१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उपाधि संख्या बढाउने लक्ष्य

विराटनगरमा भइरहेको डे नाइट फुटबल हेर्न उपस्थित दर्शक । तस्बिरः नागरिक

मोरङ – विराटनगरस्थित सहिद रंगशालमा मोफसलमै पहिलो पटक आयोजना भई रहेको डे नाइट फुटबल प्रतियोगिताको आज सोमबार फाइनल हुँदै छ । पाँचौं विराट गोल्डकपको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

यस सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथ आर्मी मैदानमा उत्रिँदै छ भने थ्री स्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पु¥याउने लक्ष्यमा रहेको छ । झापा ११ लाई १–० गोलले पराजित गर्दै आर्मीले अन्तिम दुईको यात्रा कोरेको थियो भने थ्री स्टारले संकटालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दे आर्मीसँगको भेट शनिबार पक्का गरेको थियो । दुवै टिमले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्दै सोहीअनुसारको रणनीतिक तयारीलाई तीव्र बनाएको बताएका छन्।

जारी सिजनमा विराट गोल्डकप कब्जा गरी उपाधि संख्या आठ बनाउने उद्देश्य रहेको त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले बताए ।
यस्तै, सिजनको चारवटा उपाधि आफ्नो पक्षमा पारेको थ्री स्टार पनि आर्मीलाई अघि बढ्न नदिईकन उपाधि संख्या पाँच बनाउने तयारीका साथ मैदानमा उत्रिँदै छ।

सिजनमा यी दुई टिमबीच विराट गोल्डकपमा चौथो पटक भेट हुँदै छ । तेस्रो पटकसम्मको स्पर्धामा आर्मी दुई र थ्री स्टारले एकमा जित निकालेका छन् । खप्तड गोल्डकपको क्वार्रटफाइनलमा २–१ र सिमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले आर्मीले थ्री स्टारलाई स्तब्ध बनाएको थियो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा आर्मी थ्री  स्टारसँग टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित भएको थियो।

‘उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गर्नेछौं’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘थ्री स्टारका विरुद्ध सिजनमा तेस्रो जित निकाल्ने हाम्रो तयारी हो,’ उनले भने, ‘उपाधि भिडन्तका लागि संघर्ष गर्नुपर्ने भएकाले पनि बढी नै मिहिनेत गरिनेछ ।’ ‘लगातार खेल्नु परेको छ । फ्लडलाइटमा खेलेको अनुभव धेरै खेलाडीमा छैन,’ उनले थपे, ‘केही राम्रा खेलाडी घाइते अवस्थामा रहे पनि जित निकाल्नेमा ढुक्क छौं।’

त्यस्तै, आर्मीसँग यसअघिका दुईवटा गोल्डकपको हारको बदला विराट गोल्डकपमा लिने थ्री स्टारका प्रशिक्षक मेघराज केसीले बताए । आर्मीको  प्रशिक्षकसमेत रहिसकेका केसीले दुवै टिम उत्तिकै सक्षम र मजबुत रहको बताए । केसीले भने, ‘अवसरको सिर्जना गरेर मौका पाउना साथ ‘क्लिक’ गर्ने हाम्रो रणनीति छ ।’ दुईवटै टिमको खेल बराबरी रहेकाले सुरुआती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने उनको तर्क थियो।

प्रतियोगिताका विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

प्रकाशित: २६ चैत्र २०७४ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App