१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षक दरबन्दी मिलानमा अन्योल

रुकुम – जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु-याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न/नगराउन आदेश दिएपछि अन्योलता बढेको छ।

लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो। ‘हामीले उक्त विषय अन्तिम चरणमा पु-याएका थियौ,’ जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवरले भने, ‘विभागबाट पत्र आएपछि तत्कालका लागि रोकिएको छ।’ यसले गर्दा थप अन्योलता छाएको उनको भनाइ थियो। जिल्लामा ७६८ प्राथमिक, १३५ निम्न माध्यमिक र ९८ माध्यमिक तहको शिक्षक दरबन्दी छ।

विद्यार्थी अनुपातमा शिक्षकहरु कम भएकाले विद्यालयलाई समस्या भएको छ। आन्तरिक आयस्रोत नहुँदा पनि निजी शिक्षक राखेर पढाउनुपर्ने बाध्यता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–७ का प्रधानाध्यापक हीरालाल खनालले बताए। आयस्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउनसमेत हम्मेहम्मे परिरहेको र शिक्षक दरबन्दी मिलान भए उक्त समस्या समाधान हुने उनको भनाइ छ।

‘कुनै विद्यालयमा ३० जना विद्यार्थी छन्,’ उनले भने, ‘त्यस्तो विद्यालयमा पाँच जना शिक्षक छन्। यसले गर्दा विद्यालयमा समस्या भएको छ।’ जिल्ला शिक्षा अधिकारी कवरका अनुसार दुई सय विद्यार्थी भएका ठाउँमा दरबन्दी शून्य छ । त्यस्ता विद्यालयको असमानता हटाउन दरबन्दी मिलान गर्न लागिएको हो।

जिल्लामा दरबन्दीभन्दा शिक्षक बढी
जिल्लामा दरबन्दीभन्दा बढी शिक्षक कार्यरत भएको पाइएको छ। प्राथमिक र निम्न माध्यमिक विद्यालयमा त्यस्तो भेटिएको हो  कूल ७४९ जना प्राथमिक विद्यालयको शिक्षक दरबन्दी हो। तर, यहाँ १९ जना शिक्षक दरबन्दीभन्दा बढी छन्। त्यस्तै, निम्न माध्यमिक विद्यालयमा पाँच जना शिक्षक बढी छन्। कूल १३० जना शिक्षकको दरबन्दी रहेकामा १३५ जना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा अधिकारी कवरले जानकारी दिए। रासस

प्रकाशित: ३० चैत्र २०७४ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App