै गफिनुको आनन्द छ । चियापानमा चियाचर्चाको चरित्र हाम्रो समाजमा परिचितै छ । यसरी चियाबारी, चियापान र चियोचर्चाको यो परिपाटीले हामीलाई अलिकति भए पनि सकारात्मक सत्कर्मतिर अग्रसर गराउन सक्नु ठूलो उपलब्धि हुने निश्चित छ।
 

प्रकाशित: १ वैशाख २०७५ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App