१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शिवानीको ‘काठमाडौंमा एक दिन’

काठमाडौं – कुनै समय टेलिभिजनको चर्चित कार्यक्रम ‘मेरो गीत मेरो सन्देश’की सञ्चालिका तथा लेखिका शिवानी सिंह थारुले पहिलो आख्यानका रुपमा उपन्यास सार्वजनिक गरेकी छिन् ।  ‘काठमाडौंमा एक दिन’ शीर्षकको उपन्यास मंगलबार राजधानीमा सार्वजनिक भएको हो।

शिवानी आफैंले पुस्तक सार्वजनिक भएको घोषणा गरेकी थिइन् । पुस्तक ९ वर्ष लगाएर लेखिएको शिवानीले यसअघि कै कार्यक्रममा बताउँदै आएकी थिइन् । पुस्तक सार्वजनिक भएसँगै शिवानी ‘मदन पुरस्कार’ विजेता लेखक अमर न्यौपानेसँग सहभागी भएकी थिइन्।

‘पुस्तक लेख्दा जति मीठो पीडा भोगियो । अहिले पुस्तक सार्वजनिक हुँदा खुल्ला आकाशमा उडेको चरी झैं बनेकी छु,’ अमरले शिवानीलाई ‘पुस्तकलाई नौं वर्षसम्म गर्भमा बोकेर हिँड्दाको पीडा र अहिले सार्वजनिक हुँदाको अनुभव कस्तो छ ?’ भनेर सोध्दा शिवानीको जवाफ थियो । उनले आफ्नै कारणले उपन्यास लेखनमा लामो समय लिएको पनि बताइन् ‘यो गर्भलाई म छिटो जन्माउन चाहन्थें ।

तर यो लामो समयावधि मैले नै रोजेको हो । लेखनको सीमितता खोज्दा त्यसभित्र असिमित विषय भेटें । लेखनलाई परिस्कृत बनाउन म आफैलाई चिन्दै पनि गएँ । त्यसकारण पनि पुस्तक जन्माउन झण्डै ९ वर्ष बढी समय लाग्यो । तर पनि खुशी छु,’ उनले भनिन् ।शिवानीले पुस्तकमा २०६२-०६३ को आन्दोलनपछि विशेषत तराईमा भएका विविध आन्दोलनलाई समेटेकी छन् । ‘मैले राजनीति बुझ्दा मुलुकमा विभिन्न किसिमका आन्दोलन भइरहेका थिए।

मेरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग सम्बन्धित थियो,’ पुस्तकमा मधेस आन्दोलनलाई प्राथमिकता दिनुको कारण शिवानीले खुलाइन्, ‘त्यसकारण तत्कालीन अवस्थामा पुस्तकको विषय राजनीतिबाहेक अन्य केही सोचाइ पनि आएन।’पछिल्लो समयमा उपन्यासकारहरूले आफ्नै परिवेश र वातावरण वरपरका कथालाई उपन्यासमा उठान गरिरहेका बेला शिवानी यो मामलामा फरक देखिएकी छन् ।

नेपालगञ्जमा जन्मिएर काठमाडौंमा अध्ययन पूरा गरेकी शिवानीले पुस्तकमा आफ्नो परिवेशलाई नभई फरक परिवेशलाई महत्व दिएकी छन् । ‘पुस्तक पढेपछि पाठकले नेपालगञ्जमा जन्मिएर काठमाडौंमा अध्ययन पूरा गरेकी शिवानीले किन फरक परिवेशलाई पुस्तकमा प्राथमिकता दिइन् भन्ने सोच्नुहोला,’ शिवानीले भनिन्, ‘मैले धेरै वर्गका मान्छेको दुःख बुझेको छु । उनीहरूको पीडा अनुभव गरेकी छु।

कुनै पनि विषयमा आफ्नो सहानुभूति हुनुपर्छ । जुनसुकै वर्गमा जन्मिए पनि एउटा वर्गले अर्को वर्गको कथालाई सजिलै पुस्तकमा लेख्न सक्छ ।’अमरले प्राय लेखकले आफ्नो पुस्तकमा पुरुष पात्रलाई हाबी गराएर महिला पात्रलाई गौण बनाइरहँदा  शिवानीको पुस्तकमा चाहिँ नायक र खलनायक छुट्याउन समस्या भएको टिप्पणी गरेका थिए । जवाफमा शिवानीले नायक खलनायक छुट्याउने जिम्मा पाठकको  भएको बताएकी थिइन् । ‘पुस्तकको एउटा महत्वपूर्ण पाटो यो पनि हो । पुस्तकका पात्रहरु आफैमा को रहेछन् भन्ने पाठकले पढेर थाहा पाउनुहुनेछ ’ उनको तर्क थियो।

अमरले शिवानीको पुस्तक पढ्दा ठूलो संसार देखिने दाबी गरे । ‘पुस्तकले एकदिनको मात्र कथा बोकेको छ । तर पढ्दै जाँदा पहाडका अनेक घुमारो बाटो हुँदै चुचुरोमा पुग्दा पनि आखिरमा मधेस नै देखिने कुरालाई निकै चोटिलो किसिमले प्रस्तुत गरेको छ,’अमरले भने,‘प्रायः पुस्तकमा लेखकले प्रसंगलाई हरेक शीर्षकमा दोहोर्‍याउने गर्छन् । तर काठमाडौंमा एक दिनमा त्यो कुरा देख्न पाइँदैन ।’ पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

 

प्रकाशित: २८ चैत्र २०७४ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App