१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्।

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे। उनले थपे, ‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ।’ प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनको जिकिर छ।

भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणपनि अहिलेसम्म असफल नभएको जिकिर गर्दै  उनले अगाडि थपे, ‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो, तर ऐतिहाँसिक हुनुपर्ने केही कारण छैन।’ नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि रियलाईजेशन गरेकोले भारत नेपालसँग सम्बन्ध सुधार गर्न ईच्छुक रहेको उनको भनाई थियो।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा बरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो संकेत भएको उनको धारणा छ।
उनले रेल आउने कुरा राम्रो विषय भएको तर भाषण मात्रै यो सीमित हुन नहुनेमा उनले जोड दिए। ‘रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो, यी कुराको बारेमा टुँगो त लगाउनुपर्छ’, उनले भने।
जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै महतले भने, ‘भाषणले यस्तो गर्छु भनेर मात्रै हुँदैन नि।’ नेपाल र भारतबीच झण्डै ५÷६ खर्बको व्यापार घाटा रहेको सुनाउँदै उनले भने, ‘हाम्रो निर्यात कम छ, व्यापार घाटा डरलाग्दो छ, नेपालका उत्पादनहरु जस्तो अदुवा लगायतका वस्तुहरु निर्यात गर्न धेरै बन्धनहरु छन्, यसबारेमा कुरा गर्नुपर्दथ्यो, बाणिज्य सन्धि भएको भए राम्रो हुन्थ्यो।’

'कांग्रेसभित्र विवाद छैन्'

नेता महतले कांग्रेसभित्र कुनै भाँडभैलो नभएको जिकिर गरे। ‘केन्द्रिय कार्यसमिति बैठकमा नेताहरु आ–आफ्नो धारणा राखिरहनुभएको छ, यो कार्यसमिति बैठकले पार्टीलाई स्पष्ट दिशानिर्देश गर्छ, पार्टीभित्र अब गुटको राजनीति अन्त्य भयो, बरु नेतृत्वको कमजोरीबारे अहिले चर्चा भैरहेको छ, पार्टीलाई सबल ढंगले अघि बढाउनेबारे बहस भैरहेको छ’, उनले भने। कार्यसमितिले महासमिति बैठकको मिति तोक्ने र उक्त महासमितिले अर्ली महाधिवेशनबारे अन्तिम निर्णय लिने उनले जानकारी दिए।

प्रकाशित: २६ चैत्र २०७४ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App