१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिलाइ पेसाबाट आत्मनिर्भर बन्दै महिला

आफ्नै टेलरमा लुगा सिलाउँदै खुमा मगर । तस्बिर : नागरिक

नुवाकोट –बेलकोटगढी नगरपालिका–५ दुईपिपलकी लक्ष्मी श्रेष्ठको दैनिकी लुगा सिलाएरै बित्छ । गणित विषयमा स्नातक तह उत्र्तीण गरेकी श्रेष्ठले २०७० सालमा पढाईलाई निरन्तरता दिँदैै ६ महिना सिलाइकटाइ तालिम लिएकी थिइन् । त्यही तालिम उनको परिवारका लागि दैनिक खर्च धान्ने आम्दानीको बाटो बनेको छ।

केही समयअघि कपडा सिलाइकटाइ गर्ने कामलाई निम्नस्तरको रुपमा लिने गरिन्थ्यो । तर अहिले सबै समुदायका व्यक्तिले सिलाइकटाइ पेसा अगाल्न थालेका छन् । विशेषगरी महिलाले सिलाइकटाइ पेसालाई आफ्नो आम्दानीको माध्यम बनाउँदै आएका छन् । त्यसको उदाहरण बन्न पुगेकी छन् दुईपिपलकी लक्ष्मी।

‘पढेरमात्र नहुँदो रहेछ । जुन क्षेत्रमा जागिर खान खोजे पनि पहुँच आवश्यक पर्ने रहेछ,’ लक्ष्मी भन्छिन्, ‘सिक्न नखोज्दासम्म केही जानिदैन । आफूले सिकेको सीपलाई निरन्तरता दिन सकियो भने सामान्य घरखर्च र कामका लागि अरुको भर पर्नु पर्दैन।’

गाउँका दिदी, बहिनी, आमा, भाउजुहरुले आफूले सिलाएको लुगा लगाएर हिँडेको देख्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । ‘मैले सिलाइकटाइ पेसामा नै आफ्नो भविष्य देखेकी छु,’ उनी भन्छिन्, ‘आफ्नो मिहेनतको कमाइ बुवाआमालाई दिन पाउदा खुसी लागेको छ ।’ बिहानदेखि साझसम्म खाली बस्नु नपर्ने बताउँदै उनले यसबाट चित्तबुझ्दो आम्दानी हुने गरेको बताउँछिन्।
लगनशील भएर सिलाइकटाइ व्यवसायलाई निरन्तरता दिन सके राम्रो आम्दानी हुने यसमा संलग्न महिलाहरुको अनुभव रहेको छ । घरको चुलोचौकोमा मात्र सीमित हुने यहाँका महिला अहिले सिलाइकटाइ सम्बन्धी सीप सिक्दै त्यसलाई व्यवसायिक रुपमा सञ्चालन गरी आर्थिक रुपमा सक्षम हुँदै आएका छन्।

दुईपिपलकी लक्ष्मीजस्तै खानीगाउँकी खुमा मगर पनि सिलाइकटाइ पेसामा संलग्न भएर आफ्नो जीवन निर्वाह गरिरहेकी छन् । आफ्नै लगानीमा सिलाइकटाइको काम सिकेपछि गत भदौदेखि विदुरमा सिलाइ सेन्टर खोलेर आर्थिक रुपमा आत्मनिर्भरताको बाटोमा लागेकी छन् । साढे तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उक्त पेसाले उनको दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ।

घरको चुलोचौकोमा मात्र सीमित हुने यहाँका महिला अहिले सिलाइकटाइ सम्बन्धी सीप सिक्दै त्यसलाई व्यवसायिक रुपमा सञ्चालन गरी आर्थिक रुपमा सक्षम हुँदै आएका छन् ।

‘मैले कपडा सिलाउने भनेको महिला दिदीबहिनीका लागि हो। सिलाइकटाइमा मात्रै ध्यान दिने हो भने त दैनिक ६ जोर सिलाउन भ्याइन्छ,’ उनले भनिन्, ‘खानपिन बनाउनुप¥यो, दुई छोरीलाई विद्यालय पठाउने, खाजा पानी यस्तैमा बढी समय बित्छ ।’ चाहेजति समय दिन नसके पनि सिलाइकटाइ व्यवसायलाई पनि सँगसँगै अगाडि बढाउदै लगेको उनले बताइन् ।
उनले एक वर्षसम्म अरुको टेलरमा काम गरेर अनुभव लिएकी छन्।

सुरुआतमा थोरै लगानी गरेरव्यवसाय सञ्चालन गरेपनि आर्थिक जीविकोपार्जनमा सहज हुने देखेर यसमा लागेको उनी बताउँछिन् । खेतबारीको कामजस्तो गाह्रो महसुस पनि नहुने र घामपानीमा पनि निस्कन नपर्ने भएकाले यो पेसाबाट आफू सन्तुष्ट भएको उनको अनुभव छ ।

निरन्तरता दिएर काम गर्न सकियो भने घरखर्च टारेर बचत गर्न सकिने भन्दै उनी भन्छिन्, ‘मेसिनले म सिलाउछु । फुर्सद भएको बेला श्रीमानले हातले टिप्ने काम गर्दिनुहुन्छ । परिवारको साथ भयो भने काम गर्ने उत्साह बढ्दै जान्छ ।’ रोल्पामा जन्मिएर नुवाकोटलाई कर्मभूमि बनाएकी उनी आगामी दिनमा अरुलाई पनि सिलाइकटाइको तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउन सघाउने बताउँछिन्।

भूकम्पपछिको समय नुवाकोटमा जीविकोपार्जनका क्षेत्रमा काम गर्न आएका विभिन्न सामाजिक संघसंस्थाले लक्षित वर्गका लागि सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइको सीप सिकाएपछि त्यसबाट रोजगारी प्रवर्द्धनमा सहयोग पुगेको छ । सामाजिक संस्थाले गाउँगाउँमा प्रदान गरेको सिलाइबुनाइ तालिममा सहभागी भई महिलाले सिलाइकटाइ व्यवसाय सञ्चालन गरिरहेका छन् । यससँगै सरकारी निकाय, सचेतना केन्द्र, सहकारी संस्थाले समेत सिलाइबुनाइ प्रशिक्षण दिन थालेपछि महिला आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।

गाउँपालिकास्तरीय सिलाइ तालिम सञ्चालन
सरकारी तथा गैरसरकारी निकायबाट सीपमूलक तालिम सञ्चालन गर्न खोजे पनि सिलाइकटाइको माग अत्यधिक बढेको भन्दै जिल्लाको दुप्चेश्वर गाउँपालिकाले गाउँपालिकास्तरीय सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको छ।

गाउँपालिकाका सातवटा वडाका ४० जनाले ४५ दिने सिलाइकटाइ तालिम लिइरहेका छन् । तालिमपछि व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्न सकुन् भन्ने उद्देश्यले गाउँपालिकास्तरीय सिलाइकटाइ तालिम सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले बताइन्।

‘हाम्रो कार्यकालमा गाउँपालिकालाई व्यवसायीकरण गर्ने लक्ष्य लिएका छौं । ४० जनालाई तालिम दिँदा कम्तिमा पनि २५ जनाले त सिकेको सीप सदुपयोग गरेर सिलाइकटाइ व्यवसाय सञ्चालन गर्छन् भन्ने लागेको छ,’ उपाध्यक्ष आचार्य भन्छिन्, ‘रोजगारीका लागि विदेश जाने वातावरण सिर्जना नहोस्, आफ्नै गाउँमा आफै रोजगारी सिर्जना गरुन् भनेर गाउँपालिकाले सिलाइकटाइजस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ।’

सबै वडाका सहभागीलाई सहज होस् भनेर गाउँपालिकाको वडा नम्बर ३ र ७ मा सिलाइ सेन्टर बनाइएको छ । त्यस्तै ककनी गाउँपालिकाले पनि वडागत रुपमा तीनमहिने सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाका अनुसार वडा नम्बर ३, ४ र ५ मा सिलाइकटाइ तालिम सञ्चालन भइरहेको छ।


 

प्रकाशित: २९ चैत्र २०७४ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App