१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमामा हुने तस्करी रोक्न प्रहरीको कडाई

रौतहट- भारतबाट बाराको नाका हुँदै रौतहटतिर हुने तस्करीलाई रोक्न भन्सार कार्यालय गौर र सशस्त्र प्रहरी बल रौतहटको सक्रियता बढेको छ। रौतहटको नाकाहरुबाट भारतीय सामानको तस्करी लगभग ठप्प रहेको अवस्थामा भारतीय तस्करहरुले बाराको नाका हुँदै रौतहटमा तस्करीको सामान पुर्‍याउन थालेको पाइएको छ।

सशस्त्र प्रहरी बलले कडा निगरानी गरेपछि भारतबाट रौतहट आउने तस्करीको सामानमा व्यापक कमी आएको छ। जसले गर्दा भन्सार राजस्वमा वृद्धि भएको देखिएको छ तर बाराको नाका हुँदै रौतहटमा तस्करी भइरहेको देखिएको छ।

बुधवार बिहान बाराको कचोर्बा नाका हुँदै चारवटा मोटरसाइकलमा तस्करीको चारवटा कपडाको पोकासहित रौतहट छिरेको तस्करहरुसित सशस्त्र प्रहरीको झडप भएको छ। झडपमा सशस्त्र प्रहरीले हवाई आक्रमण पनि गरेको छ।

रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया र शीतलपुर बैरगनियाको बीच भागबाट बुधवार बिहान एकजना भारतीय नागरिकसहित तस्करीको लागि प्रयोग गरिएको चारवटा मोटरसाइकल र चार पोका अबैध कपडा बरामद गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक बिकास कुमार रहेका छन्।

तस्करीको सामानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको थियो। मोटरसाइकल र कपडा छोडेर भागेका तस्करहरुलाई सशस्त्र प्रहरीले पक्राउ गर्न खोजेको थियो। अन्य तस्करहरु भाग्न सफल भए पनि बिकास कुमार भने सशस्त्रको नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटले जनाएको छ।

तस्करहरुले तस्करीमा प्रयोग गरेको बीआर ०५ एम ३८३०, डीएल ९ पी ८६७०, बीआर ० सी ०७१९ र बीआर ३ डी ३०७० नम्बरको चारवटा मोटरसाइकलमा चार पोका कपडा पनि बरामद गरेको छ । अन्य तस्करहरु भने फरार हुन पुगेको सशस्त्र प्रहरी बल आउटपोस्ट सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले बताए।

सशस्त्र प्रहरी बल रौतहटले तस्करीविरुद्ध अभियान नै चलाएको र तस्करीको सन्दर्भमा शून्य सहनशीलता अपनाएको बताउँदै सशस्त्र प्रहरीका रौतहट प्रमुख एसपि प्रेमराज पोखरोलले सशस्त्र प्रहरी बल दिनरात खटेर भन्सार राजस्वमा वृद्धि गराएको बताए।

प्रकाशित: २८ चैत्र २०७४ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App