१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेसँग फोरम सशंकित

काठमाडौं – सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्यशैलीबाट सशंकित भएको छ। एमालेका कारण  सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन्। संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टी जनाएका हुन्।

संविधान संशोधनमा सरकारको लिखित  प्रतिबद्धता  नआएसम्म पार्टी सरकारमा नजाने  फोरमका नेताहरूले  प्रष्ट पारेका छन्। एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनाइ छ। फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण फोरम सरकारमा सहभागी हुन नसकेको बताए । उनले भने, ‘सरकारमा लैजाने विषयलाई केपी ओलीले अड््काउनु भएको छ।’ सरकारमा जान पार्टीलाई हतार नभएको पनि उनले प्रस्ट्याए। उनले भने, ‘लिखित सहमति नभएसम्म सरकारमा जान्नौं।’ फोरमले प्रधानमन्त्री निर्वाचनमा केपी ओली शर्माको पक्षमा मतदान गरेको थियो। ‘हामीले प्रधानमन्त्री बन्नका लागि उहाँ (ओली) लाई भोट दियौं। सरकारको पक्षमा दुईतिहाइ पु-याऔं। हामी सरकारमा जाने नजाने अब उहाँको हातमा छ,’ अध्यक्ष यादवले भने।  फोरमका नेता अशोक राईले पनि घुमाउरो पारामा प्रधानमन्त्री ओली पूर्वप्रतिबद्धताअनुरूप प्रधानमन्त्री ओली अघि नबढेको बताए। उनले भने, ‘प्रधानमन्त्री भारतबाट फर्केपछि संविधान संशोधनका विषयमा सरकारसँग लिखित सहमति गरेर हामी सरकारमा जाने कुरा थियो। तर, प्रधानमन्त्री भारतबाट फर्केको यतिका दिन भइसक्दा पनि सरकारसँग वार्ता हुन सकेको छैन।’ वार्ताका लागि सरकारले आफूहरूलाई नबोलाएको पनि उनले बताए। उनले भारत भ्रमण अघि भने प्रधानमन्त्रीसँग अनौपचारिक सम्पर्क भएको जनाए।

एमाले नेता सुवास नेम्बाङले फोरमलाई सरकारमा लैजान अध्यक्ष तहमा कुराकानी  टुंग्याउँन बाँकी रहेको बताए। उनले यसअघि नै सरकारमा सहभागी गराउने विषयमा एमाले र फोरमबीच कार्यदल स्तरमा सहमति भइसकेको बताए।   फोरमलाई सरकारमा लैजान प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा तीन सिट छुट्टयाएका छन्। फोरमका लागि दुई मन्त्री र एक राज्यमन्त्री छुट्याइएको फोरमका नेता राईले जनाए।

यता मधेस केन्द्रित दल राजपाको भने सरकारमा जाने बाटो बन्द भएको छ। संविधानमा मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय  हुनुपर्ने बाध्यतात्मक व्यवस्था छ। बाँकी तीन सिट फोरमलाई दिँदा मन्त्रिपरिषद् २५ सदस्यीय हुने भएकाले राजपा तत्काल सरकारमा आउने सम्भावना कम भएको एमाले नेताहरूले जनाएका छन्।

प्रकाशित: ३० चैत्र २०७४ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App