१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दिक्तेलमा मुन्धुमी साँस्कृतिक विमर्श

मुन्धुमका विषयमा दिक्तेलमा आयोजित प्राज्ञिक बहसमा सहभागी । तस्बिर ः दमन राई/नागरिक


खोटाङ– खोटाङमा किराती मुन्धुमको विषयमा प्राज्ञिक बहसको आयोजना गरिएको छ। किराती इतिहास, संस्कृति, दर्शन, भाषा लगायतका विषयका बहसलाई घनिभूत र तथ्यपरक बनाउनका लागि किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिको आयोजनामा शनिबार दिक्तेलमा मुन्धुम साँस्कृतिक विमर्श गरिएको हो।

मुन्धुम किराती जातीको अलिखित ज्ञान र सामाजिक संविधान भएकाले मुन्धुमको परिचय, महत्व र संरक्षणका विषयमा स्पष्ट बनाउन काठ्माण्डौंपछि दिक्तेलमा मुन्धुमी बहस आयोजना गरिएको किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ।

कार्यक्रममा ‘मुन्धुम के हो ? कति प्राचीन ? धर्म के हो ? किरात धर्मको विशेषता के हो ?’ भन्ने विषयमा किरात राई प्रज्ञा परिषद्का कुलपति रहेका संस्कृति अध्यता जयकुमार राई, मुन्धुम अध्यता एवं लेखक भोगिराज चाम्लिङ र अधिवक्ता शान्तिदेवी राईसँग अन्तरक्रिया गरिएको छ ।

किराती जातीको सभ्यता, इतिहास, प्राग्इतिहास, दार्शनिक दृष्टिकोण, साँस्कृतिक पक्ष लगायतको अध्ययनको प्रमुख आधार नै मुन्धुम भएकाले यसको प्रचार–प्रसार एवं संरक्षणका लागि चासो जगाउन प्राज्ञिक बहस गरिएको हो । सांस्कृतिक कलाकार संघले गत कात्तिक १८ गते काठमाडौंबाट सुरु गरेको मुन्धुमी साँस्कृतिक विमर्श–१ कै दोश्रो शृंखलाका रुपमा दिक्तेलमा बहस राखिएको हो।

कार्यक्रममा मुन्धुम अध्येता एबं लेखक भोगीराज चाम्लिङले मुन्धुम किराती समुदायको दार्शनिक स्रोत, सामाजिक संविधान, बसाइँसराइको मौखिक अभिलेख तथा मानव र प्रकृतिबीचको सम्बन्ध स्पष्ट पार्ने मौखिक अभिलेख भएको बताए । ‘किरातीको हजारौं वर्षअघिको इतिहास मुन्धुमको अध्ययनबाट थाहा पाउन सक्छौं । यो किरातीको अलिखित लयत्मक संग्रह हो,’ मुन्धुम अध्येता चाम्लिङले भने, ‘किरातीको उत्पत्ति स्थल, बसाई सराई हुँदै हालसम्मको विषयको अध्ययन मुन्धुमबाट मात्र सम्भव छ।’

किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले किरात धर्मभन्दा किरात सँस्कृति ठूलो भएको उल्लेख गरे । अधिवक्ता शान्तिदेवी राईले सुप्तुलुङ (तीन चुल्हो) र मुन्धुमबीच अन्योन्याश्रित सम्बन्ध भएको बताइन् । मुन्धुम अध्येता एवं संस्कृति अध्येताले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गर्दै प्रश्नोत्तर शैलीमा अन्तरक्रिया गरिएको छ । उपत्यकाबाट थालिएको मुन्धुम सम्बन्धी प्राज्ञिक बहसलाई क्रमशः विभिन्न जिल्लामा पु¥याइने आयोजकले जनाएको छ ।

 

प्रकाशित: २६ चैत्र २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App